नेपाल-भारत जोड्ने ब्याँसको झोलुङ्गे पुल निर्माण तत्काल सुरु गराउन माग
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
989
Shares
दार्चुला । दार्चुलाको उत्तरी क्षेत्र ब्याँस गाउँपालिकामा निर्माण भइरहेका नेपाल-भारत जोड्ने झोलुङ्गे पुलहरुको निर्माण कार्य तत्काल सुरु गराउन नेपाली काँग्रेस ब्याँस गाउँपालिकाले माग गरेको छ । ठेक्का भएर पनि काम हुन नसकेका झोलुङ्गे पुलहरुको निर्माण कार्य तत्काल सुरु गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन पत्र बुझाइएको छ ।
बुधवार नेपाली काँग्रेस ब्याँस गाउँपालिका सभापति नरेन्द्र दत्त भट्टले प्रजिअ जोशीलाई ब्याँसका २ सीमापुलहरुको निर्माण कार्य गर्न ठेकेदार र कम्पनीलाई निर्देशन दिन ज्ञापन मार्फत माग गरेका हुन् ।नेपाल सरकारको तुइन विस्थापन कार्यक्रम अन्तर्गत २०७६ सालमा ब्याँस गाउँपालिकामा उद्घाटन भएका वडा नम्बर ४ स्थित मलघट्टे र वडा नम्बर २ मालस्थित झोलुङ्गे पुल निर्माण हुन सकेका छैनन् । यी पुल निर्माणको ठेक्का पाएको खाम्पाछे-रुविना जेभिले समयमा काम नगर्दा ब्याँस-२ का युवक जयसिंह धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएको ज्ञापनमा जनाइएको छ ।
ज्ञापनमा भनिएको छ - “समयमै पुल निर्माण नहुदा ब्याँस गाउँपालिका वडा नम्बर २, ३ र ४ का स्थानीयहरु तुईनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । माल र मलघट्टेको झोलुङ्गेपुल निर्माणको जिम्मेवारी पाएको खम्पाछे-रुविना जे.भिले समयमा पुल निर्माण नगर्दा ब्याँस-२ का जयसिह धामीले तुईन तर्ने क्रममा अकालमै ज्यान गुमाउनु पर्यो । २०७८-४-२८ गते सस्पेन्सन वृज डिभिजनले पुल निर्माणको जिम्मेवारी पाएको खम्पाछे-रुविना जे.भिका प्रतिनिधिलाई बोलाएर २०७८ पौष मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गरिसक्ने भन्ने निर्देशन दिए पनि हालसम्म पुल निर्माणको काम सुरु गरेको छैन् । हालसम्म पुल निर्माणको काम सुरु नगर्दा पौष मसान्तसम्म पुल बनिसक्ने सम्भावना हुँदैन त्यसकारण पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीलाई पुल निर्माणको काम तत्काल सुचारु गरि पौष मसान्तसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिई ब्याँसबासी जनताले पुलबाटै आवतजावत गर्ने जनचाहना पुरा गरिदिन हुन अनुरोध गर्दछौ ।”
०७६ मै ठेक्का भएको वडा नम्बर ६ बडूगाउँको नेपाल-भारत जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेपनि मालघाट र मलघट्टेका पुलको निर्माण कार्य भने सुरु हुन सकेको छैन् । गत साउन १५ गते महाकाली नदीमाथि तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइनका लठ्ठा फुस्काइदिदा नेपाली युवा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।
सो घटनापछि साउन १७ गते गृहमन्त्री बालकृष्ण खाँणले तुइन तत्काल हटाएर झोलुङ्गे निर्माण कार्यलाई तीब्रता दिन निर्देशन दिएका थिए । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तुइनमुक्त घोषणा गरेका थिए । महाकाली नदीमाथि पुल नहुदा ब्याँसबासी तुइनकै प्रयोग गरी भारतीय बाटो हुदै जिल्ला सदरमुकाम खलंगा आउजाउ गर्छन् ।