arrow

उत्तरदायी शासन र महाराजाधिराजको अधिनायकत्व बारे वीपी कोइरालाको विचार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
bp-koirala.jpeg
फाइल तस्विर।

तत्कालीन नेपाली राष्ट्रिय काँग्रेसको उद्देश्यका बारेमा उक्त समयमा प्रश्नहरू उठेपछि वीपी कोइरालाले बि.स. २००५ असोज महिनाको युगवाणी पत्रिका मार्फत प्रष्ट पारेका थिए। उनले कांग्रेसको उद्देश्य देशमा प्रजातन्त्र स्थापना र जनताको मतबाट चुनिएका जनप्रतिनिधि गर्ने शासन व्यवस्था बारे स्पष्ट पारेका छन्।

तत्कालीन समयमा राष्ट्रिय कांग्रेसमाथि विभिन्न आक्षेपहरू लगाइने गरिएका थिए। वीपीले राजा र राणा प्रधानमन्त्री समेत कानुन भित्र रहन्छन् र शासनमा कुनै हस्तक्षेप गर्दैनन् भने दुवैलाई मान्न सकिने विचार व्यक्त गरेका थिए उक्त विचारको विरोधहरू भएका थिए।

विशेष गरी प्रजातन्त्र स्थापना पछि उत्तरदायी शासनबारे विभिन्न भ्रमहरू फैलिए पछि वीपीले उक्त कुरालाई पत्रिका मार्फत स्पष्ट पारेका थिए । उत्तरदायी शासन अस्पष्ट रहेको आरोप कांग्रेस पार्टी प्रति लागेको थियो। वीपीले उत्तरदायी शासन बारे स्पष्ट पार्दै लेखेका थिए 'उत्तरदायी शासनको पनि खास अर्थ छ । यसको अर्थ हुन्छ, आफ्नो शासनको निम्ति रैती दुनियाँप्रति शासक जिम्मेवार हुनु अर्थात्‌, राजाले जे मनमा आयो त्यही गर्न नपाउन्‌ र उनलाई प्रजाको सल्लाहबाट राज्य चलाउन कर लागोस्‌ ।'

त्यस्तै उक्त समयमा 'महाराजाधिराजको अधिनायकत्व' भन्ने शब्दावलीमा पनि प्रश्नहरू उठेका थिए। उक्त प्रश्नहरूको जवाफमा वीपीको स्पष्ट जवाफ थियो -''महाराजाधिराजको अधिनायकत्व' को अर्थ खुलाउन बाँकी रह्यो । हामी स्पष्ट रूपमा महाराजाधिराज राज्यको प्रधान भइरहनुहोस्‌, उहाँको नाउँमा राज्यको सारा काम चलोस्‌ भन्ने चाहन्छौँ । तर, यसको अर्थ, उहाँलाई शासनमा आफ्नो इच्छाअनुसार हस्तक्षेप गर्ने अधिकार प्राप्त हुनेछ भन्ने होइन । प्रजाका प्रतिनिधिले चुनेको मन्त्रीमण्डललाई शासन गर्ने अधिकार हुनेछ र त्यो महाराजाधिराजकै वैधानिक मातहतमा रहनेछ।'

युगवाणीमा प्रकाशित वीपी कोइरालाको 'हाम्रो ध्येय'को पुर्ण पाठ:

हाम्रो ध्येय

वी.पी. कोइराला

नेपाली राष्ट्रिय काँग्रेसको ध्येयका सम्बन्धमा अझैसम्म पनि भ्रम रहेको बुझिन्छ। वर्तमान शासन-पद्धतिद्वारा आफ्नो स्वार्थसिद्ध गर्न पाइरहेका हाम्रा विरोधीहरूले हामीमाथि लगाइएको आक्षेपको यहाँ जवाफ दिन म आवश्यकता ठान्दिनँ। तर, धेरैजसो इमान्दार मानिसहरू पनि हाम्रो ध्येयका बारेमा स्पष्ट घोषणा सुन्न चाहन्छन्‌। उनीहरूको भनाइ छ- हाम्रो उत्तरदायी शासनको लक्ष्य स्पष्ट भएन । नेपाली राष्ट्रिय काँग्रेसलाई होच्याएर र यसलाई समाप्त पारेर एउटा नयाँ संस्था स्थापित गर्न खोज्ने एक सज्जनले पनि हालै प्रकाशित आफ्नो एउटा पुस्तिकामा हाम्रो उत्तरदायी शासनको मागलाई अस्पष्ट ध्येय भनेर लेखेका छन्‌।

मेरो यस लेखको उद्देश्य नेपाली राष्ट्रिय काँग्रेसको ध्येयलाई स्पष्ट पार्नु हो । राजनीतिक शब्दावलीमा विभिन्न राजनीतिक शब्द वा वाक्यका खास-खास अर्थ हुन्छन्‌ | राजनीतिक साहित्यमा अलिकति पनि चासो राख्ने व्यक्तिले ती शब्द वा वाक्यलाई तिनै खास अर्थमा बुझ्दछन्‌ । 'पार्लियामेन्ट' भन्ने बित्तिकै यो त्यस्तो सभा हो, जसमा जनताका प्रतिनिधिहरू भेला भएर ऐन-कानुन बनाउँछन्‌ र देशको शासन त्यसैको आधारमा चल्दछ भन्ने स्पष्ट हुन्छ । त्यस्तै, उत्तरदायी शासनको पनि खास अर्थ छ । यसको अर्थ हुन्छ, आफ्नो शासनको निम्ति रैती दुनियाँप्रति शासक जिम्मेवार हुनु अर्थात्‌, राजाले जे मनमा आयो त्यही गर्न नपाउन्‌ र उनलाई प्रजाको सल्लाहबाट राज्य चलाउन कर लागोस्‌ । रैती-दुनियाँले आफ्नो मनमुताबिक चुनेका प्रतिनिधिहरूद्वारा प्रजाको राय स्थिर हुन्छ ।

शासन त राजाको नाउँमा चल्दछ तर, ऐन-कानुन प्रजाका प्रतिनिधिहरूले बनाउँछन्‌ र ती कानुनलाई कार्यान्वयन गर्नका लागि आफैँले चुनेर मन्त्रीमण्डल पनि बनाउँछन्‌ । उत्तरदायी शासनको सैद्धान्तिक अर्थ यही हो । हुनसक्छ, व्यवहारमा सानोतिनो तपसिली परिवर्तन गर्नुपर्ला र आफ्नो देशको इतिहास, प्रतिभा र परम्पराअनुसार माथि लेखिएको अर्थलाई आघात नपुर्‍याई केही घटबढ गर्नु पनि पर्ला । उत्तरदायी शासनको मुख्य पक्ष 'शासनमाथि रैती र दुनियाँको इच्छाको आधिपत्य' नै हो । त्यो आधिपत्यलाई कसरी स्थापित गर्ने वा यसलाई कुन रूपमा राख्ने भन्ने कुरा तपसिलमा आउँछन्‌ । जब रैती-दुनियाँको शक्ति बढिसक्छ र वर्तमान शासक वर्गले उनीहरूको इच्छाको कदर गर्न कर लाग्नेछ, तब रैती-दुनियाँले ठाउँ-ठाउँबाट आफ्ना प्रतिनिधिहरू चुनेर एउटा सभा खडा गर्ने प्रथम काम हुनेछ । यस सभाको काम विधान बनाउनु हुनेछ । अर्थात्‌, जनताको इच्छा कुन तवरले शासनमा सर्वोपरि हुन्छ भन्ने त्यस सभाले निधो गर्नेछ र त्यस सभाकै निर्णयानुसार शासन प्रणाली पनि निर्धारित हुनेछ ।

हामीले आफ्नो घोषणामा महाराजाधिराजको अधिनायकत्वमा उत्तरदायी शासन स्थापना गर्ने भनेका छौँ। उत्तरदायी शासनको सम्बन्धमा माथि नै व्याख्या भइसकेको छ । अब 'महाराजाधिराजको अधिनायकत्व' को अर्थ खुलाउन बाँकी रह्यो । हामी स्पष्ट रूपमा महाराजाधिराज राज्यको प्रधान भइरहनुहोस्‌, उहाँको नाउँमा राज्यको सारा काम चलोस्‌ भन्ने चाहन्छौँ । तर, यसको अर्थ, उहाँलाई शासनमा आफ्नो इच्छाअनुसार हस्तक्षेप गर्ने अधिकार प्राप्त हुनेछ भन्ने होइन । प्रजाका प्रतिनिधिले चुनेको मन्त्रीमण्डललाई शासन गर्ने अधिकार हुनेछ र त्यो महाराजाधिराजकै वैधानिक मातहतमा रहनेछ। जहाँसम्म महाराजाधिराजकै अधिकारको प्रश्न छ, अहिलेको व्यवस्था र पछिको व्यवस्थामा केही फरक हुनेछैन । तर, अहिले उहाँले जसरी सम्मानित कैदीजस्तो हुनुपरेको छ, उत्तरदायी शासनमा भने उहाँलाई पूरा व्यक्तिगत स्वतन्त्रता रहनेछ र प्रत्येक तवरबाट बेलायतको बादशाहसरह नै स्वतन्त्रता रहनेछ । यस सम्बन्धमा उहाँबाट प्राइमिनिस्टर (महाराज) मा रहेको शासनमा हस्तक्षेप गर्ने अधिकार स्पष्ट तवरले झिकेर जनताका प्रतिनिधिहरूलाई प्राप्त हुन्छ भने केही कालदेखि चलिआएको हाम्रो प्राइमिनिस्टरलाई पनि महाराजाधिराजजस्तै सम्मानित तर, अधिकारविहीन पदमा रहन दिए केही फरक पर्दैन भन्ने कतिपयको भनाइ छ । एउटा व्यक्तिलाई राजा मान्न हामी तयार छौँ भने अर्को व्यक्तिलाई पनि प्राइमिनिस्टर मान्न तयार हुँदा केही हर्जा हुनेछैन। मुख्य कुरा महाराजाधिराज वा महाराज दुवै जना रैती-दुनियाँका खटनमा रहनुहुन्छ कि रहनुहुन्न भन्ने हो। यदि उहाँहरू रैती-दुनियाँका खटनमा रहनुहुन्छ भने दुवै रहे पनि केही बिग्रिँदैन । तर उहाँहरू रैती-दुनियाँका खटनमा रहनुहुन्न भने एउटा मात्र रहनु पनि राज्य र रैती-दुनियाँलाई बिगार्न पर्याप्त छ । तर, अहिले यी सब कुरा केवल सैद्धान्तिक मात्रै हुन्‌ । किनभने, मैले प्रारम्भमै भनिसकेको छु, हाम्रा दुईवटा मुख्य काम छन्‌ ।

१ रैती-दुनियाँलाई सङ्गठित गरेर शासक वर्गले उनीहरूको इच्छा सामुन्ने झुक्नुपर्ने गरी शक्ति बढाउने।

२ विधान-परिषद्को स्थापना गर्ने । नेपालको निम्ति कस्तो प्रकारको शासन प्रणाली तयार गर्ने भन्ने निर्णय गर्ने अधिकार यस विधान-परिषद्मा रहन्छ । हामी नेपाली राष्ट्रिय काँग्रेसका कार्यकर्ताहरूले पनि आफ्नो उद्देश्यलाई राम्ररी बुझ्नुपर्छ । जनताको राज्य कायम गर्न हामी खोजिरहेका छौँ।  के हामी आफ्नो उद्देश्यको अर्थमा राम्ररी गमेका छौँ ? मलाई कहिलेकाहीँ सम्भवतः हामीले आफ्नो उद्देश्यलाई बुझेका छैनौँ जस्तो लाग्दैछ । हुनसक्छ, हामीमा वर्तमान शासकप्रति व्यक्तिगत विरोधी भावना मात्र छ वा हामी, हाम्रो कुनै अहिंसामा ठेस लागेर प्रतिहिंसाको भाव लिएर जुर्मुराएका छौं र हामीलाई वर्तमान शासकका ठाउँमा आफैँ पुग्ने अभिलाषाले उत्तेजित पारेको छ वा हामीलाई युवावस्थामा देखिने प्रवृतिले प्रेरित गरेको छ। अन्यथा हाम्रो राजनीतिक विचार प्राइममिनिस्टर व्यक्ति विशेषका गुण-दोषषष्टि फलानो यस्तो, त्यस्तो, त्यो खराब, त्यो असल, फलानो यस्तो भन्नेतर्फ किन फर्किरहन्छ ? त्यसबाट छुटकारा पाएनौँ भने हामी यस प्रकारको मनोवृत्तिबाट व्यक्तिगत झगडामा अल्झिरहन्छौँ र शासन प्रणाली परिवर्तन गर्ने हाम्रो महान्‌ उद्देश्य त्यसै थन्किरहन्छ। हामीले शाही परिवारलाई विशेष महत्त्व दिनु छैन, हाम्रो लडाई त त्यस शासन प्रबन्धसँग छ, जसले गर्दा एउटा व्यक्ति वा एउटा परिवारको स्वार्थका लागि एक करोड जनताको अहित भइरहेको छ। काठमाडौंको कुन दरबार बलियो हुन्छ र कुन कमजोरको हुन्छ, त्यसमा हाम्रो दिलचस्पी छैन। हामी जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका , नाङ्गा वा अशिक्षित नरहुन्, देशमा सडक, बाटोघाटो, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरू कुनै कुराहरूको अभाव नरहोस्, त्यस्तो व्यवस्था ल्याउने प्रयत्नमा छौं। - १९४८ अक्टुबर (युगवाणी अङ्क २, असोज २००५)

(स्रोत: प्रदिप गिरि, विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख (२०६६); साभार: नेपाली काँग्रेस ऐतिहासिक दस्ताबेजहरू)

 

 



नयाँ