भूमि व्यवस्था स्रोत भन्छ-सर्वोच्चले अल्पकालिन आदेश नदिएको भए अहिलेसम्म आयोग गठन हुन्थ्यो
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३० शनिबार
1.7k
Shares
काठमाडौं। भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरे पछि त्यसको ठाउँमा सरकारले राष्ट्रिय भूमि आयोग गठन गर्ने भएको छ । राष्ट्रिय भूमि आयोग गठन गर्नकोलागि गठन आदेश प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ । भूमि व्यवस्था मन्त्रालयका स्रोत भन्छ, सर्वोच्चले भूमि सम्बन्धी समस्या समाधान आयोगको विषयमा अल्पकालिन आदेश जारी नगरेको भए अहिलेसम्म राष्ट्रिय भूमि आयोग गठन भइसक्थ्यो ।
भूमि सम्बन्धी समस्या सामधान आयोग (सुकुमवासी आयोग) खारेजको विरोधमा परेको रिटमा सर्वोच्चले अल्पकालिन आदेश दिएको छ । यसको मतलब हो हाल जुन अबस्थामा छ, त्यही अवस्था राख भन्ने सर्वोच्चको आदेश हो । भदौ १ गते यसको सुनवाई हुदैछ । भदौ १ गते सर्वोच्चले नयाँ आयोग गठन गर्न बाटो खुला गर्यो भने तत्काल राष्ट्रिय भूमि आयोग गठन हुने मन्त्रालय स्रोतको भनाइ छ । यसका लागि गृहकार्य अन्तिम चरणमा पुगेको मन्त्रालयको भनाइ छ ।
टेकनारायण पाण्डे भूमि व्यवस्था मन्त्रालयको सचिव हुँदा गृहमा जानु एक दिन अघि मात्र पाण्डेले राष्ट्रिय भूमि आयोग गठन आदेश प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । गठन आदेशलाई अर्थ र कानुन मन्त्रालयले समेत सहमति दिएको स्रोतको भनाइ छ । ‘सर्वोच्चले नै अर्को सुकुमवासी आयोग गठन गर्न रोक्यो भने त्यो बेग्लै कुरा हो । सर्वोच्चले बाटो खुला गर्यो भने तत्काल राष्ट्रिय भूमि आयोग गठन हुनेछ’ मन्त्रालयका एक उपसचिवले भने ।
भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरिएकोमा विरोध हुन थालेपछि सरकारले तत्काल अर्को आयोग गठन गरेर विरोध मत्थर गराउने प्रयास गरेको हो । तर सरकारले नयाँ आयोग गठन गर्न नपाउँदै आयोग खारेज गरिएको विरोधमा सर्वोच्चमा दुई रिट परे । आयोगका अध्यक्ष देवी ज्ञवालीले समेत सर्वोच्चमा रिट दायर गरेका छन् ।
भूमि व्यवस्था मन्त्रालयमा अहिले मन्त्री र सचिव पद रिक्त छ । भूमि व्यवस्थाको जिम्मेवारी प्रधानमन्त्री आफैले लिएका छन भने जनकराज जोशीले निमित्त सचिव भइ काम चलाएका छन्। सुकुमवासी आयोग गठनको विषयलाई प्रमुख राजनीतिक दलहरूले ठूलो चासोको साथ हेरेका छन् । खासगरी आयोगमा गरिने राजनीतिक नियुक्ति र आयोगले सुकुमवासीलाई प्रदान गर्ने लालपुर्जाप्रति दलहरूको चासो हो ।
सुकुमवासी आयोगमा करिब ४ सय मात्र प्राविधिक कर्मचारी छन् । प्रत्येक जिल्लामा ३ जना राजनीतिक नियुक्ति गरिएको छ । आयोगमा कार्यरत कर्मचारीलाई भदौ महिनासम्म काम गर्न निर्देशन दिइएको छ ।