arrow

गण्डकी साक्षर प्रदेश घोषणा, सङ्ग्रहालयमा राखियो स्तम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
gandaki-stamba.png

पोखरा । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरामा एक समारोहका बिच गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन् । पोखराको नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालयमा गण्डकीको साक्षर प्रदेशको स्तम्भ बनाइएको छ ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश सरकारसहित सबैलाई बधाई ज्ञापन गरे । यो कदमले अरू प्रदेश सरकार, नेतृत्वदायी वर्गलाई पनि यसले प्रेरणा दिने उनले बताए ।

 “शिक्षामा थप कार्यक्रम ल्याउन, थप बजेटको व्यवस्था गर्न सकियोस्, सबैलाई साक्षरता बनाउन सकियोस्, सिंगो मुलुकलाई साक्षर बनाएर निरक्षरताको कलङ्क मेटाउने सरकारको उद्देश्य रहेको छ,” उनले भने ।

कोभिड-१९ नियन्त्रण कम हुँदै जानु पनि एउटा महत्त्वपूर्ण उपलब्धि रहेको उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, “नेपालमा कोभिडको महामारी अझै पनि नियन्त्रण भइसकेको छैन । तैपनि, अन्तर्राष्ट्रिय जगत्, विश्व स्वास्थ्य सङ्गठनले धन्यवाद दिएको छ । बेलायतले पनि नेपालले कोभिडमा धेरै नियन्त्रण गरेको हुनाले भिसा दिने निर्णय गरेको छ । यसले पनि कोभिड नियन्त्रणको दिशामा अगाडि बढेको छ, यो महत्त्वपूर्ण कुरा हो । प्रदेश साक्षर पनि महत्त्वपूर्ण कुरा हो ।”

उनले अहिले संसद्मा रहेका सबै दल प्रजातन्त्रका लागि लडेर आएका साथै प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै भएको उनले बताए ।

“नेपालमा अहिले धेरै कुरा अगाडि बढेका छन् । सबैले जनताको नाम लिन्छन् । जनता यो हो, जनता ऊ हो भन्छन् । प्रजातन्त्रको विकल्प प्रजातन्त्रै हो । जनताले भोटमा देखाइहाल्छ नि ! कसैले प्रजातन्त्रको खिलाफमा कुनै सपना नदेखे हुन्छ । हामी प्रजातन्त्रको लागि लडेका हौँ । संसद्मा रहेका सबै पार्टी प्रजातन्त्रको लागि लडेका हुन्,” उनले भने ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै दलले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने, संविधानको मर्मअनुसार काम गर्न र देशलाई नै साक्षर बनाउन सबै एकजुट हुनुपर्ने बताए ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह १५-६० को जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी साक्षर भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ