arrow

प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा बजेट प्रतिस्थापन विधेयक पारित, के होला एमालेको रणनीति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
parliament_of_nepal.png

काठमाडौं । गत भदौ २९ गतेदेखि स्थगित भएको प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । हठात एमालेको अवरोधका नाममा स्थगित गरिएको प्रतिनिधिसभा बैठक ६ दिनपछि बिहान ११ बजे बस्न लागेको हो । बजेट विधेयकसमेत पारित नगरी बैठक स्थगित गरिँदा भदौ ३१ गतेदेखि सरकारले सरकारी एक पैसा पनि खर्च गर्न पाएको छैन । 

त्यसयता शेरबहादुर देउवा नेतृत्वको सरकारको चर्को आलोचनामात्र भएन पहिलो पटक नेपालमा ‘बजेट होलिडे’ भयो । त्यसपछि अवरोध गर्दै आएको एमालेले दोष सरकारलाई लगायो । 

एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाहीको माग राखेर निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । उसले १४ जना कारबाही भएका सांसदहरु (जसले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरे) लाई संसदले पनि कारबाही नगरेसम्म संसद चल्न नदिने बताएका छन् । 

सोही कारणले गर्दा एमाले र कारबाही गर्न नपर्ने भनी संसद अगाडि बढाएका सभामुख अग्नि सापकोटाबीच सम्बन्ध चिसिएको छ । एमालेले सापकोटालाई नै कारबाही गर्नुपर्ने भनिरहेको छ । 

उसले कि त सांसदलाई कारबाही गरिएको सूचना टाँस गर्न वा नगर्ने भए पदबाट राजीनामा दिन माग गरेको छ । सहमति खोज्नका लागि सभामुखले बोलाएको सर्वदलीय बैठक नै एमालेले बहिस्कार गरेको थियो । 

सोमबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गरी विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको भए पनि एमालेले कसरी रणनीति बनाउँछ भन्ने बताएको छैन । 

संसद स्थगित भएपछिको बीचको समयमा कुनै छलफल नभएकाले यसरी नै संसद अगाडि बढ्छ भन्ने छैन । 

तर विभिन्न सूत्रहरुका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका शीर्ष तहका नेताहरु (अध्यक्ष केपी शर्मा ओलीसहित) सँग भने परामर्श गरेको बुझिएको छ । कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीलाई नै भेटेर सहमति खोज्ने प्रयास गरेका थिए । 

सत्ता गठबन्धन नै एकजुट हुन नसकेका कारणले पनि अन्योल बढेको बुझिन्छ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्नुपर्ने परिस्थितिले पनि गठबन्धनमा समस्या देखिएको बुझिन्छ । 

सोही कारणले अहिलेसम्म मन्त्रिपरिषद्समेत विस्तार हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ