‘अभियन्ता बन्ने होडबाजीले समाजमा ‘इमोसनल ब्लाकमेल’ भइरहेको छ’
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
717
Shares
काठमाडौं । सामाजिक अभियन्ता बन्ने नाममा समाजमा अफवाह फैलाएर नयाँ पुस्तालाई गलत बाटोतिर मोडिरहेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।
ग्लोबल युथ पार्लियामेन्टले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका वक्ताहरुले अभियन्ता बन्न होडबाजी चलाउने र सामाजिक संजालमा भाइरल बन्ने नाममा तथ्यहिन मुद्दा उठाएर युवाहरुलाई गलत दिशामा अग्रसर गराइएको बताए ।
नायिका रेखा थापाले बिगत लामो समयदेखि युवालाई राजनीतिक दलले प्रयोग मात्र गरेको र उनीहरुको ब्यक्तित्व निर्माणमा वेवास्ता गरेकोले आज समाजमा त्यसको असर देखिएको बताइन ।
कार्यक्रमका टिप्पणीकार पत्रकार राजन कुइँकेलले सामाजिक अभियानको नाममा अभियन्ताहरुले आफु ‘पपुलर’ हुन गलत सूचनाको समेत साहारा लिएको र यसले समाजमा बिग्रह ल्याउने बताए । पत्रकार टिकाराम यात्रीले अभियन्ताहरुले प्राप्तीको आकांक्षा नराखी काम गर्न सक्दा समाजले अभियन्ताबाट लाभ लिन सक्ने बताए ।
ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले विषयबस्तु माथि राम्रो ज्ञान नराखी प्रचारको लागि मात्र गरिने कामले समाजलाई गलत बाटोमा हिंडाउने बताए । उनले भने, ‘भैरहेका जे जति विकासका आयोजना, कुटनीतिक विषय, राजनीतिक तथा प्रशासनिक विषयहरुमा आफ्नो विचार निर्माण गर्दा समाजमा भ्रम नजाने र युवाहरुले सही बाटो लिनसक्छन् ।’ कार्यक्रममा सस्थाका कार्यकारी निर्देशक सबिन लामिछानेले नयाँ पुस्ताका लागि सहि सूचनामा पहुँच पुर्याउन सक्नुपर्ने बताए ।
कार्यक्रमका अन्य वक्ताहरुले संसारभर वास्तबिक अभियन्ता सत्यको मानक र समाजको पथपर्दर्शक हुने भएपनि नेपालका प्रायः अभियन्ताहरु केबल प्रचारका लागि मात्र दौडिरहेको धारणा राखे । उनीहरुले एउटा अभियन्ताले बोल्ने कुराले समाजमा धारणा निर्माण हुने र त्यसको प्रभव दिर्घकालिन हुने भएकाले विना सत्यतथ्य बोल्दा हुने असरबारे नया पुस्ता मौन बस्नु नहुने बताए ।
वक्ताहरुले नेपालमा अभियन्ताहरु शक्ती र गिरोहबाट पनि परिचालित भएको, धैर्यता, विशिष्टता र बिनम्रता नरहेको साथै ‘इमोसनल ब्लाकमेल’ गरेर हुलहुज्जत मात्र गरिरहेकोप्रति राज्य गम्भीर हुनुपर्ने बताए ।