arrow

ब्याट–बल नचलेपछि नेपाल ओमानसँग फेरि निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
cricket-nepal-oman-2021.jpg

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । मंगलबार राति ओमानकै मैदानमा भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको हो । नेपाल लगातार तेस्रो पटक ओमानसँग पराजित भएको छ । 

सन् २०२० मा नेपालमै भएको लिग–२ का दुवै खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । नेपालको ब्याटिङ र बलिङ दुवै नचल्दा निकै कमजोर हुनुपर्यो । 

खेलमा नेपालले दिएको १ ९७ रनको लक्ष्य ओमानले ३१.१ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा जतिन्दर सिंहले १०७ रनको शतकीय इनिङ्स खेले । उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । 

उनको शिकार सबैभन्दा बढी सोमपाल कामी बने । सोमपालको पाँचौ ओभरमा उनले ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए । 

नेपालका करण केसी र कुशल मल्लले २–२ विकेट लिए । सुशन भारीले १ विकेट लिए । करणले ५ ओभरमा २ विकेट लिए पनि ५२ रन दिएका थिए । त्यस्तै कुशल सबैभन्दा किफायती भए । उनले १० ओभरमा ३८ रनमात्र दिएका थिए । त्यसपछि सुशनले १ मेडन राख्दै १० ओभरमा ४० रन दिएका थिए । 

विक्रम शोब सबैभन्दा महंगा सावित भए । उनले २.१ ओभरमा २९ रन दिए । यो इनिङ्समा सन्दीप लामिछानेले बलिङ नै गरेनन् । 

नेपालको इनिङ्स  
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको थियो ।

ओपनर आशिफ शेखमात्र क्रिजमा टिके । उनी ९० रन बनाएर आउट भए । शतक जोड्नबाट बञ्चित भए । उनले ११२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । उनलाई साथ दिने क्रिजमा कोही नहुँदा अन्त्यतिर उनी अताल्लिन पुगे ।

आशिफको यो एक दिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक समेत हो । उनी एक दिवसीय अन्तराष्ट्रिय सर्वाधिक उच्च रन बनाउने पहिलो नेपाली ओपनर ब्याट्सम्यानसमेत बनेका छन् ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१–२१ रन जोडे। रोहित पौडेलले २० रन तथा सन्दीप लामिछानेले १० बलमा १६ रन बनाएर रनआउट भए । उनले १ छक्का र १ चौका प्रहार गरेका थिए । 

ओमानका बिलाल खानले ४७ रन खर्चिएर ४ विकेट लिए । 

नेपालको यात्रा
नेपालले जारी सिरिजमा राम्रो शुरुआत गरेको थियो । सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । 

आफ्नो तेस्रो खेलमा नेपालले शुक्रबार अमेरिकासँग खेल्नेछ । अमेरिकासँग नेपालको दोस्रो खेल हुनेछ । 

ओमानसँग नेपालले आगामी आइतबार दोस्रो खेल खेल्नेछ ।

अंक तालिका

लिग–२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा यथावत् रहेको छ । नेपालले ६ खेलमा ६ अंक मात्र जोडेको छ ।

ओमान ११ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा यथावत् रहेको छ । 

अमेरिका १३ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ । 

स्कटल्याण्ड ८ खेलमा ९ अंक जोडेर तेस्रो, नामिबिया ७ खेलमा ८ अंक जोडेर चौथो, युएई ७ खेलमा ७ अंक जोडेर पाँचौं तथा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौंमा छ । 

पपुवा न्यूगिनी ८ खेलमा अंकविहीन हुँदै पुछारमा छ । 

 लिग–२ का शीर्ष तीन टिमले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्  । नेपालले थुप्रै खेल खेल्न बाँकी भए पनि अबको यात्रा झन् कठिन बनेको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ