arrow

नेपालीको सम्पत्ति सुरक्षित गर्न गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन आवश्यक : कुल आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
kul-ktm.jpg

काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा आसन्न १०औं विश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी कुल आचार्यले नेपालीको सम्पत्तिको सुरक्षाका लागि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आचार्यले गैरकानुनी रुपमा नेपालको सम्पत्ति विदेशीरहेको र गैरआवसीय नागरिकताको व्यवस्था नहुँदा सम्पत्ति पलायन भइरहेको बताएका हुन् ।

उनले भने,‘विदेशी पासपोर्ट लिएकाहरुले त्यसलाई त्यागेर नेपाली पासपोर्ट लिएर नेपालमै लगानी गर्न चाहनेहरुका लागि नागरिकता अनिवार्य छ । विदेशमा गरिरहेको लगानी नेपालमा भित्र्याउन पनि नागरिकता आवश्यक भएकाले संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन जरुरी छ ।’

आफूले पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको जानकारी दिंदै उनले देश विकासका लागि सरकारले डायसपोरालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

एनआरएनए एक अभियान भएकाले संस्थालाई छाता होइन साझा रुपमा विकास गर्न जित र हारको भावना त्याग्नुपर्ने बताउँदै उनले स्थानीयसँगको संयोजन नहुँदा लगानीले मुनाफा लिन नसकिरहेको पनि औंल्याए ।

विश्वका करिब ९० देशमा विस्तार भइसकेको एनआरएनए सदस्यहरुको ‘टाउको बेचिने’ डर बढ्दै गएकाले संस्थालाई पारदर्शी र अनुशासित बनाउन जरुरी रहेको बताए ।

आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुन गइरहेको १०औं सम्मेलनमार्फत आफूले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल नारालाई सार्थकता दिनका लागि प्रवासी नेपालीहरुलाई एकजुट गराउँदै सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाए ।

महासचिबका प्रत्यासी डा.केशव पौडेलले एनआरएनएलाई सही दिशानिर्देश आवश्यक भएकाले विश्वभरका प्रवासी नेपालीहरुको एकता र सहकार्य आवश्यक रहेको औंल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ