- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । गाउँको बाटो बिगारेको भन्दै धनुषामा स्थानीय बासिन्दाहरुले एउटा क्रसरको स्काभेटर गएराति नियन्त्रणमा लिइएको छ । हरिहरपुर-महेन्द्रनगर जोड्ने वैकल्पिक राजमार्ग टिपरले बिगारेको भन्दै धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरका स्थानीयबासिन्दाहरुले स्काभेटर नियन्त्रणमा लिएका हुन् ।
मिथिला नगर पालिका वडा नम्बर ३ र क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ को सिमामा पर्ने बाटो अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ज १ क ५७९ नम्बरको स्काभेटर स्थानीय बासिन्दाले गएराति करिव ११ बजेको समयमा नियन्त्रणमा लिएका हुन् । नियन्त्रणमा लिएको स्काभेटर जलाद नदि किनारमा संचालित वन्देवी बालुवा गिट्टी प्रसोधन उद्योग (क्रसर) को रहेको स्थानीयहरुले जानकारी दिए।
यता स्काभेटर नियन्त्रणमा लिने क्रममा हरिहरपुरका स्थानीयबासी र क्रसर संचालक टोलीबीच घम्साघम्सी समेत भएको थियो । प्रहरी प्रशासन लगायत व्यक्तिहरुको मिलोमतोमा जथाभावी खोलामा स्काभेटर लगाएर नीजि जग्गा र खेती योग्य जमिन खोलामा खस्ने गरी क्रसर माफियाहरुले उत्खनन् गर्दै आईरहेको गाउँबासीको आरोप रहेको छ ।
टिपरले गाउँमा हिँड्ने बाटो नै बिगारेको र आवत जावतमा सास्ती भोग्नु परेको बताउँदै स्थानीयहरुले आन्दोलित भएका छन् । उक्त बाटोमा टिपर प्रयोगले करिव ३-४ फिट नै खाल्डाखुल्डी भएकोले गाडी समेत फस्ने गरेको स्थानीयहरु बताउँछन् । अबैध खोला उत्खनन् रोक्न र बाटोघाटो दुरुस्त बनाउन मेयर र वडाध्यक्षले कुनै चाँसो नदेखाएको आरोप लगाउँदै स्थानीयले क्रसर माफियाहरुको कमिशनको लोभमा फसेर प्रहरी प्रशासन नै सुरक्षा दिई रहेको दावी समेत गरे।
स्काभेटर नियन्त्रणमा लिएपछि यसबारे छलफल गरी समस्या समाधान गर्ने गाउँलेहरुको भनाई छ । यता स्थानीय आपसी सम्झौता र बाटो-घाटो दुरुस्त नबनाए सम्म स्काभेटर नछाड्ने र यसको विरुद्धमा बाटो जाम गर्न र कडा विरोध गर्ने बताए ।