अमेरिकी राजनीतिक टिप्पणीकार वाल्टर लिपम्यानको एउटा भनाइ नेपालको राजनीतिको हकमासमेत लागु हुन्छ । उनले भनेका छन्, ‘कोही नेता राजनेतामा स्थापित हुने अन्तिम परीक्षा के हो भने उक्त नेताले उसको जीवनकालपछि अरूहरूलाई उसको जीवनको ‘मिसन’ पछ्याउने र अघि बढाउने दृढविश्वास र इच्छाशक्ति छोडेर जान्छ ।’
नेपालको इतिहासमा नेपाली कांग्रेसको महत्त्वपूर्ण विरासत भनेको सैद्धान्तिक रूपमा प्रजातान्त्रिक समाजवादलाई नेपालको राजनीति र लोकतन्त्रको आधार बनाउनु हो । पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसको एकपछि अर्को पुस्तामा जाँदा यसको सैद्धान्तिक धरातल खस्किँदो छ । वीपी र उनको पुस्ताले व्याख्या गरेको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’को नारामै कांग्रेस टिकेको छ । वीपीपछि कृष्णप्रसाद भट्टराई, सीके प्रसाईं, ढुण्डीराज शास्त्री लगायतले वीपीको सिद्धान्तको व्याख्या गर्ने कोसिस गरेको देखिन्थ्यो भने तेस्रो पुस्तासम्म आइपुग्दा कांग्रेसमा सिद्धान्तका व्याख्याता कहाँ छन् भनी खोज्नुपर्ने बेला आएको छ ।
पार्टीभित्र गणतन्त्रको वकालत गरेर नयाँ दृष्टि दिने भनेर परिचितहरु पनि पार्टीको नीति तथा कार्यक्रमबारे मौन छन् । नयाँ संविधान जारी भएयता कांग्रेसलाई हेर्ने दृष्टिकोणमा झन् जटिलता थपिएका छन् । देशमा राजतन्त्रको अन्त्य भएको, देश हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनेको पृष्ठभूमिमा कांग्रेसको राष्ट्रियताको व्याख्या के हुने ? कांग्रेसको लोकतन्त्रको परिभाषा के हो ? कांग्रेसको यो परिभाषामा मधेसी र जनजाति कहाँ अड्छन् ? हिजो राजा र कम्युनिष्टका बीचको संवैधानिक राजतन्त्रको मध्यममार्गी बाटो समाएको कांग्रेस अहिले मध्यममार्गी कि दक्षिणपन्थी ?
अहिले कांग्रेसभित्र राष्ट्रियतको बहस अलमलमा छ । भारतलाई हस्तक्षेपकारी मान्य कि मित्रशक्ति रु मधेस र जनजाति सहितको नेपालको राष्ट्रियता जनताको भावना हो वा हिमाल, पहाड, तराई जोड्ने भूगोल नेपालको राष्ट्रियता हो रु बीपीले यदाकदा राष्ट्रियता भनेको माटो होइन, जनताको भावना हो भन्ने गर्थे । तर उनका धेरै व्याख्या भारत वा छिमेकीबाट कसरी नेपाललाई जोगाउने भन्ने थियो ।
नेपाली कांग्रेसले यी दुई परिभाषालाई सँगसँगै लैजान सक्नुपर्छ । छिमेकीको हस्तक्षेप र आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रता जोगाउन राष्ट्रियता माटो पनि हो भन्न सक्नुपर्छ भने देशको एकता, विविधता र मेलमिलापका हिसाबले राष्ट्रियता समावेशिता हो अर्थात् राष्ट्रियता सबै धर्म, समुदाय, जातजातिको भावना हो भनेर व्याख्या गर्न सक्नुपर्छ ।
नेपालको इतिहासमा कांग्रेसको महत्त्वपूर्ण विरासत भनेको सैद्धान्तिक रूपमा प्रजातान्त्रिक समाजवादलाई नेपालको राजनीति र लोकतन्त्रको आधार बनाउनु हो । हिजो सशस्त्र हतियार उठाएका माओवादीदेखि जर्मनीको बर्लिन वाल भत्किएसँगै जनताको बहुदलीय जनवाद भन्ने एमालेसम्म, राजाको हैकमवादी व्यवस्थामा हुर्केका कमल थापादेखि हिजो माक्सवादलाई अन्तिम सत्य ठान्ने माओवादी प्रचण्ड बाबुरामसम्मको नीति तथा कार्यक्रम प्रजातान्त्रिक समाजवादकै सेरोफेरोमा घुमेको देखिन्छ ।
गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूको प्रजातान्त्रिक आन्दोलन र प्रजातान्त्रिक समाजवादप्रतिको दृढविश्वास वीपीको राजनीतिक विरासत हो र यही विरासतले अहिलेसम्म कांग्रेसको नेतृत्व धानेको छ । यद्यपि कांग्रेस भने प्रजातान्त्रिक समाजवादको समयसापेक्ष व्याख्या गर्न चुकेको छ । वीपीकै व्याख्यामा अहिलेसम्म कांग्रेस टिकेको छ ।
समाजवादका कुरा गर्दा कांग्रेसमा एकथरी कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, भीमबहादुर तामाङसँगै कांग्रेसको समाजवाद अस्ताएको मान्छन् । किनकि वीपीको समाजवाद गान्धीवादबाट प्रभावित थियो र समाजवादी बन्नु भनेको नेताको चरित्र, लवाइ–खवाइ र रहनसहनमा समेत देखिनुपर्छ ।
होइन भने पैसा, सत्ता र भौतिक सुविधामा रमायो भने त्यो पुँजीवादी भैहाल्यो नि । त्यसैले होला २०४६ सालपछिको उदार अर्थतन्त्रको निर्माण गर्न प्रमुख भूमिका खेल्ने कांग्रेसले पुँजीवादीको ‘लेबल’ लाग्ने भयले सीमितै भए पनि आर्थिक क्षेत्रमा भएको प्रगतिको श्रेय लिन सकिरहेको छैन । जस्तो कि वैदेशिक सहयोगमा निर्भर नेपाल अहिले साधारण खर्चमा आफ्नै बजेटले धान्न सक्ने बन्नु र सरकारभन्दा निजी क्षेत्रले सबैतिर विकास निर्माणमा भूमिका निभाउनु ठूला उपलब्धि हुन् ।
तर कांग्रेसभित्र एकथरी डा. रामशरण महत र महेश आचार्यले वीपीको समाजवाद छोडेर उदारवादमा गएकाले देश डुब्यो, भएका कलकारखानासमेत बन्द भए भन्ने गर्छन् । कांग्रेसको चुनौती भनेको झन्डै ६० वर्ष पहिले वीपीले गरेको समाजवादको समय सान्दर्भिक व्याख्या कसरी गर्ने भन्ने हो ।
वीपीका पालामा उत्पादन र वितरणका लागि बजारको विकल्पमा राज्य वा राज्यको विकल्पमा बजार उभिएका थिए । तर अहिलेको बहस भनेको कसरी बजारमुखी अर्थतन्त्रलाई गरिबमुखी बनाउने र गरिबमुखी आर्थिक नीतिलाई कसरी भ्रष्टाचाररहित र प्रभावकारी बनाउने भन्ने हो ।
समाजवादको व्याख्या गर्दा कांग्रेसले समीक्षा गर्न जरुरी छ । पहिलो, पुँजी निर्माण र उत्पादकत्व बढाउन खुला बजार, उदारवादी अर्थतन्त्र र निजी क्षेत्रको विकासका लागि कांग्रेसको नीति तथा कार्यक्रम के ? सामाजिक न्यायको अवधारणा अनुसार पिछडिएको क्षेत्र र वर्गको सशक्तीकरणमा कांग्रेस कहाँ चुक्यो ? संघीय संरचनामा गएका बेला कांग्रेसको सबै प्रदेशलाई सन्तुलनमा राख्ने विकास नीति के हो ? छिमेकी चीन र भारत एक्काइसौं शताब्दीका दुई आर्थिक शक्ति बनिरहेका बेला नेपालको विकासका प्राथमिकता के हुने ?