arrow

आम्रपाली र महात्मा बुद्ध

logo
बुद्ध,
प्रकाशित २०७८ भदौ १ मंगलबार
buddha-woman.jpg

आम्रपाली बौद्ध कालमा वैशालीको वृज्जिसंघको इतिहासकै प्रसिद्ध लिच्छवि राजनृत्यांगना थिइन्। उनको नाम 'अम्बपाली' अथवा 'अम्बपालिका' पनि हो । आम्रपाली धेरै सुन्दर थिइन् । भनिन्छ उनलाई देख्ने जो कोही पनि मोहित हुने गर्दथे । अजात शत्रु उनका प्रेमीहरू मध्ये एक थिए । त्यस समयका उपलब्ध साहित्यमा अजात शत्रुका पिता बिंबसारलाई पनि गुप्त प्रेमीको रूपमा वर्णन गरिएको छ। आम्रपालीलाई लिएर भारतीय भाषाहरूमा थुप्रै काव्य, नाटक र उपन्यास लेखिएको छ । 

एक पटक महात्मा बुद्ध, आफ्ना शिष्यहरूसँग घुम्दै वैशाली शहर पुगे। वैशाली सोह्र महाजनपदहरू मध्ये एक महत्त्वपूर्ण मानिन्थ्यो, जसको ख्याति धेरै टाढासम्म फैलिएको थियो । सो शहर वैभवशाली र हरेक रूपमा सम्पन्न थियो । 

महात्मा बुद्धको आगमनको खबर शहर भरमा फैलियो । जसले जुन समय थाहा पाए उनलाई भेट्न पुगे र उनको उपदेश सुनेर आफूलाई भाग्यमानी ठाने । बुद्धको चरित्र यति प्रभावशाली थियो कि जो कोही पनि उनीबाट प्रभावित नभई रहेनन् । त्यस नगरकी गणिका र राजनर्तकी "आम्रपाली" पनि बुद्धलाई भेट्न उत्सुक थिइन्। उनी आफैँ महात्मा बुद्धकहाँ आएर आफ्नो घरमा भोजनको निम्तो दिइन्। उनले बुद्धलाई सरल र प्रेम भावले अनुरोध गरिन् । बुद्धले अस्वीकार गर्न सकेनन् ।महात्मा बुद्ध एक गणिकाको निमन्त्रणा स्वीकार गरे को उनका शिष्यहरूलाई थाहा पाएसँगै उनीहरू सबैले यसको विरोध गरे।

महात्मा बुद्धले धेरै सजिलो आफ्ना शिष्यहरूलाई भने- 'मैले उनमा प्रेम-भावना देखेको छु। जुन भावले मलाई बोलाइन् त्यो बिलकुल पवित्र र निश्छल थियो। उनी आज मलाई भेट्न गणिका नभएर एक शिष्य बनेर आएकी थिइन् । तब म कसरी उनको निमन्त्रणा स्वीकार गर्न सक्दिन ? चाहे उनी एक नगर बधू (वेश्या) हुन् वा एक सन्न्यासी।'

यथासमयमा बुद्ध आम्रपालीको घरमा खाना खान गए। उनी पहिले नै सबै खानाको व्यवस्था गरी भगवान् बुद्धको आगमन पर्खिरहेकी थिइन् । उनले मनमनै कतै बुद्ध आफ्नो वचनबाट टाढा मोडिनु त हुन्न भन्ने सोची रहेकी थिइन् । 'यति महान् संन्यासीहरु एक वेश्याको घरमा आएर खाना खान्छन्?' तर जब आम्रपालीले बुद्धलाई आफ्नो घर आउँदै गरेको देखिन्, उनको प्रसन्नताको कुनै सीमा थिएन। उनी दौडँदै ढोकासम्म आइन् र बुद्धको स्वागत गरिन् । 

आफ्नै हातले खाना पकाएर उनीहरूलाई पस्किन्। एक नगर बधू जसलाई भेट्न सम्राट् बिबंसार देखि अजात शत्रुसम्म आफैँ आउँथे, सम्पूर्ण वैशाली जसको एक झलक पाउन चाहन्थे, उसले एक सन्न्यासीका लागि गरेको व्यवहार देखेर बुद्धका शिष्यहरूको मनमा आफ्नो गुरु प्रति अझ सम्मान बढ्यो ।

आम्रपालीले महात्मा बुद्धको व्यक्तित्वको बारेमा जे सुनेकी थिइन् उनले त्यो भन्दा ज्यादा प्रभावित भइन् । सोही समय उनी बुद्धको शरणमा गइन्। उनी आफ्नो सम्पूर्ण धन सम्पत्ति बौद्ध मठको नाममा गरेर आजीवन भिक्षुणी बनिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ