- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
प्रचण्ड आफूलाई भावुक र संवेदनशील भएको स्वीकार गर्छन् । यदाकदा सार्वजनिक मञ्चमा भक्कानिँदै आँसु पनि झार्छन् । जनयुद्ध ताका एक कार्यक्रममा प्रचण्ड रोएको दृश्य धेरै अघि भाइरल भएको थियो । नेताले आँसु झार्नु हुँदैन र सार्वजनिक रूपमा रुनु हाँस्नु हुँदैन भन्ने थाहा पाएर पनि प्रचण्ड भावुक बन्दै रोएका छन् । उनको यो शैलीलाई धेरैले नौटङ्कीको संज्ञा पनि दिएका थिए भने पछिल्लो पटक आफ्नो एक मात्र जवान छोराको मृत्यु हुँदा पशुपति आर्यघाटमा प्रचण्ड सार्वजनिक रूपमा बेस्सरी रोएर आफू पनि एक सामान्य मान्छे भएको जनाउ दिएका थिए ।
प्रचण्ड पनि यही माटोका यही सामाजिक र भौतिक वातावरणका उत्पादन हुन् । वियोग र वेदनामा रुने खुसी हुँदा हाँस्ने आश्चर्यमा पुलकित बन्ने छुट र अधिकार उनलाई पनि छ आम मान्छेको झैँ शारीरिक अवयव नेताहरूको पनि हुन्छ सार्वजनिक व्यक्तिहरूको पनि हुन्छ। हाम्रा रोदन,चित्कार,खुसी,हाँसो सबै देख्न सुन्नको लागि हो, होइन भने ध्वनि भावभङ्गी र भाषा सङ्केत अनि स्पर्श प्रकृतिको रचना भित्र पर्दैनथ्यो यसर्थ एक मान्छेको रूपमा दुखमा आँसु झारेर रुने र सुखमा हाँस्ने स्वतन्त्रताबाट प्रचण्ड विमुख हुन सक्दैनन् ।
आज म प्रचण्ड बारे नकारात्मक कुरा गर्न चाहन्न बरु उनी पनि हाम्रो यही समाज र सामाजिक, धार्मिक र सांस्कृतिक परिवेश र मनोविज्ञानका उपज हुन् तसर्थ उनी अरू मान्छे भन्दा फरक छैनन् भन्ने तर्क र उदाहरण पेस गर्न गइरहेको छु । प्रचण्डले जुन आवेग लहड र जोसमा जनयुद्धको आँधीबेहरी सिर्जना गरे त्यो नेपाली जनतामा रहेको निराशालाई च्यापेर आशाको उज्यालो खोज्न गरिएको सङ्घर्ष र युद्ध थियो । त्यो जनयुद्ध थियो या राजनीति प्रेरित हत्या त्यसको बारे प्रशस्त बहस छ र हुँदै छ । प्रचण्डहरूले जुन सपना र आसा देखाएर जनयुद्धको थालनी गरे त्यसमा आम मान्छे बत्तीको पुतली झैँ बने त्यो आकर्षण र त्यो बलिदानमा त्याग र निष्ठामा सुनौलो नेपालको सपना थिएन भनेर बुझियो भने जनयुद्ध बुझ्न बुझाउन कमजोरी हुनेछ ।
शोषण र विभेदरहित समाजको निर्माण, सबैको बराबरी हुने हक,जन्म श्रेष्ठता र वंश परम्परा भन्दा कर्म श्रेष्ठताको आधारमा काम र सम्मान, शोषण र दमनबाट मुक्ति, बेघरबार र सुकुम्वासी नहुने सामाजिक व्यवस्था, जातीय छुवाछुत गम्भीर अपराध र कानुनको खिलाफमा हुने विश्वास लगायत तमाम अग्रगामी र प्रगतिशील विचारको पक्षधरता लिएको कारण माओवादीमा आकर्षण र सम्मोहन बढेको हो । मर्न मार्न राजी हुने लडाकु र राजनीतिक कमिसनर छापामार बनेका हुन् मान्छेहरू । नेपाल विकास र अवन्नीतिको कारण सबै समस्याको कारक तत्त्व राजतन्त्र मात्रै हो यसको विस्थापन नै सबै बेथितिको अचुक अस्त्र रामवाण भएको निष्कर्ष सहित जनता आन्दोलनको वलिवेदीमा होमिएका हुन् । राजतन्त्रको विस्थापनमा सबै अप्राप्ति प्राप्तिमा बदलिने निचोड आम मान्छेलाई सुनाइएको एउटा मीठो भ्रम थियो । सबै व्यवस्था साध्य नभएको कारण यो पनि मिठो भ्रम र आन्दोलन गर्ने ऊर्जाको स्रोत मात्रै हो ।
व्यवस्था आफैँमा केही नभएको तथ्य विश्वभर प्रयोग गरिएका अलग अलग राजनीतिक प्रणाली र तिनले प्राप्त गरेका उपलब्धि र कमजोरी हेरेर भन्न सकिन्छ व्यवस्था साधन मात्रै हो साध्य एकै व्यवस्था या राजनीतिक प्रणाली हुन् र बन्न सक्तैन । माओवादी आन्दोलनका सुरुवाती चरणमा केही राम्रा र समाजपयोगी काम र कार्यहरू भएका पनि हुन् । मान्छे मार्ने र प्रतिशोध लिने बाहेक सबै नराम्रा काम थिए भनियो भने त्यो पूर्वाग्रह हुनेछ ।
सामाजिक विकृति विरुद्ध र समाजका जाली फटाहा, चुल्ठे मुन्द्रे गुण्डा डनका विरुद्ध जाइ लागेर धावा बोलेका माओवादीहरू हिंसाका प्रमुख मतियार बन्दै जान थालेपछि स्वतः स्फूर्त समर्थन करकाप छलछाम जोरजबर्जस्ती र दबाबको मनोविज्ञानमा बदलियो दबाब र मनोविज्ञान यस्तो बन्यो कि माओवादीको कुकुर देख्दा पनि मान्छे डराउन र काँप्न थाले । अत्यधिक बल प्रयोगमा सरकार पनि निर्वस्त्र बनेर मानवअधिकार र कानुनको धज्जी उडाउँदै देखा पर्यो भने आफू माथिको दमनले माओवादी पनि आगो भएर खाँबो चिथोर्ने स्वभाव झैँ सर्वसाधारण जनतालाई सास्ती र ज्यादती गर्न थाले । सुराकीको आरोपमा निहत्था मान्छेको हत्या गर्न थाले । भाइ-भाइको आपसी वैमनस्यमा खेलेर दाइको कारण भाइको र भाइको कारण दाइको हत्या रिसइवीको कारण गाउँले आदिको हत्याको शृङ्खला पनि चल्यो र माओवादी आतङ्क खडा भयो । हेर्दाहेर्दै माओवादी दुखको सारथिबाट आतङ्क खडा गर्ने शक्तिमा रूपान्तरण भयो । यी सबैको मुख्य नाइके प्रचण्ड भएको कारण उनले चलाएको आन्दोलनको सह उत्पादन भएको कारण यसको सबै दोष र जिम्मा प्रचण्डको हो । उनी मैले आफ्नो हातले मान्छे मारेको छैन र म मान्छे मार्ने काम गर्नबाट टाढा छु भन्न सक्ने स्थितिमा छैनन् र पाँच हजारको जिम्मा म लिन्छु भनेर सार्वजनिक रूपमा स्वीकार गरिसकेका छन् ।
सबै गरेर करिब १७ हजार मान्छेको मृत्यु भएको जनयुद्धको दौरानमा माओवादीको कारण ज्यान गएकाको जिम्मा लिनुले प्रचण्ड इमानदार पनि छन् यदाकदा भन्न सकिन्छ यी सबै मान्छेको मृत्युको पहिलो कारण प्रचण्ड हुन् त्यसपछि राज्य र राज्यको ज्यादती पनि हो । प्रचण्ड आज तिनै मान्छेको जीवनलीला समाप्त गरेको प्रायश्चित स्वरूप पिरोलिएका छन् । प्रचण्ड जनयुद्धका सुप्रिमो भएको भएका कारण उनले ती यावत घटना र दुर्घटनाको सार्वजनिक रूपमा जिम्मा लिनुपर्छ र त्यो राजतन्त्र फ्याँक्न र गणतन्त्र स्थापना गर्न सही थियो भनेर तर्क गर्छन् त्यो उनको जीवन र उनले धारण गरेको सिद्धान्तको बाह्य पाटो हो । एक मान्छे अलग-अलग व्यक्तित्व र आवरण आम मान्छेको चरित्र हो । भित्री रूपमा मान्छे अर्को हुन्छ जहाँ उसको परिवार घर र समाज हुन्छ त्यहाँ भित्रका अनेकन् उतार चढाव आरोह अवरोह हुन्छन् दुख र सुखका कथा कहानी हुन्छन् । संवेदनशील स्वभाव र लय हुन्छन् । आफन्तसँगको सुखद मेल र वियोग हुन्छन् । बाहिर जे देखिन्छन् र जे छन् मान्छेहरू त्यो उनीहरू भित्र पनि त्यस्तै छन् भनेर सोचियो भने त्यो गम्भीर भूल हुनेछ ।
प्रचण्ड बाहिर जति बलिया र वेगवान् देखिन्छन् भित्री रूपमा उनी त्यति खँदिला र अदम्य साहसका धनीको रूपमा आजकल पक्कै छैनन् । उनले पाएको मानसिक क्षति निश्चयै सामान्य छैन । असामान्य मनस्थिति र थुप्रै दशाले घेरिएका प्रचण्ड गहिरो तनाव र विरक्तिसँग दुखको मनोविज्ञान लिएर बाँचेका छन् । जसको बिम्ब उनका छटपटी आवेग र उत्तेजना बनेर सार्वजनिक स्थलमा पोखिन्छन् । पार्टी भित्रको प्रेसर पनि प्रचण्डको लागि सहज छैन । बिग्रँदो र गिर्दो पार्टीको छवि, सत्ता सुखमा मरिहत्ते गर्ने कार्यकर्ता, राजनीतिक रूपमा गिर्दो साख र अस्थिरताको जन्जिरले प्रचण्डको मन थिरमा छैन । जेठी छोरी ज्ञानुको मृत्यु त्यसको दुई वर्ष पुग्दै गर्दा एक मात्र छोराको असमयको देहावसान अनि पत्नी सीताको नाजुक स्वास्थ्य राजनीतिको जताततै जोखिमले प्रचण्ड आफूलाई थेग्न मुस्किल बन्दा बन्दै थेगिँदै छन् तर उनी भयङ्कर मानसिक विचलनमा भएको कुरा सहजै देख्न सकिन्छ । प्रचण्ड पीडा आक्रोश बनेर पोखिन्छ । छताछुल्ल बन्छ । आक्रोशको पारो चढ्दा गणतन्त्रको राष्ट्रपति भन्दा राजाकै सान र मान भएको राष्ट्रपति निम्न कोटीको भएको सिधै र उनका भावभङ्गीमा प्रकट हुन्छ यसरी आफ्नै पहल र अथक परिश्रम गरेर ल्याएको गणतन्त्रप्रतिको वितृष्णा हुने गरी निस्कने बोलीको अन्तर्य मानसिक विचलनको प्रष्ट सङ्केत हो ।
आफ्नो कारण त्यतिका मान्छे मरेका र तिनको पाप आफूलाई लागेको हो कि भन्ने भयको मनोविज्ञानले प्रचण्ड आक्रान्त छन् । पाप गरेपछि त्यसको फल अर्को जुनीमा नभएर यो जुनीमा नै मिल्छ भन्ने समाजको मनोविज्ञानसँग प्रचण्ड अलग बस्न सक्तैनन् शक्ति आर्जनको लागि भैँसी पूजाको उपादेयता देख्ने र श्रीमती सीताको स्वास्थ्य लाभको निमित्त रामदेव बाबाको गाई सेवामा श्रीमतीलाई पठाउनु प्रचण्ड भित्रको आम मान्छेको स्वभाव र धार्मिक चरित्र हो । आफ्नो ५०औं विवाह उत्सव गरेर पनि प्रचण्डले आफूमा आएको सैद्धान्तिक स्खलनको प्रमाण पेस गरेकै हुन् । प्रचण्ड मार्क्सवादी र माओवादी हुन् यो उनको राजनीतिको बाह्य आवरण मात्रै हो ।
अन्तर हृदयमा समाज मनोविज्ञानको अमिट छाप छ तसर्थ यी लाचार छन् विवशताका दुष्चक्रमा नियतिले पटक पटक पिसेको कारण उनमा आएको विचलन अस्वाभाविक होइन पनि । पिताको देहावसान, छोरीको मृत्यु र छोराको मृत्युमा उनीमा जे जे बदलाव आए ती सबै उनी गलेको प्रमाण हुन् । पिताको अन्त्येष्टिमा नारायणघाटमा सुट लाएर ठाँटिएका प्रचण्ड छोरी ज्ञानुको अन्त्येष्टिमा सामान्य पोसाकमा थिए भने छोरा प्रकाश दिवङ्गत हुँदा लगभग प्रचण्ड हिन्दु संस्कार अनुसार नै प्रस्तुत भए । असाध्यै भाव विह्वल बने । प्रचण्डको अश्रुधारा देखेर प्रचण्डको उत्पात विरोध गर्नेले पनि आफ्नो आँसु थाम्न सकेनन् । प्रचण्डले हाँकेको युद्धमा युद्धकै नियम अनुसार मारिने बारे दुख मनाउ अलि कम हुन्छ तर ज्यादतीको कारण अनाहकमा मारिने मान्छेको आफन्तको आज पनि घाउ आलै छ । तिनै आला घाउहरूको आर्तनाद आज प्रचण्ड आफै अनुभूत गर्दै छन् । असमयमा काल गतिले मरेको आफ्नो छोराप्रति आज प्रचण्डको जुन वेदना छ सो वेदना बिना कसुर मारिनेको बाबु आमा आफन्तलाई परेको कुराले प्रचण्ड द्रवित छन् । उनको मुख्य विचलन यही हो । उनमा आज आफ्नो मात्रै वेदना छैन अरूको वेदना र पीडा पनि थपिएको छ । आफ्ना कारणले मारिएका हजारौँ मान्छेको दुखले प्रचण्ड दुखेका छन्। रोएका छन् । दुखको स्वअनुभूति प्रचण्ड गर्दै छन् । अबका दिनमा प्रचण्ड भौतिकवादी कम्युनिस्ट रहेनन् र छैनन् विगतमा कम्तिमा आवरणमा कम्युनिस्ट थिए तर अव आचरणमा नै धार्मिक भएर निस्किएका छन् जुन परिबन्दको खेल हो । नियतिले जुराई दिएको संयोग हो । आत्मिक शान्ति र मन प्रफुल्ल रहने विश्वासका साथ प्रचण्डले नाम कहलिएका पण्डित बोलाएर भव्य धार्मिक अनुष्ठान गरे भने अनर्थ मानिँदैन ।
झापा काण्डका तत्कालीन माले नेता,नेपालका नेल्सन मण्डेला भनेर परिचित मोहनचन्द्र अधिकारी गेरुबस्त्र धारण गरेर धार्मिक अनुष्ठानहरूमा देखिन थालेको धेरै भयो । सिद्धान्तको जतिसुकै भौतिकवादी पहिरन धारण गरे पनि हाम्रो समाज धर्मको मनोविज्ञानबाट ओतप्रोत छ । मान्छेको नशा नशामा धर्म र यसको विश्वास घुलित छ चाहेर पनि मान्छे यसको प्रभावबाट छुटिन अहिल्यै सक्दैन । हजारौँ वर्ष अघि घोलिएको यो विश्वासको रसायनमा रासायनिक परिवर्तन विज्ञानले अझ चरमरूप लिएपछि मात्रै कम हुँदै जानेछ ।
अतः प्रचण्ड यही समाजको उत्पादन भएको करण उनको मनोविज्ञान धर्मको मनोविज्ञान भन्दा पर छैन । तसर्थ गाई पूजा गरे भनेर प्रचण्डलाई गाली गर्नु व्यर्थ हुन्छ । वासुकी नागको फोटो भित्तामा टाँसेर नै सर्पको भयबाट मुक्त बनिन्छ भन्ने धार्मिक र सामाजिक मनोविज्ञानबाट गाइडेड कम्युनिस्ट, जनै लगाउने मार्क्सवादी र पूजापाठबाट शक्ति आर्जन हुन्छ भन्ने माओवादी हौ भन्न हिचकिचाउनु पर्दैन । राजनीतिक दर्शन जुन अवलम्बन गर्छु भने पनि धर्म संस्कृति परम्परा भन्दा भिन्न बस्ने ल्याकत कमै मान्छेमा रहन्छ । यही विरोधाभासको कारण सैद्धान्तिक निष्ठामा अवरोध र विचलन देखिने गरेको यथार्थ भुल्नु हुँदैन । असन्तुष्टि र अशान्त मन विस्फोट हुन्छ नै जसको असर प्रचण्ड आफू मारिँदै छु भन्छन् त कहिले सुसाइडको कुरा गरेर आफ्नो अन्तर हृदयको वेदना पोख्छन् । प्रचण्ड भावुक छन् संवेदनशील छन् त्यसैले विरक्त बनेर सुसाइड मुड पनि भन्छन् ।