arrow

गोसाइँकुण्ड मेलामा गएका चार जनाको उद्वार, एक अचेत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
gosaikunda_1618028948.jpg

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको तीर्थ सम्पन्न गरी घर फर्किँदै गर्दा लेक लागि अचेत अवस्थामा पुगेका एक व्यक्तिको मङ्गलबार उद्वार गरिएको छ । अचेत हुनेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ सल्लेडाँडा निवासी २१ वर्षीय विवेक श्रेष्ठ हुन् । 

उनको उद्वार प्रहरीले गरेको हो । पवित्र कुण्डमा स्नान गरी फर्कने क्रममा नुवाकोट र रसुवाको सिमाना छेडा भञ्ज्याङ क्षेत्रमा साँझ बास बसेकै स्थानमा लेक लागेर श्रेष्ठ अचेत अवस्थामा पुगेका थिए । 

बिरामीको खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालको आदेशबाट नेपाल प्रहरी, विष्णु दल गणका नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्वार टोली सोमबार नै परिचालन गरिएको थियो । बिरामीलाई रातभर बोकेर अस्पताल पुर्याइएको थियो ।

श्रेष्ठको जिल्ला अस्पताल धुञ्चेमा उपचार भइरहेको र उनको अवस्था क्रमिकरूपमा सुधार भइरहेको चिकित्सकले बताएका छन् । ती बिरामीलाई समुद्र सतहदेखि करिब चार हजार ३०० मिटरको उचाइबाट सुरक्षाकर्मीले उद्वार गरेको हो ।

मानव बस्ती बाहिरको हिमाली क्षेत्र भएका कारण जङ्गलको पदमार्ग पहिचान गराउन र बोक्ने कार्यमा समेत यार्साका बासिन्दाले सहयोग गरेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए । । 

यस्तै गोसाइँकुण्ड मेलामा आएका करिब तीन हजार ५०० यात्रुमध्ये लेक लागेर बिरामी परेका चार जनालाई उद्वार गरिएको र सबैको अवस्था सामान्य बन्दै गएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । अन्य तीन जनालाई गोसाइँकुण्ड क्षेत्रबाट उद्वार गरिएको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ