arrow

यस कारण लोकतन्त्र निर्विकल्प राजनीतिक व्यवस्था बन्यो

logo
लाओस राई
प्रकाशित २०७८ भदौ ३ बिहिबार
lawos-rai-loktrantra.jpg

साउन ६ गते नेपालीहरूले वीपी कोइरालालाई सम्झन्छन् । उनको सम्झनामा विभिन्न कार्यक्रम हुन्छन् । कार्यक्रम चलुन्जेल प्रजातान्त्रिक समाजवादको विचारको सान्दर्भिकता दर्शाउँदै धेरै चिन्तनशील बन्छन् नेता एवम्  राजनीतिक विश्लेषकहरू । तर जब कार्यक्रम सकियो समाजवादको सान्दर्भिकता सकिन्छ र वीपीलाई पनि बिर्सिइन्छ । ‘हस् त, जय नेपाल ! यसको मतलब समाजवाद भाँडमा जाओस् । पुँजीवाद जिन्दाबाद । यो परम्परा वीपीको निधन भएदेखि आजसम्म चलिरहेको छ । यो वर्ष पनि जे भयो, जुन पहिलेको वर्ष हुन्थ्यो ।

वीपीवाद अङ्गाल्ने हरेक नेता तथा कार्यकर्ता के कुरा बुझ्नु जरुरी छ भने समाजवादमा जनता-जनता बीचमा समानता र समान आर्थिक अवस्था  हुन आवश्यक छ । त्यो समानता जनता बिचको द्वन्द्वले होइन, राज्य, सरकार र जनताबीच सौहार्दपूर्ण सम्बन्धले स्थापित गर्दछ । विद्यमान वर्गीय असमानताको अन्त्य गर्दछ । यहाँ मूल कुरा के छ भने समाजवादको गर्भबाट नै लोकतन्त्र र स्वतन्त्रता जन्मन्छ । राजनीतिलाई सही दिशामा निर्दिष्ट गर्न सकियो भने स्वतन्त्रता ग्यारेन्टी गर्न सकिन्छ । तर व्यवहारमा समाजवाद र लोकतन्त्रको प्रयोग भएन भने, लोकतन्त्र उश्रृंखल, अराजक हुने र समाजवाद साम्यवादतिर लहसिँदै तानाशाही हुने हो भने व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता जस्ता महत्त्वपूर्ण पक्ष प्रतिबन्धित हुन सक्छ । त्यस्तो बेलामा लोकतान्त्रिक समाजवाद असफल राजनीतिक व्यवस्था ठहरिन्छ ।

त्यस कारण लोकतान्त्रिक समाजवादीहरूले के कुराको हेक्का राख्नुपर्छ भने समाजवाद बिना लोकतन्त्र अपुरो र लोकतन्त्र बिना समाजवाद पनि अधुरो हुन्छ । त्यसैले लोकतन्त्र (प्रजातन्त्र) र समाजवादको अन्तरसम्बन्धको महत्त्व बुझ्दै वीपीले प्रजातान्त्रिक समाजवादको मार्गबाट नेपाली समाज विद्यमान सबै वर्ग, जाति, लिङ्ग, समुदाय बिच समानता स्थापित गर्न सकिन्छ भनेर आज भन्दा ६६ वर्ष अघि भनेको कुरा कांग्रेसको दस्ताबेजहरूले बताउँछ । र त्यही  प्रजातान्त्रिक समाजवादको सिद्धान्त आजसम्म कायम छ ।

समाजवाद र यसको लोकप्रियताको विषयमा केन्द्रित हुनु भन्दा पहिले समाजवादको ऐतिहासिक पृष्ठभूमि र नेपालसम्म कसरी आइपुग्यो भन्ने बारेमा चर्चा गर्दै समाजवादको अन्तरबस्तु केलाउनु प्रासङ्गिक होला । दोस्रो विश्व युद्धताका वीपीले मार्क्सवाद र कम्युनिष्ट आन्दोलनको राम्रै अध्ययन गरेपश्चात् कम्युनिष्ट विचार र सिद्धान्तको बारेमा आत्मवृत्तान्त भनेका छन्–‘मार्क्सवाद क्रान्तिकारी विचार हो, त्यसले मेरो मनमा प्रभाव परेको छ । मार्क्सवादको प्रभाव त रह्यो तर कम्युनिष्ट पार्टीले मलाई प्रभावित गर्न छोड्यो । किनभने महायुद्धका बेलामा उनीहरूले ब्रिटिसलाई साथ दिएका थिए । हिटर र स्टालिनको मेल भएपछि, त्यस युद्धलाई साम्राज्यवादी युद्ध भनेका थिए । पछि हिटलरले रुसमाथि आक्रमण गरे त्यसलाई पिपुल्स वार भने । त्यसरी कम्युनिष्टहरुले एकै प्रकारको  युद्धलाई उनीहरूको  स्वार्थ र अनुकूलतासँग जोडेर अर्थ्याउने प्रवृत्ति अचम्मको हुन्छ । म त्यस विषयको कटु आलोचक थिएँ । तर ट्रटस्किको अन्तर्राष्ट्रियतावादसँग भने म प्रभावित थिएँ । मेरो आन्तरिक भावनामा त्यसको प्रभाव थियो ।’

वीपीले मार्क्सवादी क्रान्तिकारी विचारसँगको सामीप्य र कम्युनिष्टको क्रूरताको प्रसङ्ग आत्मवृत्तान्त उल्लेख गरेको प्रसङ्गले नै  वीपी निरङ्कुशता भन्दा स्वतन्त्रता र साम्यवाद भन्दा समाजवादको पक्षमा थिए भन्ने प्रष्ट देखिन्छ । मैले यो आलेखमा वीपी र मार्क्सवादको प्रसङ्ग किन उल्लेख गर्न खोज्दै छु भने लोकतान्त्रिक विचारको सम्बन्ध मार्क्सवादसँग गाँसिएको छ भन्ने तथ्य दर्साउनुलाई मात्र यी दुई फरक विचारको उल्लेख गरेको हुँ । किनभने अधिकारको लागि सङ्गठित हुँदै विरोध, आन्दोलन र सङ्घर्ष अनिवार्य छ भन्ने धारणाको थालनी त मार्क्सवादी विचार बाट सुरु भएको हो नि । कांग्रेसको २००७ सालको सशस्त्र सङ्घर्ष पनि वर्ग सङ्घर्षको उदाहरण हो । त्यसैगरी मार्क्सका चेला ट्रटस्कीले तत्कालीन रुसमा १९१७ मा नै समाजवादी प्रजातन्त्र (सोसियल डेमोक्रेसी) को  विचार निर्माण गरिसकेको घटनालाई स्मरण गर्ने हो भने प्रजातान्त्रिक समाजवादको सम्बन्ध वर्गीय मुक्तिको आन्दोलन  र सर्वहारा वर्गको अधिनायकत्वसंग गहिरो छ भन्ने देखिएर नै  मैले मार्क्सवाद र वीपी बिचको सम्बन्धको घटनालाई उल्लेख गरेको हुँ ।

त्यस्तै मार्क्सका अर्का चेला वर्निस्ताइन् जो संशोधनवादीको नामले चर्चित छन्, उनले पनि द्वन्द्व, सङ्घर्ष र क्रान्तिले मात्र होइन क्रमिक सुधारको बाटोबाट पनि राजनीतिक रूपान्तरण र जनताको जीवनस्तर माथि उठाउनु सकिन्छ भन्दै मार्क्सवादको अनुकूलनको आधारले व्याख्या गर्दै  नौलो मान्यताको विकास गरेसँगै क्रान्ति, द्वन्द्व र सङ्घर्ष भन्दा शान्तिपूर्ण आन्दोलन, सम्झौता तथा वर्ग समन्वयद्वारा राजनीतिक सुधार वा परिवर्तन हुँदै लोकतान्त्रिक विचारको सुरुवात भएको इतिहासले बताएको छ । त्यही सुधारवादी विचारका रूपमा नेपाली कांग्रेसले बोकेको लोकतान्त्रिक समाजवाद र समाजवाद उन्मुख संविधानलाई उपलब्धि मान्न सकिन्छ । र त्यही वार्निस्ताईन् मार्गमा नेपालका सबै राजनीतिका पार्टीहरू हिँडिरहेका छन् ।

जहाँसम्म लोकतन्त्रको कुरा छ यो एक प्रकारको विश्वव्यापी सर्वाधिक लोकप्रिय राजनीतिक व्यवस्था हो । जुन व्यवस्थामा जनता स्वेच्छाले आफ्नो अनुकूलको प्रणालीहरू निर्माण गर्दछन् । जहाँ कोही पनि शासक वा कुनै एक वर्गको अभिनायकत्व हुँदैन । सबै वर्ग, जाति, लिङ्ग वर्ण, समुदायको अपनत्व र सम्मान हुन्छ । त्यही नै लोकतन्त्रको हो । तिनै विशिष्ट विशेषताका कारण लोकतन्त्र लोकप्रिय बन्न पुगेको हो । यो व्यवस्था निरङ्कुश राजतन्त्रको विकल्प हो । वर्गीय अधिनायकत्वमा आधारित कम्युनिष्ट व्यवस्थाको विकल्प हो । फाँसीवादी व्यवस्थाको विकल्प हो ।  पुरातनवादी संस्कार संस्कृतिमा आधारित धार्मिक राज्य व्यवस्थाको विकल्प हो । साम्राज्यवादी राज्य व्यवस्थाको विकल्प हो ।

भारत र अफ्रिका त्यसका ज्वलन्त उदाहरणहरू हुन् भने पाकिस्तान, बङ्गलादेश, मालदिभ्स, इरान, ब्रुनाई  धार्मिक अतिवादी देशहरू हुन् ।
सबैभन्दा घतलाग्दो कुरो त कम्युनिजमको प्रयोगबाट खुल्ला बजारमा प्रवेश गर्दै गरेको देश चीनले खुला बजार र नागरिक स्वतन्त्रता जस्ता कुरालाई खुल्ला गर्दै व्यक्तिगत स्वतन्त्रताको दायरा फराकिलो गर्दै गइरहेको छ भने लोकतन्त्र हरेक व्यवस्थाको विकल्प लोकतन्त्र हो भन्न किन डराउने । त्यस कारण जुनसुकै व्यवस्थाको अन्तिम लक्ष्य व्यक्तिगत स्वतन्त्रता प्रमुख हुने भएपछि लोकतन्त्र निर्विकल्प व्यवस्था हो भन्न कुनै कन्जुस्याइँ गर्न हुँदैन । त्यसैले लोकतन्त्र निर्विकल्प व्यवस्था हो ।

लोकतन्त्र आफैमा लोकप्रिय राजनीतिक व्यवस्था भएर पनि व्यक्ति र तिनका नियतका कारणहरूले गर्दा सिङ्गो व्यवस्था माथि जनताले विभिन्न नकारात्मक प्रश्नहरू उठाउने गरिरहेका छन् । त्यही खराब नियत र प्रवृत्तिका कारण लोकतन्त्रमाथि निरन्तर हमला र धावा बोलिरहेका छन् । अवसरवादी वामपन्थी र दरवारिया शक्ति दिनहुँ जस्तो  लोकतान्त्रिक व्यवस्था र सङ्घीयताको औचित्य समाप्त भइसक्यो भन्ने वक्तव्य र टीकाटिप्पणीहरू दिइरहेका हुन्छन् । जस्तो कि २०६३ सालपछि उम्रिएका पार्टीहरूले सङ्घीयता, लोकतन्त्र र धर्म निरपेक्षता जस्ता जनआन्दोलनका उपलब्धिका विषयमा नकारात्मक टीकाटिप्पणी गरिरहेका छन् । सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको मुद्दा र त्यसको व्यवहारिक प्रयोगमा भएको असफलताले गर्दा हो भन्न लोकतन्त्रवादी स्विकार्नु सक्नुपर्छ ।

मुख्यतः लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसले लोकतन्त्रको विकल्प फेरी पनि लोकतन्त्र नै हो । अरू व्यवस्था हुन सक्दैन भन्ने धारणाको  संस्थागत गर्न सक्नुपर्‍यो  । नेतृत्व पङ्क्तिबाटै चिहानमा गाडिसकेको धार्मिक अतिवादी राज्यको पुनरुत्थानको उद्देश्यले जनमत सङ्ग्रहको प्रसङ्ग पटक पटक उठाइराख्न लोकतन्त्र विरोधी कुरा हो । आजको सन्दर्भमा धार्मिक अधिराज्य अनुपयुक्त, असान्दर्भिक र अप्रासङ्गिक  कुरा हो ।  किनभने धार्मिक दासत्व लोकतान्त्रिक राज्यको विशेषता भित्र पर्दैन । गणतन्त्रले राजनीतिक जीवनको न्वारन गरेका व्यक्तिहरू जुन थालमा खायो त्यही थालमा गोब्य्राउने स्तरमा किन पुगेका हुन् रु उनीहरूलाई चेत हुनुपर्ने हो कि लोकतन्त्रमा कुनै एक निश्चित धर्मलाई खास महत्त्व दिन मिल्दैन र दिएको उदाहरण पनि भेटिँदैन । विश्वको कुन लोकतान्त्रिक मुलुकमा धार्मिक अधिराज्य छ ? त्यो विषयतिर धार्मिक अभिनायकत्व स्थापित गर्न खोज्ने नेताहरूले विश्वका बारेमा जान्नुपर्ने होइन र ?

यद्यपि, कुनै देशमा धार्मिक अधिनायकत्व वा धार्मिक अधिराज्य भयो भने पनि त्यो देशमा लोकतन्त्र छैन भन्ने बुझ्नु पर्दछ । त्यस्तो प्रकारको  लोकतन्त्रको, त्यस्तो तर्क गर्ने समूह वा व्यक्तिलाई पार्टीको विधान विपरीत र देशको संविधानको विरुद्धको गतिविधि बापत कारबाहीको दायरामा ल्याउनुपर्छ  । र लोकतान्त्रिक बाटो हिँड्न प्रशिक्षित गर्नुपर्ने हुन्छ । लोकतान्त्रिक व्यवस्था भनेको समावेशिता, निष्पक्षता र पारदर्शिता तथा निरपेक्षता पनि हो । धार्मिक अतिवादी कुरा गर्नेहरू महामन्त्री डा.शंशाक कोइरालालगायत युवाहरूले टर्कीको सामाजिक र धार्मिक अवस्थाको अध्ययन गर्दा राम्रो हुने थियो । जहाँ ९२ प्रतिशत मुसलमान हुँदा पनि मुस्लिम राज्य घोषण गरेका छैनन् । धर्म निरपेक्षताको टर्की अन्तर्राष्ट्रिय पहिचान हो । त्यसैले कुनै एक धार्मिक समुदायको सङ्ख्या धेरै हुने बित्तिकै धार्मिक राज्य हुनुपर्छ भन्ने मान्यता राख्नु दक्षिणपन्थी सोच राख्नु हो । त्यस्ता सोच विचार राख्ने व्यक्तिहरू लोकतन्त्रको खोल ओढेका धार्मिक अतिवादी छापामारहरू हुन् । वीपी वादको (लोकतान्त्रिक समाजवाद) विरोधी विरोधी समूह हुन् ।

पुरानै कुरामा अल्झिरहनु राजनीतिको विषयवस्तु भित्र पर्दैन । राजनीतिले हरेक पल नयाँ नयाँ कुराको खोजी गर्दछ । ती खोज अनुसन्धानले देश र जनतालाई अत्याधुनिक बनाउँदै लैजान्छ । पश्चगामी सोच राख्ने महामन्त्री कोइराला र युवा नेताहरूले विरासतको हाँडीमा मकै भुटेर देश चलाउन खोज्ने कि, देशलाई लोकतन्त्रको यात्रामा सफल पार्ने ? तसर्थ ‘जोकोही विरासतबाट उम्रिएका काँचा ठिटाहरूले राजनीतिक रूपान्तरण सम्बन्धी पुस्तक, अखबारहरू र शब्दकोश अध्ययन गर्‍यो भने लोकतन्त्रको के हो ?, पश्चगमन के हो ? अग्रगमन के हो ? अर्थ सजिलै थाहा हुनेथ्यो । अन्त्यमा लामो विद्रोह र जन आन्दोलनको उपलब्धि लोकतन्त्रप्रति सधैँ रचनात्मक सोच रहोस् । विश्व  लोकतन्त्र निर्विकल्प व्यवस्था हो । जय नेपाल । (लेखक नेपाली कांग्रेसका नेता हुन्)     
 



नयाँ