arrow

गठबन्धन दलका शीर्ष नेताहरु बालुवाटारमाः संसद, एमसीसी, अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौँ । सत्तारुढ गठबन्धन आवद्ध दलको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बस्दैछ । बैठक शुक्रबार बिहान ९ बजे बस्न लागेको हो । यो बैठक बिहीबार बसेको बैठकको निरन्तरता हो ।

बिहीबारको बैठकमा अमेरिकी सहयोग एमसीसीका विषयमा छलफलसमेत नभएको बताइन्छ । अर्थात् एमसीसीको टोली नेपालमा आइसक्दासमेत यसबारेमा सत्तागठबन्धनले के गर्ने भन्नेमा अहिलेसम्म टुंगो लगाइसकेको छैन । 

बिहीबारको बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालन लगायतका विषयमा छलफल भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका थिए । उनले एमसीसीका विषयमा कुरै नभएको बताए । एमसीसीका विषयमा छलफल गर्ने भनिए पनि गठबन्धन आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएका कारण छलफल नभएको बताइएको छ ।
 
शुक्रबार बिहानको बैठकमा भने एमसीसी, संसद बैठक, अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे समग्रमा निर्णय हुने नेताहरुले बताएका छन् । एमसीसीबारे विपक्षी दल नेकपा एमाले अध्यक्ष सत्तागठबन्धन कसरी अगाडि बढ्छ सोही अनुसार अगाडि बढ्ने निर्णय गरिसकेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै एमसीसी संसदमा पेश गरेको थियो । उसले पारित पनि गर्न खोजेको थियो । तर असफल भयो । नेपाली कांग्रेसले भने प्रतिपक्षमा बसेको भए पनि एमसीसी पास गर्नुपर्नेमा जोड दिएको थियो । 

यसपालि कांग्रेस सत्तामा छ र एमाले प्रतिपक्षमा । तर सत्तागठबन्धन घटकसँग एमाले रुष्ट छ । यो अर्थमा एमसीसी के हुन्छ भन्नेमा अन्योल कायमै छ । 

त्यस्तै गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले दुई महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद विस्तार गर्न ढिला भएको भन्दै देउवा सरकारको चर्को आलोचना भइरहेको छ । 

देउवाले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका कारण ढिलाई भइरहेको बताउँदै आएका छन् । गठबन्धन बैठकमा संसद कसरी चलाउने भन्ने बारेमा पनि छलफल हुनेछ । 

यसअघि बुधबारसमेत देउवाले संसद संचालनमा सघाउन आग्रह गरेका थिए । 



नयाँ