arrow

चल्यो ब्याटिङ

नेपालले इतिहास दोहोर्‍यायो, अमेरिकामाथि पाँच विकेटको जित, बने यस्ता रेकर्ड

कुशल र रोहित चम्किए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
nepal-usa-cricket-2021.jpg

काठमाडौं । नेपालको ब्याटिङ चलेपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकामाथि सहज जित निकालेको छ । अमेरिकाविरुद्धको खेलमा इतिहास दोहोर्याउँदै नेपालले सहज जित निकालेको हो । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार राति भएको डे नाइट खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । यो जितसँगै नेपालले यसअघि यसै क्रिकेट लिग–२ अन्तर्गत नेपालमा भएको खेलमा हात पारेको सफलता दोहोर्याएको छ । नेपालमा भएका दुवै खेलमा नेपालले अमेरिकामाथि जित निकालेको थियो । 

अमेरिकाविरुद्ध लगातार तेस्रो जित निकाल्ने क्रममा अमेरिकाले दिएको २३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।  

ओपनर कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ९३ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।

त्यसैगरी रोहित पौडेलले लगातार दोस्रो अर्धशतक प्रहार गरे । पपुवा न्यूगिनी विरुद्धको खेलमा अर्धशतक बनाएका रोहितले अमेरिकाविरुद्ध पनि अर्धशतक बनाएका हुन् ।

उनले ८७ बलमा ३ छक्का र २ चौकाको मद्धतले नटआउट रहँदै ६२ रन बनाए । रोहित एक दिवसीय अन्तर्राष्ट्रियमा लगातार दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीसमेत बने ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । यसअघि नेपालको उच्च साझेदारी ६१ रन रहेको थियो । आसिफ द्धद्द बलमा २३ रन बनाएर आउट भए ।

विनोद भण्डारीले ३७ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १७ रनमात्र बनाउन सके । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेटको नोक्सानीमा २३० रन बनाएको थियो । नेपालले फिल्डिङ राम्रो नगर्दा अमेरिकाले सम्मानजनक योगफल तयार गरेको थियो । 

अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले । उनी शतक बनाउने अमेरिकाको इतिहासकै दोस्रो खेलाडी हुन् । यस्तै  निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे ।

नेपालका सन्दीप लामिछाने, विक्रम सोब र सुशन भारीले २–२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए । दुई खेलाडी रनआउट भए । 

कुशल भुर्तेल म्यान अफ द म्याच भए । भुर्तेलले ८४ रन बनाउनुका साथै तीन वटा क्याचसमेत गरेका थिए । 

अंक तालिका 
जितसँगै नेपालले ५ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ । अमेरिकाले १३ खेलमा १२ अंक जोडेको छ । अमेरिका दोस्रो स्थानमा यथावत् रहेको छ ।

सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा घरेलु टिम ओमानसँग मंगलबार खेल्दैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ