- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बुधबार राति आठ खेल भएका छन् । उक्त खेलमध्ये सबैभन्दा बहु प्रतिक्षित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को खेललाई महत्वका साथ हेरिएको थियो । किनकि पीएसजीबाट एकैपटक मैदानमा हेभिवेट खेलाडीहरु लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे उत्रिएका थिए ।
तर पीएसजीले बेल्जियन क्लब ब्रुग्ससंग १–१ गोलको बराबरीमा चित्त बुझाउँदै अंक बाँड्यो । ब्रुग्सको मैदानमा खेलमा अग्रता पीएसजीले नै लियो । आन्द्रे हेरेराले गोल गरे । एम्बाप्पेको पासलाई सदुपयोग गर्दै हेरेराले पीएसजीलाई अग्रता दिलाएका थिए ।
त्यसको १२ मिनेटपछि ब्रुग्सका लागि हन्स भानाकेनले बराबरी गोल फर्काए । च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यसहित स्पेनिश क्लब बार्सिलोना छाडेर आएका अर्जेन्टाइन छ पटकका बालोन डे’ओर विजेता मेस्सीलाई यसैसिजन आवद्ध गरेको पीएसजी पहिलो खेलमै बराबरीमा रोकिएको हो ।
मेस्सीले गोलका लागि प्रयास भने राम्रो गरेका थिए । दुर्भाग्य उनले प्रहार गरेको बल बारमा लागेर फर्किन पुग्यो । उनको पीएसजीको च्याम्पियन्स लिग डेब्युमा गोलले स्वागत गरेन ।
पीएसजी र ब्रुग्स रहेको समूह ए को अर्को खेलमा म्यान्चेस्टर सिटीले आरबी लेप्जिगलाई ६–३ गोल अन्तरले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन गाब्रिएल जिसस, क्यान्सेलो, ग्रेआलिस, महरेज र नाथन एकेले एक एक गोल गरे । नोर्दी मुकाइलेले भने आत्मघाती गोल गरेसँगै उपहार पाएको थियो ।
लेप्जिगका लागि क्रिस्टोफर कुन्कुले ह्याट्रिक गरेका थिए ।
समूह बीको खेलमा एथलेटिको मड्रिड र एफसी पोर्टोले गोलरहित बराबरी खेले । त्यस्तै अर्को हेभिवेट खेलमा लिभरपुलले एसी मिलानलाई ३–२ गोल अन्तरले हरायो ।
लिभरपुलको जितमा मोहम्मद सलाह र जोर्डन हेन्डरसनको एक एक गोल सामेल थियो । एक गोल टोमोरीले आत्मघाती गरेका थिए । सलाहको पेनाल्टी भने असफल भएको थियो ।
मिलानका लागि एन्टे रेबिक र ब्राहिम डियाजले एक एक गोल गरे ।
समूह सीको खेलमा आयाक्सले स्पोर्टिङ सीपीलाई ५–१ गोल अन्तरले हरायो । सेबास्तियन हालरले चार गोल गरे ।
त्यस्तै १३ पटकको च्याम्पियन रियाल मड्रिडले इन्टरमिलानमाथि १–० को जित निकाल्यो । रियालका लागि रोड्रिगोले निर्णायक गोल गरे ।