- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिश क्लब बार्सिलोनाका मिडफिल्डर गाभी स्पेनिश राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । आफ्नो नाममा रेकर्ड राख्ने क्रममा उनी निकै नै महत्वपूर्ण खेलमा स्पेनको टोलीबाट डेब्यु गर्न पुगेका छन् ।
युएफा नेसन्स लिग फुटबलको सेमिफाइनलमा खेल्ने अवसर पाएका गाभीले इटालीविरुद्ध खेलेका हुन् । सान सिरोको मैदानमा बुधबार राति उत्रँदा उनी १७ वर्ष ६२ दिनका थिए ।
उनले ९ नम्बरको जर्सी लगाएर मैदानमा आफ्नो प्रदर्शन गरेका हुन् । उनले प्रशिक्षक लुइस इन्रिकेलाई कुनै निराश नपारेको जनाइएको छ ।
यसअघि यो रेकर्ड १७ वर्ष २८२ दिनमा डेब्यु गरेका एन्जेल जुबेटाको नाममा थियो । उनले सन् १९३६ मा यो रेकर्ड राखेका थिए ।
स्पेन पुग्यो फाइनलमा
यता स्पेन युएफा नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित र्इटालीलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।
स्पेनलाई जिताउन दुवै गोल फेरान टोरेसले दुई गोल गरे । इटालीका लोरेन्जो पेल्लिग्रिनीले एक गोल फर्काए ।
४२ औं मिनेटमा लियोनार्दो बोनुचीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इटाली १० खेलाडीमा समेटिएको थियो ।
तोडियो इटालीको रेकर्ड
स्पेनसँग पराजित भएसँगै इटालीको कीर्तिमानी जितको रेकर्ड पनि तोडिएको छ ।
इटाली लगातार ३७ खेलमा अपराजित रहँदै आएको थियो ।
सन् २०१८ को विश्वकपमा छानिन असफल भएपछि त्यसयताका खेलमा इटाली अपराजित रहँदै आएको थियो ।
त्यो यात्रालाई स्पेनले तोडिदिएको छ ।
स्पेनले नेसन्न लिगको फाइनलमा बेल्जियम र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।