- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आइतबार बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। अहिलेसम्म बंगलादेशसँग खेलेका ७ भिडन्तमा सबै खेल जितेको नेपालले यो खेल पनि जितेर आफ्नो रेकर्डलाई अगाडि बढाउन चाहन्छ ।
नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग साँझ ५ बजेदेखि खेल्नेछ । नेपाली सिनियर टिमले आइतबार दोस्रो पटक दशरथ रंगशालामा खेल्ने मौका पाएको हो ।
अहिलेसम्म महिला सिनियर टिमले दशरथ रंगशालामा पाइला टेक्न पाएको थिएन । बिहीबार रंगशालामा गरेको डेब्युमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले हरायो ।
नेपालको जितमा डेब्यु खेलाडीद्धय सबिता राना र प्रीति राईले एक एक गोल गरेका थिए । हाफ टाइमसँग २–० ले अग्रता लिएको नेपालले हाफ टाइमपछि गोल खाएको थियो । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।
पहिलो खेलमा नेपाली चार खेलाडीले डेब्यु गरेका थिए । पहिलो पटक विदेशी प्रशिक्षकले सम्हालेको महिला राष्ट्रिय टिममा दोस्रो खेलमा थप तीन खेलाडीले डेब्यु गर्ने सम्भावना छ । प्रशिक्षक ग्यारी फिलिप्सले मैत्रिपूर्ण खेलमा सात खेलाडीलाई डेब्यु गराउने सोच बनाएका हुन् ।
दर्शकका लागि साधारण पारापिटतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँको टिकट राखिएको छ ।
एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।
एएफसी महिला एसिया कप छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।
नेपालले पहिलो खेलमा फिलिपिन्ससँग असोज २ गते र दोस्रो खेलमा हङकङसँग असोज ५ गते खेल्नेछ ।