- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। ईङलीश प्रिमियर लिग फुटबलको नयाँ सत्र सुरु भएसँगै रोमाञ्चक खेलहरू भएका छन्। कोरोना महामारी पछि स्टेडियममा दर्शकसहितको खेलको अनुभव सबैभन्दा प्रिय भएको खेलाडीहरू र क्लबहरूले बारम्बार भनिरहेका छन्।
आफ्ना घरेलु दर्शकको अगाडी खेल्नु वा विपक्षी दर्शकको अगाडि गोल गर्नु वा खेल जित्नु ति रोमाञ्चक पलहरू फेरि सुरु भएको छ। कोरोना महामारीका कारण करिब एक र आधा सत्र दर्शकविहीन भएर खेलहरू भएका थिए। मैदानमा दर्शक हुनु र टिभीमा दर्शक हुनु नितान्त फरक अनुभव हुन्।
नयाँ सत्रको सुरुमा म्यानचेस्टर युनाईटेड, लिभरपुल, चेल्सी, एभर्टनले शानदार सुरुवात गरेका छन्। म्यानचेस्टर युनाईटेडले लिड्स युनाईटेडलाई ५-१ गोलले पराजित गर्दै आफ्नो उपाधि प्रतिको नियत प्रष्ट पारेको छ। यसैगरि चेल्सीले क्रिस्टल प्यालेसलाई ३-०ले पराजित गर्दा लिभरपुलले नर्विचलाई ३-० गोलले पराजित गरेको छ। एभर्टनले साउथ्याम्पटनलाई ३-१ गोलले पराजित गर्दै आफ्नो सुखद सुरुवात गरेको छ।
म्यानचेस्टरका ब्रुनो फरनान्डेज
म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेजे ह्याट्रिक गर्दै तीन अङ्क दिलाएका हुन्। उक्त खेलमा अर्का खेलाडी पल पोग्बाले चार असिस्ट गर्दै सम्झन लायक प्रदर्शन गरेका थिए। म्यासन ग्रिनउड र फ्रेडले १-१ गोल गरेका थिए। पहिलो हाफमा १-० गोलको अग्रता लिएको युनाईटेडलाई दोस्रो हाफको ४८औं मिनेटमा ल्युक आयलिङको गोलले लिड्सलाई बराबरीमा पुर्याएको थियो।
त्यसको लगत्तै ५२औं मिनेटमा ग्रिनउडले गोल गरे भने ५४औं र ६०औं मिनेटमा फरनान्डेजले गोल गरेका थिए। ६८औं मिनेटमा फ्रेडले पाँचौं गोल गरे।
चेल्सी विजयी
चेल्सीका लागि २७औं मिनेटमा मार्कोस एलोन्सोले गोल गरेका थिए। उक्त अग्रतालाई ४०औं मिनेटमा क्रिस्चियन पुलिसिचले दोब्बर बनाएका थिए। ५८औं मिनेटमा चेल्सीका लागि त्रेभो चालोबाले गोल गर्दै ३-०को जित सुनिश्चित गरेका थिए।
सलाहको चमत्कार
उता लिभरपुलले नर्विचलाई ३-० गोलले पराजित गर्दै तीन अङ्क जोड्न सफल भएको छ। खेलको २६औं मिनेटमा डिएगो जोटाले गोल गर्दै १-०को अग्रता दिलाएका थिए। खेलको ६५औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई २-०को अग्रता दिलाएका थिए। दुवै गोलमा लिभरपुलका मोहम्मद सलाहको असिस्ट रहेको थियो। खेलमा तेस्रो गोल ७४औं मिनेटमा सलाहले गरेका थिए।
त्यसैगरि अन्य खेलहरूमा ब्राइटनले बर्नलीलाई पराजित गरेको छ भने वाटफोर्डले एसटनभिलालाई पराजित गरेको छ। एभर्टनले साउथ्याम्पटनलाई पराजित गर्दा लेस्टरले उल्व्सलाई पराजित गरेको छ।
आईतवार गत सत्रको उपाधि विजेता म्यानचेस्टर सिटीले टोटेनहम हटस्पर्स विरुद्ध खेल्ने छ। त्यसैगरि अर्को खेलमा न्युक्यासल युनाइटेडले वेस्टह्यामको सामना गर्नेछ।