- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको सो नदीले बर्सेनि यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ ।
यसै क्रममा यही शुक्रबार मात्रै नुहाउने क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडग भुल्यालका १८ वर्षीय छोरा पवन बेपत्ता भएका छन् । उनको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी टोली तथा स्थानीयवासी परिचालन भए पनि अहिलेसम्म भेटाउन सकेको छैन् ।
सेतीमा पानीको बहाव बढी हुने भएकाले नदीमा नुहाउन गएका बगेर बेपत्ता हुने गरेका र कम्तीमा पनि एक हप्तापछि नदीमा तैरिएको अवस्थामा फेला पर्ने गरेको स्थानीयवासी भरत द्वारियाले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लका एक वर्षको अवधिमा सेतीमा नुहाउन गएर ज्यान गुमाउनेमा केआइसिंह गाउँपालिका-५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावल, शिखर नगरपालिका-४ की १६ वर्षीया धर्माकुमारी महरा, आदर्श गाउँपालिका-५ लामिखालका ४५ वर्षीय पुस्कर सिंह, आदर्श गाउँपालिका-६ गिरीचौकाकी अन्दाजी ३५ वर्षीया बसु अधिकारी, शिखर नगरपालिका-१० का अन्दाजी पाँच वर्षीय गोविन्द बलायर छन् ।
यसैगरी आदर्श गाउँपालिका-४ का ५२ वर्षीया मनी पार्की, दिपायल सिलगढी नगरपालिका-४ राजपुर घर भएकी आठ वर्षीया बालिका करिश्मा नेपाली सेतीमा नुहाउन गएका बेला बगेर ज्यान गुमाएका छन् । सेती नदीमा पानीको प्रवाह तीव्र भएका कारण नुहाउन जाँदा सामान्य लापरवाहीले डुब्ने गरेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए । उनले भने, “सेती नदीको पानी अन्य नदीको तुलनामा बढी चिसो र तीव्र छ, त्यसले गर्दा अन्य नदीमा पौडी खेलेका व्यक्ति यस नदीमा छिट्टै डुब्ने गर्छन् र बेपत्ता हुने गरेका छन् ।”
सेतीमा बर्सेनि स्थानीयवासीको अकालमै ज्यान जान थालेकाले नदी किनाराका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको दिपायल सिलगढी-४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए । नदीमा मान्छे बेपत्ता हुनेदेखि नदी आसपासका बस्ती पनि नदी कटानको जोखिममा पर्दै आएका छन् । यहाँका दिपायल, समूहगाढ, कालागाढ, सिरखोलीसैन, भागेतडा, घोलतडा, नारिदाङ, बानीडुग्रीसैनलगायतका बस्ती निकै जोखिममा परेका छन् ।