- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । 'जहाँ इच्छा त्यहाँ उपाय' भन्ने नेपाली लोकोउक्ती यी दुई युवा जनक धामी र दानसिंह ठगुन्नाले साँचो बनाएका छन् । विद्यार्थी काल देखि लोकतान्त्रिक राजनीतिमा लागेका जनक केही समय शिक्षण पेसामा क्रियाशील रहे । तर देश द्वन्द्वात्मक अवस्थामा रहेका बेला खाइपाइ आएको शिक्षण पेसा छाडेर रोजगारी खोज्दै लामो समय कोरिया प्रवासमा बसे ।
नेपाल फर्के लगत्तै स्वदेशमै उत्पादन मूलक व्यवसायमा होमिएर आफू र अरूको गाउँमै स्वरोजगार जुटाउने अभियान थालेका जनकले भेटे दानसिंहलाई । जो काठमाण्डौंको कलेजमा विज्ञान रसायन शास्त्रका शिक्षक थिए । यी दुवै युवाले चुने कृषि क्षेत्रमा लगानी गर्ने आँट अनि अडाइ वर्ष अघि कञ्चनपुरको पुनर्वासमा ५ बिगाहा जमिन भाडामा लिई वार्षिक १५ लाखको लगानीमा सुरु गरे केरा खेती ।
केही वर्ष अघि देखि पुनर्वासमा केरा खेती फस्टाएको भए पनि बजारमा भारतीय केरा , प्रतिकुल मौसम लगायतका कारण विस्थापनको सङ्घार मा पुगी सकेको थियो । यही समयमा कार्य योजना सहित खेती सुरु गरेका जनक र दानसिंहले वार्षिक २६ लाख आम्दानी गरी अन्य कृषकलाई खेती तर्फ प्रोत्साहित गराउने काम गरेका यी दुई युवाहरू यति बेला केराको चिप्स उद्योग स्थापना गरी आफ्नो र अन्य किसानले उत्पादन गरेको केराको बजार स्थापित गराउने अभियानमा जुटेका छन् ।
व्यवसायमा जनशक्ति र लगानीको आवश्यकता अनुसार जनक र दानसिंहको अभियानमा लोकमणि धामी पनि जोडिएर ४० लाखको लगानीमा अहिले सुदूरपश्चिममै पहिलो पटक डिजे चिप्स उद्योग सुरु गरेका छन् ।
सुदूरपश्चिमको राजधानी रहेको धनगढी देखि झन्डै २६ किमी दक्षिण कञ्चनपुरको पुनर्वास ४ घ गाउँमा स्थापित डिजे चिप्स उद्योगले अहिले दैनिक १२ हजार प्याकेट (३ क्विन्टल) स्थानीय उत्पादन आलु र केराको चिप्स उत्पादन गरिरहेको छ । अहिले उद्योगले उत्पादन गरेको चिप्स स्थानीय आइबिआरडी बजारमा खपत भई रहेको सञ्चालक दानसिंह ठगुन्नाले बताए ।
गुणस्तरीय चिप्स नेपाली बजारमा पुगाइ उपभोक्तालाई नयाँ स्वाद चखाउने लक्ष्य लिएको उद्योगले मुनाफा मात्रै नभई कृषकलाई सहज बजार र मूल्यको व्यवस्थापन गर्नु पनि रहेको सञ्चालक जनक धामी बताउँछन् ।
बजार र उचित मूल्यको अभावमा नष्ट गरिएको केरा खेतीको पुनः उत्पादन सुरु गराइ कृषकको आर्थिक उन्नतिका निम्ति उद्योग स्थापना गरिएको जनकले बताए ।
आफ्नो र पुनर्वासका कृषकको उत्पादनलाई किनेर चिप्स उत्पादन गरी आय आर्जन गर्दा कृषक लाभान्वित हुने भएकाले पनि आफूहरू यस तर्फ लागेको डिजे चिप्स उद्योगका युवा सञ्चालकहरू बताउँछन् ।
व्यक्तिगत लगानीमा सुरु गरिएको यो प्रयास सफल बन्न सके पुनर्वास र आसपासका केरा कृषकहरूका निम्ति वरदान बन्न सक्नेछ डिजे चिप्स उद्योग ।