arrow

बालिका करणीका अभियुक्तलाई धरौटीमा छाडिएपछि !

logo
ऋषी अधिकारी,
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
Child-rape.jpg.jpeg
तस्वीर– सांकेतिक ।

लमजुङ । भदौ १ गते जाहेरी परेपछि समातिएका १४ बर्षीया बालिका बलात्कारका आरोपी अर्जुनविक्रम थापालाई २३ दिन पछि अदालतले धरौटीमा रिहा गरेको छ । विद्यालयमा पढ्ने बालिका बलात्कार जस्तो घटनामा यसअघि पनि पक्राउ पर्दा बालिकालाई विभिन्न प्रभाव र प्रलोभनमा पारेर बयान फेर्न लगाइएकोले फेरि धम्की र प्रभावमा पारेर घटनालाई तोडमोड गर्नसक्ने आशंका जन्मिएको छ ।

जिल्ला अदालत लमजुङमा जिल्ला न्यायधीश नभएको र अभियुक्तले प्रहरी समक्षको बयान र अदालतको बयानमा समेत आफूले सो किसिमको अपराध गरेको स्वीकार नगरेको र मुद्धा पनि घटना घटेको ९ महिना पछि आएको कारण ३ लाख धरौटीमा रिहा गरिएको अदालतका श्रेस्तेदार उदयराज काफ्लेले जानकारी दिएका छन् ।

श्रेस्तेदार काफ्लेका अनुसार न्यायाधीश आएपछि हुने थुनछेक बहसमा यो निर्णय बदर भए थुनामा बस्ने र सदर भएमा अभियुक्तले धरौटीमा छुटेर नै मुद्दा लड्न सक्ने छन् ।

उता जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा भने घटनामा संलग्न आरोपितहरुविरुद्ध बलियो प्रमाण अदालतमा पेश गरिएको बताइएको छ । व्यक्तिले बोल्नु भन्दा पनि प्रमाणसहित पेश गरिएको प्रहरीको भनाई छ । 

जाहेरी परेको १४ दिन पछि पक्राउ परेका शिक्षक प्रकाश थापा भने प्रहरी हिरासतमा अनुसन्धानकै क्रममा रहेका छन् । प्रकाश थापा राईनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाका भाइ हुन् । 

यसअघि पनि प्रहरीले पक्राउ गरेर छोडेको थियो अभियुक्तलाई
यसअघि गत जेठ १९ गते आरोपित शिक्षक थापालाई प्रहरीले पक्राउ गरेर छोडेको थियो । प्रहरी समक्ष पीडित भनिएकी बालिकाले बयान फेरेपछि शिक्षकलाई केही घण्टामै प्रहरीले छोडेका थिए । 

सो समयमा पीडित बालिकालाई विभिन्न लोभ र डर देखाएर बयान फेर्ने लगाएको बालिकाको परिवारको एक सदस्यले बताएका थिए भने आरोपित शिक्षक पक्राउको विषयलाई लिएर विरोधमा विद्यालयका प्रधानाध्यापक रामप्रसाद गुरुङसहित शिक्षकहरुले विद्यालयको लेटरप्याड प्रयोग गरी विज्ञप्ति निकालेर नै आपत्ति जनाएका थिए ।

उता विद्यालयमा पढ्ने बालिका बलात्कार जस्तो गम्भीर घटनाको विषयमा पर्याप्त अनुसन्धान नगरी आरोपितलाई प्रहरीले छोडेकाले राजनैतिक प्रभावमा पारी प्रहरीसँग मिलेमतोको आशंका गर्दै केही स्थानीय र विद्यालयका अभिभावकहरुले विद्यालयमा गएर विरोध प्रदर्शन गरेका थिए । 

विद्यार्थीका अभिभावहरुले जेठ २० गतेका दिन विद्यालय परिसरमा आरोपित शिक्षक विरुद्ध नाराबाजीसमेत गरेका थिए । स्थानीय बासीन्दा, बाल अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले भने ती बालिकालाइ प्रलोभनमा पारी इन्कारी बयान दिन लगाइएकोले घटनाको सुक्ष्म अनुसन्धान गर्न प्रहरी प्रशासनलाई अनुरोध गरे पनि उक्त विषयले राजनीतिक रूप लिँदा गाउँ नै पक्ष विपक्षमा विभाजित भएको थियो ।

बालिकालाई बयान फेर्न लगाइएको भन्ने आरोप
अघिल्लो वर्षको पुस–माघ महिना तिर पीडित बालिकाले आफू माथि शिक्षक थापाले जबर्जस्ती करणी गरेको गत बैशाखमा आफ्ना साथीहरूलाई भनेकी थिइन् । साथीहरुसँग कुरा गरेको एक महिना पछि स्थानीय समूदायमा घटना सार्वजनिक भएको थियो ।

गाउँमा साथीहरुबाट कुरा फैलिंदै जाँदा पिडित भनिएकी बालिकाको परिवारले थाहा पाए लगत्तै प्रहरीलाई खवर ग¥यो । प्रहरीले आरोपीत शिक्षक, पिडित भनिएकी बालिका र उनले जोसँग कुरा गरिन् ती सवै साथीहरुलाई जिल्ला प्रहरी कार्यालयमा झिकायो । 

साथीहरुकै रोहवरमा ति बालिकाले मैले साथीहरुलाई ख्याल ठट्टामा मजाक मात्र गरेको भनी बयान दिएको र जाहेरी नपरेको भन्दै थप अनुसन्धान नगरी अभियुक्तलाई कागज गराएर राईनास नगरपालिकाका मेयर सिह वहादुर थापाको जिम्मा छोेडेका थिए ।

यसमा बालिकालाई जवर्जस्ती विभिन्न प्रलोभन देखाएर बयान फेर्न लगाएको स्वयं बालिकाका अभिभावबले बताएका थिए । तर राजनैतिक डर र धम्की दिएपछि उनीहरु थप बोल्न नसकि पिल्सिएर बसीरहेको पारिबारीक श्रोतले बताएको थियो  ।
विद्यालयका प्रअ गुरुङ सहितको शिक्षकहरुले शिक्षक थापाको गल्तीको ढाकछोप गर्न अनेक रणनीति अपनाएका थिए ।  निर्दाेष इमान्दार रहेको र विद्यालयलाई समेत बदनाम गर्ने खोजेको भन्दै व्यवस्थापन समितिका अध्यक्ष राज कुमार पाण्डेको राजीनामा माग गर्दै शिक्षकहरुले विद्यालय तालाबन्दी समेत गरेका थिए ।

घटनामा राजनैतिक ढाकछोप र प्रभाव
बालिका बलत्कारको घटना सार्वजनिक भएपछि बाल अधिकारका लागि राष्ट्रिय अभियान केन्द्रीय समन्वय समितिले काठमाडौंबाट विज्ञप्ति निकाल्यो । लगत्तै जेठ २२ गते विद्यालय ब्यवस्थापन समिति, राइनास बाल क्लव सञ्जाल, राइनास बाल संरक्षण समितिले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न प्रहरी प्रशासनमा निवेदनसमेत दिए । 

तर तत्कालीन प्रहरी प्रमुखले राजनीतिक दवावमा त्यस्तो जघन्य अपराधको घटनाको अनुसन्धान अघि नबढाएको गुनासो स्थानीयको रहँदै आएको थियो ।

घटनालाई ढाकछोप गर्नका लागि सार्वजानिक पद धारण गरेकै व्यक्ति लागि परेको भन्दै स्थानीयले अपराध ढाकछोप गर्ने मतियारलाई पनि कानुनको कठघरामा ल्याउनु पर्ने बताउँदै आएका थिए । 

उक्त घटनालाई ढाकछोप गरी धम्कीको भरमा दबाउनको लागि एमालेका उच्च तहका नेतासमेत सामाजिक सञ्जालमा सक्रिय रहेका थिए । उनीहरुले घटनालाई बाहिर ल्याउने सञ्चारकर्मी समेतलाई विभिन्न लान्छना लगाई धम्की दिइरहेका थिए । 

सत्यतथ्य बुझ्न गाउँमा पुगेका सञ्चारकर्मीलाई समेत राईनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले ‘कुरा सकियो, केहि थिएन’ भनेर उत्तर दिएका थिए । सञ्चारकर्मीहरु आरोपित शिक्षकसँग कुराकानी गर्न खोज्दा उनले आफूले प्रयोग गर्ने गरेको मोबाइलसमेत श्रीमतीलाई दिएर बाहिर गएको उनकी श्रीमतीले बताएकी थिइन् । 

गाउँमा घटनाको जानकारी कसरी भयो भनेर बुझ्न खोज्दा नगर प्रमुखले कुरा मिलिसक्यो कसैलाई केहि नभन्न धम्की दिएका कारण आफूहरुले कुनै कुरा नगर्ने गाउँलेहरुले बताएका थिए । 

फेरि कसरी पक्राउ परे आरोपी ?
घटनापछि बाल मनोपरामर्शदाताको सहयोग र परामर्शपछि बालिकाले भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा आफूमाथि बलत्कार भएको भन्दै किटानी जाहेरी दिएपछि लगत्तै अर्जुन विक्रम थापा पक्राउ परेका थिए । घटनाका अर्का आरोपी राईनास नगरपालिकास्थित भैरव माविका शिक्षक प्रकास थापा भने भूमिगत भएका थिए । 
विद्यालयका शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन बुझाउन काठमाडौं गएका भनिएका उनी आफू बिरूद्ध केस परेको थाह पाएपछि लुकेर बसेका थिए । उनको खोजीमा लमजुङ प्रहरीले काठमाडौं, पोखरा, चितवन देखि लमजुङकै विभिन्न स्थानमा प्रहरी खटिएकोमा लमजुङमा लुकीछिपी बसेको अवस्थामा केहि दिनपछि उनी पक्राउ परेका थिए । 

नगरपालिकाका प्रमुखको भाइ भएको र अघिल्लो पटक पक्राउ पर्दा नगर प्रमुख आफ्नै रोहबरमा आवश्यक परे बुझाउने भन्ने कागर गरेर छुटाएर गएका कारण उनैलाई पक्राउ गर्नुपर्ने पिडित र स्थानीयले प्रहरीलाई बताएका थिए । नगर प्रमुख थापा भाइलाई बचाउन विभिन्न शक्तिकेन्द्रसम्म धाए । तर, प्रहरीले उनैलाई समात्न सक्ने भनेपछि मात्र भाइलाई बुझाउन ल्याएका थिए । 

यसअघि के भएको थियो ? 
गत जेठ १८ मा बालिका बलत्कारको बिषय सार्वजनिक भएको थियो । सो कुरा बाहिर आएपछि गाउँमा खैलाबैला मच्चिएको थियो । लगत्तै ती बालिकाका अभिभावकको ठाडो उजुरीमा प्रहरीले भैरव माविका शिक्षक प्रकास थापालाइ जेठ २० गते पक्राउ गरी सोही दिन सामान्य सोधपुछ गरी छोडेको थियो । पीडित भनिएकी बिद्यार्थीले इन्कारी बयान दिएकाले छोडिएको तत्कालीन लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले बताएका थिए ।
त्यतिबेला तत्कालीन प्रहरी प्रमुख गंगाबहादुर थापाले पत्रकारहरूकै रोहबरमा पीडित बालिका वा उनका अभिभावकको उजुरी आए मात्रै कारबाही अघि बढाउन सकिने बताएका थिए । तर बालिका र उनका अभिभावकको तर्फबाट कुनै उजुरी परेको थिएन । पछि ती बालिकालाई मनोसामाजिक परामर्श दिएपछि उनी उजुरी गर्न तयार भएकी हुन् ।
अहिले लमजुङमा प्रहरी प्रमुख पनि फेरिएर कृष्णबहादुर कार्की नयाँ प्रहरी प्रमुख भएर आए लगत्तै ती बालिकाको उजुरी पनि प्रहरीमा आए पछि प्रहरीले कारबाही अघि बढाएको हो ।

घटनालाई राजनैतिककरण गरिएका कारण विद्यालयमा समस्या
अघिल्लोपटक पक्राउ पर्दा सोही घटनालाइ लिएर राइनासको भैरव माविमा ब्यवस्थापन समिति र शिक्षकहरूबीच पानी बाराबारको अवस्था उत्पन्न भएको थियो । घटना बाहिर आएपछि ब्यवस्थापन समितिले घटनाको यथार्थ अनुसन्धान गरी दोषीलाइ कारबाही गर्न प्रहरी प्रशासनलाइ अनुरोध गर्ने निर्णय गरेपछि बिद्यालयका शिक्षकहरूले ब्यवस्थापन समितिको निर्णयका बिरूद्ध विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद गुरूङको अध्यक्षतामा बसेको शिक्षकहरूको बैठकले ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार पाण्डेको राजीनामा नआएसम्म बिद्यालय नखोल्ने भन्दै आन्दोलन गरेका थिए । उनीहरूले निर्दाेष शिक्षकलाइ झुटो मुद्दामा फसाएर आफू अनुकूलको अर्काे शिक्षक भर्ना गर्ने प्रपञ्च रचेको आरोप लगाएका थिए । यो पनि राजनैतिक घटनासँगै पक्ष विपक्षमा विभाजन भएको अवस्था थियो ।

तर जेठ २० गते गाउँले तथा विद्यालयका अभिभावकहरु विद्यालयमा गइ नाराबाजी गर्दै आरोपी शिक्षकलाइ बर्खास्त गरी कानुनी कारबाहीको माग गरेका थिए । यस्ता घटनाले आफ्ना कलिला नानीहरुलाई बिधालय पठाउन पनि डर भएको भन्दै अभिभावकहरूले विद्यालय पुगरै ती आरोपित शिक्षक र बिद्यालय प्रशासनको बिरुद्ध नारावाजी गरेका थिए । हातमा प्लेकार्ड र व्यानर सहित बिधालय परिसर पुगेका अभिभावकहरूले विद्यालयमा यौन दुराचार बन्द गर , चरित्रहिन शिक्षकलाई बर्खास्त गर, निकम्मा प्रध्यानाध्यापक राजीनामा दे, बिद्यालयमा भएको यौनजन्य गतिबिधिको सत्य तथ्य छानबिन गर, बिद्यालय पाठशाला कि यौनशाला भनेर नारा लगाएका थिए । विद्यालयका शिक्षकबाटै छात्राहरू असुरक्षित हुन्छन् भने हामी हाम्रा छोरीहरु यस बिध्यालयमा कसरी पठाउन सक्छौं भनि उनीहरूले प्रश्न गरेका थिए ।

स्थानीय बासीन्दा समेतको साथ पाएपछि विद्यालय ब्यवस्थापन समितिले जेठ २२ मा प्रमुख जिल्ला अधिकारीको रोहबरमा प्रहरी प्रमुख गंगाबहादुर थापालाइ घटनाका अनुसन्धान गरी दोषीलाइ कारबाही गर्न निवदेन दिएको थियो । संगै राइनास बालक्लव सञ्जाल र राइनास बाल संरक्षण समितिले पनि छुट्टाछुट्टै निवेदन पेश गर्दै घटनाको निष्पक्ष छानवीन गरी दोषीलाइ कारबाही गर्न माग गरिएको थियो ।

पीडितले न्याय पाउने आशाः
दोश्रोपटक किटानी जाहेरी दिएपछि अभियुक्तहरु प्रक्राउ परेपछि पिडितले न्याय पाउने आशा स्थानीय अभिभावकले गरेका थिए । तर, यतिखेर अदालतले धरौटीमा अभियुक्तलाई छोडिदिएपछि फेरी बालिकालाई प्रलोभन, डर, धम्की दिएर बयान फेर्न लगाउने त हैनन् ? भन्ने आशंका गाउँमा उब्जिएको अभिभावकहरुले बताएका छन् । राजनैतिक तहको व्यक्तिले नै घटनाको ढाकछोप गर्दै हिंडेकाले अव विभिन्न प्रपञ्च रचेर बालिकालाई थप तनाव दिन सक्ने डर गाउँलेहरुको छ । गाउँलेहरुले कोही कसैलाई प्रलोभनमा नपारी स्वतन्त्र रुपमा सत्यतथ्य छानविन गर्नुपर्ने वातावरण भएमा मात्र पीडितले न्याय पाउने बताउँदै आएका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ