- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर निर्वाचनमा विजयी भएका जनप्रतिनिधिको मिलेमतोमा आर्थिक अनियमितता भएको भन्दै नेपाली काँग्रेस बिरुवा गाउँ कार्य समितिले एक विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण गरेको छ ।
गाउँपालिका नेपाली काँग्रेसका सभापति युवराज केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जन प्रतिनिधिहरूको संलग्नतामा आर्थिक अनियमितता गरेको, उपभोक्ता समितिसँग मिलोमितो र विभिन्न विकास योजनाहरूमा अपारदर्शिता अपनाएको जस्ता गुनासा आउन थालेपछि नेपाली काँग्रेसले ध्यानाकर्षण गरेको जनाएको छ ।
पालिका भित्र भएका कामहरूमा अपारदर्शिता र अनियमितता भए पछि सत्य तथ्य सार्वजनिक गर्नुपर्नेमा आफ्ना कमिकमजोरीहरुलाई ढाकछोप गरी नेपाली काँग्रेस बिरुवाले उठाएका समसामयिक विषयवस्तु लाई गाउँपालिकाले राजनैतिक पूर्वाग्रहको संज्ञा दिई सत्य तथ्य लुकाउने प्रयास गरेको आरोप लगाइएको छ ।
बिरुवा गाउँपालिकाले पछिल्लो समयमा गरेका विकाश निर्माणका काममा भएका अनियमितता, कोभिड नियन्त्रणमा भएका आर्थिक अनियमितता, वडाका बाटाहरू ग्रावेल गर्ने नाममा २५ लाख विनियोजित गरी गरिएको अनियमितता, म्याङखोला पुल उद्घाटनमा भएको खर्च सार्वजनिक नगरिएको, भन्ज्याङ बिरुवा सडक खण्ड अन्तर्गत देउराली डाँडाको पहिरो नियन्त्रणमा चासो नदिइएको, युवा स्वरोजगारको नाममा २० लाखको हलो वितरण गर्ने कार्यक्रम विना कार्यविधि वास्तविक किसानलाई नभई पार्टीका कार्यकर्तालाई वितरण गरिएको, सुन्तलाका बेर्ना बाँड्ने कार्यक्रम अपारदर्शी ढङ्गबाट गरिएको विषयमा खोजी गरी तत्काल सार्वजनिक गर्न माग गर्दै २०७८ असार २८ गते गाउँपालिकालाई ज्ञापन पत्र बुझाइएको विज्ञप्तिमा जानकारी गराइएको छ ।
“आफ्नो कर्तव्यबाट पन्छिँदै जनताको हक अधिकारलाई कुल्चँदै गाउँपालिकाले गरेका यस्ता अनियमितताका कामहरू प्रति हाम्रो घोर आपत्ति छ,” विज्ञप्तिमा भनिएको छ ।
गाउँपालिका भित्र भए गरेका आर्थिक अनियमितता एवम् अपारदर्शी कार्यहरूको सत्य तथ्य जानकारी गराउन जोडदार माग गर्दै सत्य, तथ्य विवरण सार्वजनिक नगरेको खण्डमा जुनसुकै कदम चाल्न नेपाली काँग्रेस बिरुवा बाध्य हुने चेतावनी दिइएको समेत विज्ञप्तिमा उल्लेख छ ।