arrow

संखुवासभा हत्या काण्डका आरोपी सार्वजनिकः ‘सबैको हत्या गर्ने सोच थिएन, अरुले देखेपछि हत्या गरें’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
sankhasawa.jpg

काठमाडौं । संखुवासभामा ६ जनाको ज्यान लिने गरी भएको सामूहिक हत्या घटनाका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले पाँच दिनको अनुसन्धानपछि शनिबार २६ वर्षीय कार्कीलाई संखुवासभाको मादी गाउँपालिका-१ बाट नै पक्राउ गरेको थियो । प्रहरीले उनलाई आइतबार चैंनपुरमा सार्वजनिक गरेको हो । उनले घटनामा आफ्ना सहोदर १३ दिने काका पर्ने तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनालाई नै आफूले हत्या गरेको प्रहरी समक्ष बयानमा स्वीकार गरेका छन् ।

प्रहरी समक्षको बयानमा उनले पहिले तेजबहादुरको हत्या गरेको र त्यसपछि अन्यले समेत घटनाबारे थाहा पाएपछि हत्या गर्दै अघि बढेको भनेका छन् । तर अन्यको हत्या गर्ने सोच आफ्नो नभएपनि परिस्थितिले त्यो अवस्था निम्ताएको उनले बयानमा भनेका छन् । प्रहरीका अनुसार २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर नातामा सहोदर काका भतिजा हुन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख डीआइजी अरुणकुमार बिसीले घटनामा सामान्य घरायसी रिसिइबी रहेको अनुसन्धानले देखाएको जानकारी दिए ।

उनका अनुसार मृतक र आरोपी १३ दिने काका-भतिजा हुन् ।  लोकबहादुरले घरायसी मनमुटावका कारण आवेगमा तेजबहादुरसहित उनका परिवारको सामूहिक हत्या गरेका हुन् । उनले नै घटना बारे अरुलाई शुरुमा जानकारी गराएका थिए ।

उनले पहिले प्रहरी समक्ष दिएको बयान र पछि दिएको बयान पटक पटक फेर्दै गएपछि प्रहरीको नजरमा परेका थिए । त्यसपछि प्रहरीले उनीमाथि अनुसन्धान सुक्ष्म ढंगबाट अघि बढाएको थियो । त्यसपछि पक्राउपरेपछि प्रहरीलाई दिएको बयानमा आफूले आवेशमा आएर ६ जनाको नै हत्या गरेको लोकबहादुरले प्रहरी समक्ष बयान दिएका थिए ।

लोकबहादुले आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या गरेको स्वीकार गरेका हुन् । हत्यापछि शव घर नजिक फरक(फरक चार स्थानमा फेला परेको थियो ।

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरू खटिएका छन् । तेजबहादुरका दुई छोरा भने विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा पश्चाताप रहँदै आएको प्रहरीलाई भनेका छन् ।

के हो रिसिइबी ?

लोकबहादुर गाउँमा नै बस्थे । तर तेजबहादुरका दुबै छोरा विदेशमा छन् । सोही विषयमा लोकबहादुर र तेजबहादुरबीच भनाभन पर्दै आउने गरेको थियो । लोकबहादुरले आफूलाई विदेश जान नसकेको भन्दै होच्याएको प्रति काका तेजबहादुरसँग तुष राखेका थिए । उनले त्यही तुषलाई आवेशमा हत्याको रुपसम्म लगे ।

प्रहरीको अनुसन्धानबाट हालसम्म प्राप्त निश्कर्ष अनुसार हत्याको कारण त्यही हो । घरायसी तुषका कारण तेजबहादुको परिवारका ६ जनाले ज्यान गुमाए । तेजबहादुरको स्वभावसमेत ‘ठूलो पल्टने’ खालको रहेको छिमेकीले प्रहरीलाई भनेका छन् । उनीमा अरुलाई होच्याउने बानी रहेको स्थानीयले प्रहरीलाई भनेका छन् ।

यसरी गरियो हत्या

तेजबहादुर र लोकबहादुरको घर करिब एक सय मिटरको दूरीमा छ । गत सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटोमा कुरेर बसेका थिए । सोही क्रममा घरबाट निस्किएका तेजबहादुरलाई लोकबहादुरले दाउराको चिर्पटले आक्रमण गरेर हत्या गरे ।

तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि उनीहरु पनि घटनास्थलमा दौडिँदै गएको प्रहरी अनुसन्धानले देखाएको छ । त्यसपछि लोकबहादुरले उनीहरु दुवै जनाको घरनजिकै खोला छेउमा हत्या गरेको प्रहरीसमक्ष बयानमा भनेका छन् ।

त्यसपछि आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा हत्या गरेको अनुसन्धान देखाएको छ ।

उनीहरुको हत्यापछि लोकहादुले घरमा कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अनुसन्धानले देखाएको छ । प्रहरीले यो घटनामा हत्याको योजना तेजबहादुर प्रति लक्षित भएको तर हत्या गरेको अरुले देखेपछि सबैको हत्या गरिएको पाइएको जनाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ