- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इङ्गलिश क्लब म्यानचेस्टर सिटीलाई हराएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई जित दिलाउन मेस्सी र इद्रिसा गुइएले एक् एक गोल गरे ।
घरेलु मैदानमा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ७४ औं मिनेटमा केलियन एमबाप्पेको पासमा मेसीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए ।
यसै सिजन स्पेनिश क्लब बार्सिलोनाबाट पीएसजी आएका मेस्सीले पीएसजीका लागि पहिलो गोल गर्न सफल भएका छन् ।
यस जितसँगै समूह ए को पीएसजी २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा क्लब ब्रुगले आरबी लेप्जिगलाई २–१ गोल अन्तरले हराउँदै ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।
लेप्जिग अंकविहीन छ ।