arrow

एनआरएनए अध्यक्षमा कुल आचार्यलाई जिताउन कांग्रेस र माओवादी केन्द्रको सर्कुलर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
kul_acharya_keshab_poudel.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न १०औं विश्व सम्मेलन थप रोचक बन्ने देखिएको छ । सत्तारुढ गठबन्धन आबद्ध दलहरुले प्रवासस्थित आफ्ना भातृ र शुभेच्छुक संगठनहरुलाई आन्तरिक सर्कुलर गरेर गठबन्धन समर्थित उम्मेदवारलाई विजयी गराउन निर्देशन दिएका छन् ।

विशेष गरी नेपाली कांग्रेस र माओवादी केन्द्रले यही अक्टोबर २० तारिखदेखि तीन दिनसम्म चल्ने एनआरएनएको चुनावलाई लिएर खुलेरै परिपत्र जारी गरेका हुन् । तर उक्त परिपत्रको केही एनआरएनए अभियन्ताहरुले विरोध जनाएका छन् ।

अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा कांग्रेस र माओवादीले खुलेरै परिपत्र जारी गरेपछि एआरएनए भित्र हलचल मच्चाएको छ । ती पार्टीहरुले लोकतान्त्रिक धारका आचार्यको प्यानललाई विजयी गराउन आग्रह गरेका छन् । जसका कारण चुनावी माहोल तातेको छ । एनआरएनएमा आचार्यसँगै डा.बद्री केसी र रविना थापा चुनावी मैदानमा छन् । डा.केसीले चुनावी प्यानलनै घोषणा गरिसकेका छन् ।

नेपालमा भएको सत्ता गठबन्धनअनुसार नै एनआरएनएमा पनि गठबन्धन गर्नुपर्ने नीतिका साथ कांग्रेस र माओवादी एक ठाउँमा उभिँदै आन्तरिक सर्कुलर गरेर चुनाव आफू अनुकुल बनाउने योजनामा देखिएका छन । यो भन्दा पहिले नेपाली कांग्रेस केन्द्रीय कार्यालयले असोज १५ गते नै विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकलाई आन्तरिक सर्कुलर पठाएर लोकतन्त्रवादी समूहलाई विजयी गराउन परिपत्र जारी गरेको थियो ।

लोकतन्त्रवादी समूहलाई विजयी गराउन तथा आवश्यक समन्वय गर्नका लागि कांग्रेसका तर्फबाट गठित पूर्णबहादुर खड्का नेतृत्वको समितिको बैठकको निर्णयअनुसार सर्कुलर गरिएको छ । सो सर्कुलरमा आचार्य नेतृत्वको प्यानललाई जिताउन आ-आफ्नो देशभित्र रहेका साथीहरुसँग आवश्यक समन्वय र सहयोग गर्नका लागि अपिल समेत गरिएको छ । साथै युरोप, एसिया, अमेरिका, अफ्रिका, मध्यपूर्व र ओशिनिया क्षेत्रका देशहरुमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्नका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिईएको छ ।

युरोप क्षेत्रका लागि प्रकाशशरण महत र गगन थापा, एशिया क्षेत्रका लागि अर्जुन नरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रका लागि मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व क्षेत्रका लागि गोविन्द भट्टराई र विश्वप्रकाश शर्मा, ओसेनिया क्षेत्रका लागि सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णयले पनि नेपालकै सरकारमा जसरी गठबन्धन बनाएर एनआरएनएमा कुल आचार्य समूहलाई जिताउन प्रवासका कमिटीहरूलाई आन्तरिक सर्कुलर गरेको छ । नेकपा माओवादी केन्द्रको असोज ६ गते बसेको स्थायी कमिटीको बैठकको निर्णय अनुसार माओवादीको प्रवास समन्वय कमिटीलाई सो आन्तरिक सर्कुलर जारी गरेको थियो ।

सोहीअनुसार विदेशमा रहेका माओवादी निकट नेपाली जनप्रगतिशील मन्चहरुले उम्मेदवार तय गर्नेदेखि आचार्यको पक्षमा माहोल बनाउनेसम्मका अभियान गरिरहेका छन । माओवादी अध्यक्ष प्रचण्डले असोज ७ गते प्रवास सम्पर्क समन्वय समितिका इन्चार्ज नारायणकाजी श्रेष्ठलाई यसबारे आवश्यक निर्देशन समेत दिएका थिए ।

प्रचण्डले ‘एनआरएनएको सम्मेलनलाई विधिसम्मत र उद्देश्यमूलक ढंगले सफल पार्न प्रवास समन्वय समिति र त्यसमार्फत संगठनहरुले सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन । यसको नेतृत्व निर्माणको सन्दर्भमा वर्तमान सरकारमा रहेका राजनैतिक दलहरूको गठबन्धनसँगको एकता र सहकार्यको नीति लिइएको जनाईएको छ ।

पार्टी केन्द्रसँगको समन्वयमा यसबारेमा ठोस निर्णय लिने जिम्मेवारी प्रवास समन्वय समितिलाई दिइएको बताइएको छ । माओवादीले संघको भूमिका एवं महत्वलाई दृष्टिगत गरी सदस्य बन्न योग्यता पुगेका संगठनका सदस्यहरुलाई एनआरएनएको सदस्य लिन पनि अनुरोध गरेको छ ।

एनआरएनएमा आधिकारिक रुपमा दलीय प्यानल बनाएर चुनाव लड्न नपाइने व्यवस्था भएपनि राजनीतिक प्रभाव भने हरेक निर्बाचनमा हावी हुने गरेको छ । आचार्यका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका डा.केसी भने एमालेको उम्मेदवारका रुपमा प्रचार गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले केसीको प्यानललाई समर्थन गरेको बताइए पनि आधिकारिक रुपमा पार्टीले धारणा सार्वजनिक गरेको छैन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ