- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माल्दिभ्समा हुने साफ च्याम्पियनशिप फुटबलको तयारीका लागि कतारमा प्रशिक्षणरत नेपालले ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा भने लज्जास्पद हार व्यहोरेको छ ।
दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई तथा फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरे ।
नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक एक गोल फर्काए । कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा २–१ को स्थितिमा रोक्न सफल भएको नेपालले दोस्रो हाफमा भने बिर्सनयोग्य खेल खेल्यो ।
हुनत ओमान फिफा वरियतामा ९० औं स्थानमा छ । तर नेपालले जसरी पहिलो हाफमा खेलेको थियो त्यही लय दोस्रो हाफमा पनि हासिल गर्न सकेको भए नतिजा अनुकुल हुने थियो ।
नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबारमात्रै किरण चेम्जोङको कप्तानीमा साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।
नेपालले साफको उद्घाटन खेलमा असोज १५ गते आयोजकसँगै खेल्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० गते खेल्नेछन् ।
अहिलेसम्म फाइनलमा नपुगेको नेपालले कतार जानुअघि भारतसँग घरेलु मैदानमा दुई वटा मैत्रिपूर्ण खेल खेलेको थियो ।