- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। सत्ता गठबन्धन आबद्ध दलहरूबिच मन्त्रालय भागबन्डा टुङ्गो लागेको छ । गठबन्धन आबद्ध दलहरूका बिचमा भएको नयाँ सहमति अनुसार काँग्रेसको भाग बढेको छ भने माओवादी केन्द्रको भाग यथावत् रहँदै नेकपा एकीकृत समाजवादी र जसपाको भाग घटेको छ ।
नेकपा एसलाई प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री दिने सहमति पनि बनेको छ । यस्तै जसपालाई प्रतिनिधि सभामा उपसभामुख दिने सहमति गठबन्धन आबद्ध चार दल बिच बनेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको सत्ता गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि मन्त्रालय बाँडफाँडमा नयाँ सहमति बनेको हो । यो सहमतिसँगै मन्त्रीपरिषद्ले भोलि शुक्रवार पूर्णता पाउने भएको छ ।
सहमतिअनुसार काँग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने छ । माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा एसले ४ मन्त्री र एक राज्यमन्त्री तथा जसपाले ४ मन्त्री पाउने भएका छन् ।
यसअघि गत मङ्गलवार भने काँग्रेसले ७, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पाँच-पाँच मन्त्री र एक-एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले मन्त्रीको सङ्ख्यामा सहमति जुटेको र शुक्रवार शपथका लागि तयारी भइरहेको जानकारी दिए ।
‘मन्त्री कसले कति लिने भन्ने विषयमा सहमति बन्यो, शुक्रवार शपथ गर्ने गरी तयारी भएको छ, सबै दलबाट मन्त्रीको नाम शुक्रवार बिहान टुङ्गाएर साँझ शपथ हुन्छ,’प्रधानमन्त्री देउवाका स्वकीय सचिव देउवाले भने ।