arrow

सभामुख एमाले सांसदहरूलाई सधैँ सम्झाउँछन् संविधानको धारा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
agni-sapakota-speaker1.jpg

काठमाडौं। प्रतिनिधिसभामा पछिल्लो समय सधैँ एकै दृश्य देखिने गर्छ । संसद्को कारबाही सुरु हुने बित्तिकै एमाले सांसदहरू वेल घेरेर नाराबाजी गर्छन् र सभामुख सांसदहरूलाई शान्त भएर सभा सुरु गर्न आग्रह गर्छन्। उनी बारम्बार आग्रह गरिरहन्छन् र एमाले सांसदहरू नाराबाजी। 

यसरी नै प्रतिनिधिसभा नवौँ अधिवेशनको आठौँ बैठकसम्मको समय बितिरहेको छ। सधैँ केही समय यसरी नै संसद् चल्छ र सभामुख अर्को मिति घोषणा गरी सभा स्थगित भएको घोषणा गर्दछन्। 

सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक सुचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सधैँ आग्रह गर्ने गरेका छन्।सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै वेलमा नारा लगाउन पुगेका एमालेका सांसदहरूलाई उनले आफू विरुद्ध लगाइएको मुद्दा अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै ती मुद्दाहरूमा प्रतिकूल हुने गरी सङ्घीय संसद्मा छलफल गर्न नमिल्ने कुरा पनि स्मरण गराए । उनले नवौँ अधिवेशनको पहिलो दिनदेखि एमाले सांसदहरूलाई संविधान सम्झाइरहन्छन् र एमाले सांसदहरू नारा लगाइरहन्छन्। 

उनले अति आवश्यक विधेयकहरू पारित गरेर जानुपर्ने भएकाले पनि संसद् बैठक अवरुद्ध पारिरहन नमिल्नेतर्फ पनि एमालेका सांसदहरूको ध्यानाकर्षण गराउँछन् । सभामुख सापकोटा भन्छन्, ‘नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरूमा न्याय निरूपणमा प्रतिकूल असर पर्ने विषयमाथि सङ्घीय संसद्को कुनै पनि सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मरण गराउन चाहन्छु । प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ग, घ का प्रावधानहरू हामीले सबैले पालना गर्नुपर्ने प्रावधानहरू हुन । उल्लेखित प्रावधानहरू पालनाका लागि पुनः अनुरोध गर्दछु ।’

माथिका वाक्यांश नवौँ अधिवेशनको पहिलो दिनदेखि दोहोरिने गरेका छन् तर एमाले सांसदहरू वास्ता गर्दैनन्। प्रतिनिधिसभाको प्रभाव राष्ट्रिय सभामा पनि परिरहेको छ। त्यहाँ पनि उही हाल छ । एमाले सांसदहरू आफ्नो सिटबाट उठेर बिरो ध गर्छन् र अध्यक्षले अर्को मिति तोकेर बैठक स्थगित गर्छन्। 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरूलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दा अदालतमा विचाराधीन रहेकाले न्याय निरूपणमा प्रतिकूल असर हुने गरी संसद्मा ती विषयमा छलफल गर्न लगाउन नमिल्ने सभामुख सापकोटाको तर्क रहेको छ ।

सभामुख सापकोटाले बैठक सुचारु गराउन गरेको आग्रहलाई एमालेका सांसदहरूलाई अस्वीकार गर्दै वेलमा नाराबाजी गरिरहन्छन् । 



नयाँ