arrow

४४ जिल्लामा सकियो राप्रपा अधिवेशन

केन्द्रीय अध्यक्षमा कमल थापादेखि धवलशमशेरसम्मको दाबी : महाधिवेशनपछि केन्द्रीय अध्यक्ष एक जना मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
Raprapa-3leader.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनको प्रक्रियामा छ । आगामी २७ देखि ३० कात्तिकसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले अहिले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ ।

शनिबारसम्म राप्रपाले ४४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । जिल्ला अधिवेशनबाट छानिने प्रतिनिधिहरुको नतिजापछि राप्रपाका केन्द्रीय तहमा उठ्ने नेताहरु उम्मेदवारी घोषणा गर्दै खुल्ने तयारीमा छन् ।

महाधिवेशनबाट पार्टीको नेतृत्वका लागि हालका तीन अध्यक्षहरू कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाका साथै युवा पुस्ताबाट राजेन्द्र लिङदेन र डा. धवलशमशेर राणा दौडमा छन् ।

राप्रपा एकीकरणपछि राप्रपामा तीन जना अध्यक्ष रहँदै आएकोमा अब महाधिवेशनपछि भने विधान अनुसार एक जना मात्रै अध्यक्ष रहनेछन् ।

राप्रपाले भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सक्ने गरी यसअघि कार्यतालिका सार्वजनिक गरेको भए पनि तोकिएको समयमा अधिवेशन सम्पन्न हुन नसकेपछि २० असोजसम्म समय थप गरेको थियो । यस्तै सक्रिय सदस्यता वितरण गर्ने म्याद २५ असोजसम्म थप गरिएको छ ।

राप्रपा नेता मोहन श्रेष्ठले महाधिवेशनका लागि हालसम्म ४४ जिल्लाको अधिवेशन सम्पन्न भएको जानकारी दिए । उनले २० असोज भित्र सबै जिल्लाको अधिवेशन सकिनेसमेत बताए ।

राप्रपाको संशोधित विधानअनुसार प्रतिनिधि चयनका साथै संगठनात्मक संरचना फरक खालको भएकाले वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सकेर अहिले जिल्ला अधिवेशन भइरहेको हो ।

राप्रपाले यसपटक महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यताको आधारमा छनोट गर्दै छ । महाधिवेशनमा गाउँपालिका, नगर, प्रदेश सभा क्षेत्र, संघीय क्षेत्र र जिल्ला अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेगरी विधानमा व्यवस्था गरिएको छ ।

विगतमा महाधिवेशन प्रतिनिधिबाट नेतृत्व चयन हुँदै आएकोमा यस पटकदेखि राप्रपाले सक्रिय सदस्यमार्फत नेतृत्व चयन गर्ने भएको हो । जसअनुसार राप्रपाले देशभरिका सक्रिय सदस्यमार्फत ४५ सय हाराहारीका महाधिवेशन प्रतिनिधिबाट नेतृत्व चयन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ