कोरोना विरुद्ध खटिएका फ्रन्टलाइनरको सम्मानमा बनाइएको चित्र शीर्ष नेताहरुको हातमा
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
1k
Shares
काठमाडौं । सामाजिक अभियन्ता तथा परिकल्पनाकार डुजाङ शेर्पाको अगुवाइमा कोरोना महामारीका वेला अग्रपंक्तिमा रहेर काम गर्नेहरूको सम्मानमा सडकका भित्तामा कोरिएको रंगिन चित्र काठमाडौं महानगरपालिकाले मेटाइदिएपछि उक्त चित्रको फ्रेम शीर्ष नेताहरुलाई हस्तान्तरण गरिएको छ ।
कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, सञ्चारकर्मी तथा शव व्यवस्थापनमा खटिएकाहरुको सामूहिक चित्र रत्नपार्कको एक पर्खालमा निर्माण गरेका थिए ।
शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको उक्त चित्रलाई महानगरले नष्ट गरिनुले कला र कलाकारको समेत अपमान भएको भन्दै पुनःचित्र कोर्न माग गर्दै विभिन्न पार्टीका शीर्ष नेताहरुलाई उक्त चित्रको फ्रेम हस्तान्तरण गरिएको अभियन्ता तथा कांग्रेस नेता डुजाङ शेर्पाले जानकारी दिए ।
‘हामी सोही चित्र काठमाडौंका विभिन्न भित्ताहरुमा पुनः सिर्जना गर्न चाहन्छौं । फ्रन्टलाइनरहरुको सम्मान गर्नुपर्छ भन्ने सन्देश आम नागरिकहरुमा फैल्याउन चाहन्छौं । जसका लागि शीर्ष नेताहरुलाई चित्रको फ्रेम हस्तान्तरण गरी चित्र कोर्ने अवसर जुटाइदिन आग्रह गरिरहेका छौं,’ शेर्पाले भने,‘यो हाम्रो अभियान हो, सफल बनाउछौं ।’
फ्रेम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई हस्तान्तरण गरिसकिएको र अब प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको शेर्पाले जानकारी दिए । रत्नपार्कको आकाशे पुलको भित्तामा बनाएको चित्र गैरकानुनी भएको भन्दै महानगरपालिकाले मेटाएको थियो । चित्र मेटाएपछि चौतर्फी विरोध भएको थियो ।