- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेको निरन्तरको विरोधबीच प्रतिनिधि सभाको बैठक अगाडि बढाइएको छ । बिहान ११ः२० देखि शुरु भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बजेट विधेयकलाई अगाडि बढाएका छन् ।
उनले प्रमुख प्रतिपक्षी एमालेको विरोधबीच विधेयक प्रक्रिया अगाडि बढाएका हुन् । उनले नेमकिपाका सांसद प्रेम सुवाललाई १२ मिनेटको समय दिएर बोल्न दिएसँगै बैठकमा विधेयक अगाडि बढेको हो ।
तर एमालेले निरन्तर विरोधसहित नाराबाजी गरिरहेको छ । गत भदौ २९ गतेदेखि स्थगित भएको प्रतिनिधिसभाको बैठक सोमबार बसेको हो । हठात एमालेको अवरोधका नाममा स्थगित गरिएको प्रतिनिधिसभा बैठक ६ दिनपछि बसेको हो । बजेट विधेयकसमेत पारित नगरी बैठक स्थगित गरिँदा भदौ ३१ गतेदेखि सरकारले सरकारी एक पैसा पनि खर्च गर्न पाएको छैन ।
त्यसयता शेरबहादुर देउवा नेतृत्वको सरकारको चर्को आलोचनामात्र भएन पहिलो पटक नेपालमा ‘बजेट होलिडे’ भयो । त्यसपछि अवरोध गर्दै आएको एमालेले दोष सरकारलाई लगायो ।
एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाहीको माग राखेर निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । उसले १४ जना कारबाही भएका सांसदहरु (जसले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरे) लाई संसदले पनि कारबाही नगरेसम्म संसद चल्न नदिने बताएका छन् ।
सोही कारणले गर्दा एमाले र कारबाही गर्न नपर्ने भनी संसद अगाडि बढाएका सभामुख अग्नि सापकोटाबीच सम्बन्ध चिसिएको छ । एमालेले सापकोटालाई नै कारबाही गर्नुपर्ने भनिरहेको छ ।
उसले कि त सांसदलाई कारबाही गरिएको सूचना टाँस गर्न वा नगर्ने भए पदबाट राजीनामा दिन माग गरेको छ । सहमति खोज्नका लागि सभामुखले बोलाएको सर्वदलीय बैठक नै एमालेले बहिस्कार गरेको थियो ।
संसद स्थगित भएपछिको बीचको समयमा कुनै छलफल नभएकाले एमालेले पुरानै रणनीति अपनायो ।