arrow

काभ्रेमा पुनः सलबलाए मिर्गौला तस्कर

logo
राजकुमार पराजुली,
प्रकाशित २०७८ भदौ १७ बिहिबार
kidney-failure.jpeg

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-५ का २८ वर्षीय एक युवाको मिर्गौला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ गर्‍यो । 

उनीहरुले दाजुको मिर्गौला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गौला भारतमा लगेर बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनायो । प्रहरीले भुम्लु गाउँपालिकाका ३५ वर्षीय कुमार परियार, उनका भाइ ३३ वर्षीय देवराज र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई मिर्गौला तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । 

उनीहरुले ती युवाको एउटा मिर्गौला भारतको कोलकातास्थित एमआरआई अस्पतालमा शल्यक्रिया गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक राजन कोइरालाले बताए । उनका अनुसार दाजुको मिर्गौला बिक्री गर्ने तस्कर खोज्दाखोज्दै उनकै निशानामा पारेका ती युवाको जाहेरीपछि उनीहरुको खोजबिन थालिएको हो ।

काभ्रेपलाञ्चोकबाट केही वर्षदेखि मानिसको शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करले काभे्र जिल्ला बनेपा नपा-२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर उनको एउटा मिर्गौला भक्तपुर नपा-१ सल्लाघारीका ५१ वर्षका थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए । स्थानीयवासीका अनुसार तर उक्त घटनामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गौला तस्करी गर्ने सात जनालाई २०७० वैशाखमा कानुनी कारबाही गरेको थियो । घटनाक्रमले जिल्लामा मिर्गौला तस्कर पुनः सक्रिय भएको देखिएको छ । काभे्रपलाञ्चोकले कुनै बेला ‘बैंक अफ किड्नी’को रूपमा राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको थियो । हाल मिर्गौला बिक्री गर्नेहरुको जीवनशैली निकै कारुणिक बन्दै गएको पाइएको छ ।

त्यसो त पाँचखाल नपा-७ जोरपिपल मिर्गौला बिक्री गर्नेको दैनिक जमघटस्थल हो । छदेखि १० सम्म समूहमा रहने उनीहरु प्रायः मदिरा सेवन गरी अस्वाभाविक अवस्थामा रहने गरेको देखिन्छ । यस क्षेत्रमा मिर्गौला बिक्रीबारे समाचार सङ्कलन तथा अनुसन्धान गर्न गएकामाथि हातपात गर्नसमेत पछि नपरेको घटना छन् । होस-बेहोसमा हुने उनीहरु आफ्नो कमजोरीलाई ‘कमाइखाने’ विषय बनाएकामा उनीहरुको आक्रोश देखिन्छ । जानेर-नजानेर आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेचेका उनीहरुको जीवनशैली दिनानुदिन कारूणिक बन्दै गएको देखिन्छ ।

विशेषगरी शारीरिक र आर्थिक अवस्था निकै कमजोर भइसकेकाले आयआर्जनका वैकल्पिक काम गर्नसमेत सकेका छैनन् । १९ वर्षअघि मिर्गौला बेचेका मण्डनदेउपुर नगरपालिका-२ ज्याम्दीका नवराज मिजारले खुलेरै आफूले मिर्गौला बिक्रीपछि दुखाई कम गर्न रक्सी खाने गरेको र मिर्गौला बेचेर आएको पैसा पनि सकेर जमिन पनि सकेको बताए । “अहिले त मैले रक्सी छाडिसके, अब हामी मिर्गौला बेचेका केही मिलेर शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्ने कि भनी सोच्दैछौँ”, उनले भने । उनका अनुसार ज्याम्दी तथा पाँचखालको जोरपिपल र होक्सेका मिर्गौला बिक्री गर्ने अधिकांश मदिरा सेवन गरी आफ्नो शरीर थप कमजोर बनाउँदै घृणाका पात्र बनिरहेका छन् ।

“मदिरा सेवनले शरीर पनि कमजोर बन्दैछ, केहीले त भएको रुखोपाखो पनि बेचेर सकिसके, आयआर्जनका काम गर्न सकिएको छैन”, स्थानीयवासी नवराज मिजारले दुखेसो पोख्नुभयो । अझ उन जिल्लामा हुने मानव बेचविखनसम्बन्धी सार्वजनिक कार्यक्रममा आफूले भोगेको पीडा पोख्दै लुगा खोलेर मिर्गौला बेच्दा पेटको बायाँतर्फ शल्यक्रिया गरेको खतसमेत देखाउने गर्नुहुन्छ । उनलाई ‘दलाल’ले भारतस्थित दिल्लीमा जागिर लगाइदिने प्रलोभनमा झुक्याएर मिर्गौला बेच्न बाध्य पारेको थियो । 

दलालले गरिबीको फाइदा उठाएर झुक्यानमा पारी शरीरको महत्वपूर्ण अङ्गमध्येको एक मिर्गौला बिक्री गराउँदा पाँचखाल र ज्याम्दीको दर्जन समुदायको जीवनशैली दयनीय बन्दै गएको हो । स्वेच्छाले मिर्गौला बेच्नेलाई पनि भनेको रकम नदिने पीडित बताउँछन् । एक पीडितका अनुसार मिर्गौला बेच्ने थुपैलाई दुई चरणमा कोरोनाले थलाएको थियो । यी समुदायमा कुनै पनि निकायले दीर्घकालीन आयआर्जनका कार्यक्रम लगेको पाइँदैन ।

केही वर्षअघि होक्से र ज्याम्दीमा चेतनामूलक कार्यक्रम गरेको जनअधिकार संरक्षण मञ्च (पिपिआर)को प्रतिवेदनमा पाँचखाल नगरको होक्से तथा जोरपिपलका ११२, पाँचखालका १०२ तथा ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको उल्लेख गरेको छ । उसको प्रतिवेदनमा यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।

मिर्गौला तस्करीमा संलग्नलाई मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था छ । घटना विवरणअनुसार काभे्रपलाञ्चोक जिल्लाको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २४ वर्षअघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो । तत्कालीन होक्से गाविस-१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ