arrow

भारत सरकारको सहयोगमा ६ वटा विद्यालयको पुनर्निर्माण, स्वास्थ्य केन्द्र पुनर्निर्माण धमाधम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
india-reconstruction-kavre.jpg

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोकमा सञ्चालित सातवटा पुनर्निर्माण परियोजना अन्तर्गतका विद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव र काभ्रेपलाञ्चोक-२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक-१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर तामाङ्ग तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माले भवनहरुको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत ६ वटा विद्यालयहरु कूल नेपाली रुपैंयाँ १९.७ करोड लागतमा निर्माण भएको हो । उक्त कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (काभ्रेपलाञ्चोक), बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप आजाद माध्यमिक विद्यालय (बनेपा), भगवती माध्यमिक विद्यालय (पाँचखाल), आजाद माध्यमिक विद्यालय (पाँचखाल), दुग्धेश्वर माध्यमिक विद्यालय (पाँचखाल), शारदा माध्यमिक विद्यालय (पनौती) र खाँडादेवी माध्यमिक विद्यालय (चौरी देउराली) गरी ६ वटा विद्यालयहरुको निर्माण सम्पन्न भएको हो ।

नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुयाएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको हो । यी विद्यालयहरु पनि यसै योजना अन्तर्गत निर्माण भएका हुन्। यसरी लाभान्वित हुने आठ जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौं रहेका छन् । हालसम्म १४ वटा विद्यालयहरुको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ ।

कार्यक्रममा श्रीवास्तवले यी ६ वटा विद्यालयहरुले नेपाली जनताको साहस र क्षमतालाई उत्कृष्ट तवरले दर्शाएको र नेपालको एक भरपर्दो विकास साझेदार हुन पाउँदा भारतलाई निकै गर्व लागेको बताए ।

सोही दिन काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खोपासी प्राथमिक उपचार केन्द्रको भूमि पूजन कार्यक्रम पनि गरिएको छ । स्वास्थ्य क्षेत्रमा १३२ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

उक्त स्वास्थ्य चौकी पनि यसैको हिस्साको रुपमा रहेको छ । नेपाली रुपैंयाँ ७ं.५ करोडमा उक्त प्राथमिक उपचार केन्द्रको पुनर्निर्माण हुन लागेको हो । यस उपचार केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका करिब १५ हजार मानिसलाई आपतकालीन, मातृ तथा शिशु स्वास्थ्य र अन्य चिकित्सा सेवाहरु प्रदान गर्नेछ ।

नेपालमा आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि आवासको क्षेत्रमा गोरखा र नुवाकोट जिल्लामा ५०,००० घरहरु, शिक्षाको क्षेत्रमा ७० वटा विद्यालय र एउटा पुस्तकालय, स्वास्थ्यको क्षेत्रमा १३२ वटा स्वास्थ्य भवन, र सांस्कृतिक सम्पदाको क्षेत्रमा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापनारप्रबलीकरण कार्य भारतको आर्थिक सहयोगमा सञ्चालन भइरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ