arrow

खुल्ने भए मकवानपुरका विद्यालय : जोखिम कायमै 

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ भदौ १७ बिहिबार
makwanpur-cdo.JPG

हेटौँडा ।  मकवानपुरका विद्यालय खुल्ने भएका छन् । भदौ २० गतेबाट जिल्लाका विद्यालयहरू सम्पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सञ्चालन गर्न सकिने भनी आज जिल्ला प्रशासन कार्यालयमा निर्णय भएको छ ।

शिक्षा विकास समन्वय इकाई मकवानपुरले जिल्लाका स्थानीय तहलाई कोरोनाको जोखिम अनुसारको वर्ग छुट्टाएर विद्यालय खोल्न सकिने,नसकिने प्रतिवेदन बुझाएपछि जिल्ला प्रशासन कार्यालयले सोही अनुसारको विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको हो ।

शिक्षा विकास समन्वय इकाइले बुझाएको प्रतिवेदनमा हेटौँडा उपमहानगरपालिका रेड जोनमा परेको छ । यो भनेको कोरोनाको बढी जोखिम रहेको क्षेत्र हो । उपमहानगरपालिकामा पनि वडा नम्बर ४,३,२,१,५ बढी जोखिम युक्त क्षेत्र भनिएको छ ।

त्यस्तै रेड भन्दा केही कम अर्थात् डार्क यल्लो जोनमा मकवानपुरको थाहा नगरपालिका, मनहरी गाउँपालिका र मकवानपुर गढी गाउँपालिका परेका छन् ।

यल्लो जोनमा बागमती, बकैया र भीम फेदी गाउँपालिका परेका छन् । यल्लो भन्नाले कम जोखिम तर उच्च सतर्कता अपनाएर खोल्न सकिने अवस्था भन्ने बुझिन्छ ।

जोखिम नदेखिएको अर्थात् ग्रिन जोन जहाँ स्वास्थ्य मापदण्ड अपनाएर स्कुल खोल्न मिल्ने गाउँपालिकामा इन्द्र सरोबर, राक्सिरांग र कैलाश गाउँपालिका परेका छन् । 

विद्यालय खोल्ने निर्णय भए पनि कोरोनाको जोखिम कायम नै भएकाले र रेड जोनमा र डार्क यल्लोमा पर्ने क्षेत्रका विद्यालय के कसरी सञ्चालन गर्ने भनी हेटौँडा उपमहानगरपालिकामा बैठक बसिरहेको छ ।

कुन क्षेत्रका विद्यालयलाई कसरी सञ्चालन गर्ने भन्नेबारे नगर शिक्षा समितिको बैठकले निर्णय गर्ने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ