arrow

ओमान विरुद्ध नेपालको सहज जित, कसिलो बलिङको कमाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
Cricket-nepal-oman1.jpg

काठमाडौं। नेपालले आइसिसी पुरुष विश्व क्रिकेट लीग दुईमा ओमानलाई ७ विकेटले पराजित गरेको छ। नेपालले ओमानलाई पराजित गर्ने क्रममा कसिलो बलिङ गर्दै पहिले ब्याटिङ गरेको ओमानलाई सस्तैमा समेटेको थियो। टस जितेर बलिङ गरेको नेपालले ओमानलाई १ सय २१ रनको स्कोरमा समेट्ने क्रममा ३७.१ ओभर बलिङ गरेको थियो। 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले ४-४ विकेट लिएका थिए भने शरद भेषावकरले २ विके हात पारेका थिए। करणले ८ ओभरमा १ मेडन सहित २५ रन खर्चिँदै चार विकेट लिएका थिए। सन्दीपले ८.१ ओभरमा १८ रन खर्चिने क्रममा २ मेडेन फालेका थिए। शरदले ६ ओभरमा १ मेडेन सहित २१ रन खर्चेका थिए। ओमानका लागि कप्तान जेसान मकसुदले ४१ रन बनाएका थिए। 

नेपालले १ सय २२ रनको लक्ष्य पच्छ्याउने क्रममा तीन विकेट गुमाएको थियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले आउट नभई ५२ रन बनाएका थिए भने आशिफ शेखले ४४ रनको पारी खेलेका थिए। ज्ञानेन्द्रले ४६ बलमा २ छक्का र ४ चौकाको मदतले उक्त स्कोर बनाएका थिए। त्यसै गरी आशिफले ४४ बलमा ७ चौकाको मदतले उक्त रन बनाएका थिए।

प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले ६-६ रन बनाएर आउट भएका थिए। ओमानकालागि नेस्तोर धम्बाले २ विकेट लिएका थिए भने कालेमुल्लाहले १ विकेट लिएका थिए। 

प्रतियोगितामा नेपालले ४ खेलमा २ खेल जितेको छ भने २ खेलमा पराजित भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ