arrow

दैलेखमा शिक्षकको हत्या, शङ्कास्पद दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
hatya-murder.jpg

दैलेख। गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या गरिएको हो । प्रहरीले शङ्कास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक  विसीको हत्या गरेको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन । “घटनामा धारिलो हतियार प्रयोग भएको देखिन्छ”, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपराज श्रेष्ठले भने, “घटना भएपछि शङ्कास्पद देखिएका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानसहितको टोलीले दैलेख पुर्‍याउँदै छ ।”

प्रमुख श्रेष्ठका अनुसार ती व्यक्ति शिक्षकको हत्या हुनु पूर्व रातिसँगै भएको खुलेको छ । “नियन्त्रणमा लिएका व्यक्ति र हत्या गरिएका शिक्षकसँग राति सँगै भएको खुल्न आएको छ”, श्रेष्ठले भने, “घटनास्थलको प्रकृति र ती व्यक्तिहरूबाट थप प्रमाण भेटिएकाले पनि अनुसन्धानपछि मात्रै घटनाको वास्तविक तथ्य खुल्नेछ ।”

दैलेख सदरमुकामबाट घटनास्थलको दूरी झण्डै पाँच घण्टाको रहेकाले पनि अनुसन्धान अधिकृत जिल्ला नफर्कँदासम्म घटनाको वास्तविकता अहिले नै बताउन नमिल्ने श्रेष्ठले बताए । “तथ्य नजिक प्रहरी पुगेको छ, केही दिनमा वास्तविकता सार्वजनिक गर्छौँ”, श्रेष्ठले भने ।

शिक्षक बिसी स्कुल वरण्डामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान फेला परेको थिए । घटना लगत्तै दैलेख प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली छोटेपोखरा पठाएको थियो । शव परीक्षणका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ