arrow

संखुवासभा विभत्स हत्या प्रकरणः ६ वटै शव धरान ल्याइँदै, कल डिटेल्स केलाउँदै प्रहरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
hatya-murder.jpg

काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या गरिएको घटनामा प्रहरीले अनुसन्धानलाई तिव्र बनाएको छ । घटना के कारणले भयो भन्ने विषयमा अहिलेसम्म प्रहरीले संकेत नपाए पनि प्रहरीले तालिम प्राप्त कुकुरसहितको अनुसन्धानमा विशेषज्ञ टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तालिम प्राप्त कुकुर घटनास्थल पुगेपछि प्रहरीले घटनास्थलबाट शव उठाएको छ भने ६ वटै शवलाई अहिले त्यहाँबाट धरान ल्याइँदै छ । प्रदेश नम्बर १ का प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआइजी अरुणकुमार विसीले घटनास्थलबाट शव पोष्टमार्टमका लागि धरान ल्याउँदै गरेको जानकारी दिए ।

‘अहिले ६ जनाकै शव घटनास्थलबाट धरानका लागि हिडाइएको छ, पोस्टमार्टमबाट पनि केही कुरा आउला, प्रहरी टोलीले पनि घटनास्थलमा अनुसन्धानलाई सबै पाटोबाट अघि बढाएको छ,’ प्रदेश नम्बर १ का प्रहरी प्रमुख रहेका डीआइजी विसीले हाम्राकुरासँग भने । उनका अनुसार प्रहरीले मृतकहरुको टेलिफोन सम्पर्कमा रहेका व्यक्तिहरुसँगको ‘कल डिटेल्स’ समेत प्रहरीले हेर्न शुरु गरेको छ ।

हालसम्मको प्रारम्भीक अनुसन्धानमा भने प्रहरीले घरमा रहेको नगद रकम चोर्ने नियतबाटै परिवारकै हत्या गरिएको हुन सक्ने अनुमान लगाएको छ । दुई छोराले विदेशबाट पठाएको केही रकम घरमा रहेको र सो रकमले झापामा जग्गा किन्ने कार्की पविारको तयारी रहेको स्थानीयहरुले पनि बताएका छन् । सोही कारण उनीहरुको हत्या भएको हो की भन्ने आशंका स्थानीयहरुको समेत छ ।

घटनास्थलमा प्राविधिक तर्फको अनुसन्धानका लागि प्रहरी उपरीक्षक भीम दाहालसहित फरेन्सिक टोली पनि घटना स्थलमा नै छ । प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ नेतृत्वको विशेष अनुसन्धान टोली घटनास्थल पुगेको छ । दुई बच्चासहित परिवारकै हत्या गरिएकाले घटनामा चिनजानकै व्यक्ति संलग्न हुन सक्ने अनुमानसमेत प्रहरीको छ ।

प्रहरीले घटनाका विषयमा स्थानीय छिमेकी र अन्य चिनजानका आफन्तहरुसँगसमेत बयान शुरु गरिएको जनाएको छ । यस्तै घटना घटेको आसपासको समयमा घटनास्थल वरपर सक्रिय मोबाइल नम्बरहरूको पनि विश्लेषण प्रहरीले गरिरहेको छ । संखुवासभा जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानमा सोमबार विहानै एकै परिवारका ६ जनाको विभत्स हत्या भएको अवस्थामा शव भेटिएको थियो ।

सो घटनामा ६ जनाकै शव फरक फरक चार ठाउँमा भेटिएको थियो । अनुसन्धानमा संलग्न प्रहरीले हत्यामा सबैमाथि एकै पटक आक्रमण भएको र भाग्दै गर्दा हत्या गरिएको अनुमान लगाएका छन् ।

घटनामा बौद्धमान कार्की नाम गरेका वृद्ध भने सकुशल भेटिएका थिए । उनले आफूहरु साँझ करिब ७ बजेतिर खाना खाएर सुतेको र विहान उठ्दा कसैलाई नदेखेको प्रहरीलाई भनेका छन् । त्यसपछि खोजी गर्दा सबैको हत्या भएको पाइएपछि स्थानीयले प्रहरी र जनप्रतिनिधिहरु खबर गरेका थिए । सबैको हत्या हुँदा बाँचेका ती बृद्ध भने कान कम सुन्ने र आँखासमेत राम्रोसँग देख्न नसक्ने अवस्थाका छन् ।

घटनामा स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाती दीपक कार्की र ३ वर्षीया नातिनी गोमा कार्कीको हत्या गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ