सिद्धनाथ मन्दिर समितिको बदमासी : मन्दिरमा चढाएका घण्टी सस्तोमा बिक्री
भारतीय नागरिकलाई बेचेपछि घण्टी पुगे भाँडावर्तन पसलमा
ईश्वर दत्त बडू,
प्रकाशित २०७८ असोज ११ सोमबार
933
Shares
कञ्चनपुर । कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास समितिले सेटिङ्ग गरेर गैर कानुनी रुपमा भक्तजनले मन्दिरमा चढाईएका घण्टी सस्तो दरमा बिक्री वितरण गरेको खुलासा भ्रएको छ ।
भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिर विकास समितिले गैर कानुनी रुपमा मन्दिरमा चढाईएका घाटघण्टी कौडीका भरमा बिक्री वितरण गरेको खुलेको हो । मन्दिर विकास समितिले मन्दिरमा रहेका राम्रा तथा बिग्रीएको भन्दै बिना सूचना, प्रकृया मिचेर एक भारतीय नागरिक मार्फत महेन्द्रनगरको न्यू ठकुराठी ब्रदर्श भाँडावर्तन पसलमा बिक्रि गरेको खुलेको छ ।
लाखौँ मुल्य पर्ने काँस, पित्तल, धातुले बनेका घाटघण्टी कौडीका भाउमा बिक्रि गरेका छन । मन्दिर समितिले टुटफुट भनेपछि राम्रा राम्रा घण्टीलाई बिक्रि गरेको छ । लिलाम गर्नुपर्ने कबार्ड भएपनि एकै मिति २१ भदौँ ०७८ मा तीन जना भारतीयले बिना प्रमाण कोटेशन खरिद गरेको नक्कली कागजात खडा गरेका छन । भीमदत्त नगरपालिका ३ भाँसी निवासी देखाएर तीन भारतीय नागरिकलाई देखाईएको छ । गुड्डु अन्सासी,ईरसाद अन्सारी लगायत तीन जना भारतीय नक्कली नागरिकलाई खडा गरेर विक्रि गरेको पाईएको छ ।
२१ साउन ०७८ मा मन्दिर समितिका सचिव पुष्कर राज उप्रेती नेतृत्वको उप समितिले गुड्डी अन्सारीलाई साना खालका सफा घाटघण्टी प्रतिक्विन्टल ६ सयका दरले ५० किलोको ३० हजार, टुटफुट तथा अन्य घण्टीहरु प्रतिक्विन्टल ५ सयका दरले ६ सय ७० किलोग्रामको ३ लाख, ३५ हजार, रालाप्रति क्विन्विन्टल ६ किलो कट्टा हुने गरि ३० रुपैयाका दरमा ४७किलोग्रामको हुन आउने एक हजार १० रुपैयाका दरले जम्मा ३लाख ६६ हजार, ४ सय १०रुपैयामा बिक्रि गरेको जनाएको छ ।
घाटघण्टी खरिददाता अन्सारीसंग नगद रुपैया लिएर समितिका सचिव पुष्कर राज उप्रेतीले आफैले बैंक दाखिला गरेका छन । यसरी लिलाम बाफतको रकम एकै पटक बैकमा जम्मा गर्नुपर्ने भएपनि दुई पटक गरिएको पाईएको छ । २४ भदौँ ०७८ मा एक लाख ८० हजार, ३ सय र २९ भदौँ ०७८ मा एक लाख ८६ हजार १ सय १० रुपैया जम्मा गरेको पाईएको छ । ति दुवैको गोश्वरा भौचर १असोज ०७८ मा ३ लाख, ६६ हजार, ४ सय १० रुपैयामा जम्मा गरेको पाईएको छ । बैंक भौचर र गोश्वरा भौचर फरक फरक मितिमा भरेर समेत गल्ती लुकाउन खोजिएको छ ।
१५ पुष ०७७ मा सिद्धनाथ मन्दिर विकास समितिका अध्यक्ष हिक्मत भण्डारीको अध्यक्षतामा बसेको १५ औँ बार्षिक साधारण सभामा १ देखि ६ नम्बर राखिएको छ । प्रस्ताव १, २, ३, ४ र ४ पछि सिधै ५नम्बर प्रस्ताव राखिएका छन । १ सचिवको प्रतिवेदन, २ कोषाध्यक्षको प्रतिवेदन, ३ शिवमन्दिर निर्माण, ४, विधान संशोधन, ६ कार्य समितिको निर्वाचन सम्बन्धनमा प्रस्ताव राखिएको छ । तर ५ नम्बर प्रस्ताव नै छैन ।
६ कार्य समितिको निर्वाचन सम्बन्धमा राखिएको प्रस्तावमा निर्णय नम्बर ६ राखेर साधारण सभामा उठेको छलफल र सुझाव अनुसार मन्दिर भित्र चढेका पुराना त्रिशुल, टुटाफुटा साना ठूला घाटघण्टी समेत लिलाम प्रकृयामा अनुसार बिक्रि गरि मन्दिर भित्र नै बन्ने अन्य मूर्ति ठूला घाट आदि समाग्री निर्माणमा लगानी गर्ने निर्णय गरिएको छ । प्रस्ताव बिनै गरिएको निर्णयले समितिको नियतमाथि शंका उब्जाएको छ । उक्त निर्णय बेचेपछि मात्रै राखिएको देखिन्छ ।
साधारण सभामा समेत बहुसंख्यक उपस्थिति बिनै निर्णय गरेको छ । गरिएको निर्णय अनुरुप पनि सार्वजनिक सूचनादेखि अन्य प्रकृयाबिनै सिधै भारतीय नागरिकलाई बिचमा देखाएर पसलमा कौडीको भाउमा बेचेको पाईन्छ । साधारण सभाबाट पारित गरिएको निर्णय सुचना प्रकासित बिनै ९ महिनापछि कोटेशन निवेदन माग गरिएको छ ।
२ साउन ०७८ मा मन्दिर समितिका अध्यक्ष हिक्मत सिह भण्डारीकै अध्यक्षतामा बसेको बैठकले पाँच प्रस्ताव अघि सारेको पाईन्छ । मन्दिर समितिले ९ सय ७६ किलो घाटघण्टी ३ लाख, ६६ हजार ४ सय १० रुपैयामा बेचेको अन्सारीले न्यू ठकुराठी ब्रदर्शले उक्त परिमाण भन्दा कम ७ सय ६७ किलोग्राम ५ लाख, ३६ हजार, ९ सयमा बेचेको पाईएको छ । शनिबार प्रहरीले ठकुराठी बद्रर्शको गोदामबाट मन्दिरका घाटघण्टी बरामद गरेपछि मन्दिर समितिले हरेक बर्ष यसरी दर्शनार्थीले चढाएको घाटघण्टी बेच्दै आएको रहस्य खुलेको छ ।
कुनै दर्शनार्थी, झक्तजनले आस्थामा रुपमा चढाईएका घाट,घण्टी त्रिशुली कौडीको भाउमा बेच्ने धर्म र आस्थामाथि प्रहार गर्ने काम भएको भन्दै दर्शनार्थीहरुले चर्को बिरोध गरेका छन् । धर्ममाथि प्रहार आर्थिक रुपमा अनियमितता भएको भन्दै स्थानीयको कार्बाहीको माग अघि सारेका छन । सिद्धनाथ मन्दिर विकास समितिका सचिव पुष्करराज उप्रेतीले प्रकृया गलत भएपनि मन्दिरको सम्पती मन्दिरकै लागि प्रयोग गर्ने हिसाबले बेचेको बताए ।
सिद्धनाथ मन्दिर विकास समितिका अध्यक्ष हिम्मत सिह भण्डारीले साधारण सभा र निर्णय गरेर बेचेको बताउदै उनले आफुले व्यक्तिगत कमाउन नभई मन्दिरकै हितका लागि भएको बताए । अध्यक्ष भण्डारीले विधान अनुरुप बेचबिखन हुने गरेको र पशुपतिमा समेत बिक्री हुँदै आएको बताए । मन्दिर समितिका साधारण सदस्यले नै सबैको जानकारी बिनै गरिएका निर्णय किर्ते भएको बताउँदै आएपनि अध्यक्ष सचिवले काम गर्दै जाँदा समान्य त्रुटि भएको बताउँछन् ।
मन्दिरका घाटघण्टी खरिद गरेका न्यू ठकुराठी ब्रर्दशका संचालक पदम ठकुराठीले गुड्डु अन्सारीबाट खरिद गरेको बताए । मन्दिर समितिसंगै सल्लाह गरेर खरिद गरेको उनले बताए । आफुले कभाडमा बेच्नका लागि खरिद गरेको उनले बताए ।
भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले मन्दिर समितिले गलत गरेको बताए । ‘प्रकृया बिनै बेचेका छन, ‘उनले भने, ‘अर्कातिर धार्मिक आस्थामाथि प्रहार भएको छ, जनताले चढाएका मूर्ति, घाटघण्टी, त्रिशुल बषौँ बर्ष संरक्षणको साटो बेच्ने कार्य राम्रो होईन ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले मन्दिरका पुराना घाटघण्टीलाई न्यू ठकुराठी ब्रर्दश भाडावर्तन पसलबाट बरामद गरिएको बताए । उनले उक्त पुराना घाटघण्टीलाई पसलले चम्काएर नयाँ बनाएर बेच्ने प्रयोजनका लागि पेन्टिङ गरिरहेको अवस्थामा बरामद गरिएको बताए ।
सिद्धनाथ मन्दिर विकास समितिभित्र यसरी घाटघण्टी बिक्री वितरणमा भएको बदमासी र आर्थिक अनियमिता गतिलो उदाहरण बनेको छ । धर्मका नाममा राजनीतिक र आर्थिक लाभमा लिप्त भएको स्थानीयको बुझाई छ ।