arrow

कास्कीमा चार महिनापछि हट्यो लकडाउन

होटेल, रेष्टुरेन्ट, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझहरू पनि खुल्ने

logo
हरि पन्त,
प्रकाशित २०७८ भदौ ३० बुधबार
pokhara-2.jpg

पोखरा । कास्कीमा चार महिनापछि लकडाउन हटाइएको छ । गत वैशाख २१ गतेदेखि कास्कीमा लकडाउन शुरु भएको थियो ।लकडाउन हटेसँगै कास्कीमा विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत होटेल, रेष्टुरेन्ट, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझहरू पनि खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले एक विज्ञप्ति जारी गरी पछिल्ला दिनमा सङ्क्रमण दर, मृत्यु दर घट्दै गइरहेको भन्दै दैनिक क्रियाकलापहरू सञ्चालन गर्दा नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य तथा सुरक्षा मापदण्डहरूको अनिवार्य पालना गर्दै सञ्चालन गर्न अनुमति दिइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रकाशित कोभिड–१९ सङ्क्रमणको अवस्थामा शैक्षिक संस्था सञ्चालन गर्दा अपनाउनु पर्ने कार्यविधि अनुसार स्थानीय तहसँगको समन्वयमा पठनपाठन सञ्चालन गर्न सकिने छ भने होटेल रेष्टुरेन्टहरु पूर्ण सावधानी अपनाई बेलुका ११ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।’

यस्तै, नाचघर, क्लव, डान्सबार दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसायहरू पनि तोकिएको मापदण्ड पालना गरी राति १ः३० बजेसम्म सञ्चालन गर्न पाइनेछ । साथै सङ्क्रमणको दर बढ्दै गएमा जुनसुकै समयमा थप आदेश जारी हुने पनि जारी गरिने प्रशासनले जनाएको छ । 

कास्कीमा बुधवार साँझ ५ बजेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३४ हजार १८० जना पुगेको छ । साथै ३२ हजार ६९० जना निको भएका छन् । 

कास्कीमा हाल ९१७ जना सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ । कास्कीमा हालसम्म कोरोना संक्रमणबाट ५७३ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ