arrow

एनआरएनमा १० लाख सदस्य बनाउने र सबैलाई मताधिकारको व्यवस्था गर्ने डा.केसीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
badri-kcc2.jpg

काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)को अध्यक्षका प्रत्यासी डा.बद्री केसीले आसन्न महाधिवेशनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उनले ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ नारासहित आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका हुन् ।

१९ बर्ष एनआरएनएमा काम गरेको अनुभव रहेको र निरन्तर प्रवासी नेपालीहरुको पक्षमा काम गरेकाले आफू भावी अध्यक्षमा योग्य भएकाले उम्मेदवारी दिने तयारी गरेको उनले बताए ।

‘गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनमा हामीले गरेको प्रतिबद्धताअनुरुप अघि सारेका संघको पुनर्संरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शितालगायतका कार्यको जग स्थापना भइसकेको छ,‘  प्रतिबद्धता घोषणा कार्यक्रममा केसीले भने, ‘संघको अभियानमा देखिएका कयौं चुनौतीका बीच विश्वभरिका धेरै एनआरएनए साथीहरुसँगको घनीभूत अन्तरक्रियापछि १०औं महाधिवेशन तथा विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’उनले भने ।

आगामी दिनमा संघमा सदस्य संख्या १० लाख पुर्याउने र सदस्यता शुल्क नलिने उनले बताए । हाल विश्वका ८४ देशमा १ लाख ३६ हजार सदस्य रहे पनि मताधिकार ३६ सयमा सिमित हुनु परेकाले आगामी दिनमा सबै सदस्यलाई केन्द्रीय नेतृत्व चयन गर्न मताधिकारको व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाए । क‍ेसीले नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापित एनआरएनए डेभलपमेन्ट फण्डलाई अगाडी बढाएर त्यसमा वैदेशिक रोजगारीमा गएका श्रमिकलाई पनि समेट्ने बताए ।

उनले नेपालमा लगानी क्षेत्रको पहिचान गरी सुरक्षित लगानी प्रवर्द्धनका लागि नेपाल सरकारको संघदेखि प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने, रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्ने, गैह्र आवासीय नेपाली र वैदेशिक लगानी आकर्षित गर्न दोहोरो कर छुट सम्बन्धि सम्झौता गर्न सरकारसँग पहल गर्ने लगायत विषय आफ्नो प्रतिबद्धता पत्रमा समेटेका छन्।

डा.केसीले नेपाल सरकारले संविधानमा व्यवस्था गरेका तर कार्यान्वयनमा आउन बाँकी गैरआवासीय नागरिकता लगायका अन्य व्यवस्थालाई कार्यान्वयनमा ल्याउन परिणाममुखी पहल गर्ने पनि प्रतिबद्धता जाहेर गरे ।  विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहित विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गर्ने, गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाका लागि कानुनी व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले हालसम्म भएका सबै निर्वाचनमा आफू सफल भएकाले आगामी दिनमा अध्यक्षमा पनि सफल हुने विश्वास ब्यक्त गरे । यसअघि एनआरएनएको अध्यक्षका लागि कुल आचार्यले भब्य समारोहबीच आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रतिबद्धताहरु सार्वजनिक गरिसकेका छन् । त्यस्तै रविना थापाले अध्यक्षका लागि तयारी गरिरहेकी छिन् । आगामी २३–२५ अक्टोबरमा काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ