arrow

सल्लाहकार, पिए लगायतका नियुक्तिमा पार्टीसँग सल्लाह गर्न माधवकुमार नेपालको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
madhav-kumar-nepal-media-brief.jpg
फाइल तस्विर।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमान्दारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् । 

उनले गठबन्धनको भावना अनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गरे । मन्त्रीहरूको सल्लाहकार, पिए लगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने उनको भनाई छ । 

उनले भने – ‘बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि कामहरू तपाईँहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ । यो मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलका बेलका फाइभस्टार होटेलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरुसँग बसेर यिनै कुरा गरिरहेका छन् भन्ने कुरा सुन्नु नपरोस् । सिधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरू आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईँहरूबाट नहोस् । यस कुरामा म जोड दिन चाहन्छु ।'

उनले अगाडि भने, 'सांसदहरू र पार्टीका विभिन्न क्षेत्रका कार्यकर्ताहरूसँग जीवन्त सम्पर्क राख्नुपर्छ । पिएहर नियुक्त गर्दा पार्टीले नै सबैको परामर्शको आधारमा, सल्लाहकारहरू नियुक्त गर्दा खेरी पार्टीका परामर्शका आधारमा, अन्य जोडिएका अनेक पक्षहरू हुन्छन् ती सबै आफू खुसी, आफ्नो ढङ्गले गर्ने होइन, त्यस सम्बन्धमा पार्टीको परामर्शको आधारमा चल्ने ।’

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुनु नहुनेमा जोड दिए । पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न उनले निर्देशन दिए । कुनै पनि प्रकारका दूर्व्यसन र आचरणसँग जोडिने काम नगर्न उनले निर्देशन दिए । 

उनले भने, 'पार्टीको नेतृत्व र पार्टीले जिम्मेवारी दिएको विभागसँग काममा समन्वय गर्नुहुनेछ । पार्टीको निर्देशन र सल्लाहलाई केन्द्रबिन्दुमा राखेर तपाईँहरूले काम सम्पन्न गर्नु हुनेछ । विज्ञ र अनुभवीहरूसँग नियमित रूपमा राय, परामर्श लिने चलन बसाल्नुपर्छ । तपाईँहरूले पाँच दलीय गठबन्धनको भावना अनुरूप अरू दलसित समेत सहकार्य गर्ने गरी आफ्नो कार्यसम्पादन गर्नुपर्ने हुन्छ ।

पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा बोलाएर नेता नेपालले इमान्दारीता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताए । उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिए । उनले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराए। 

कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए । 

उनले भने – ‘तपाईँहरूले इमानदारीताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ । इमान्दारीता र कर्तव्यनिष्ठको भावनालाई सर्वोपरि राखेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा तपाईँहरूको ध्यान म आकर्षित गर्न चाहन्छु । काम गर्दा खेरी राष्ट्रको हितलाई र जुन संस्थाको जिम्मेवारी तपाईँहरूले सम्हाली रहनु भएको छ । त्यो संस्थाको हितलाई केन्द्रबिन्दुमा राखेर, अनि जनताको हितलाई केन्द्रबिन्दुमा राखेर तपाईँहरूले काम गर्नु हुनेछ । यस अर्थमा राष्ट्रको हित, जनताको हित र संस्थाको हितलाई तपाईँहरूले केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने हुन्छ । काम गर्दा खेरी निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट तपाईँहरू मुक्त हुनुपर्छ । त्यो बाट टाढा रहनुपर्छ । आफ्नो योग्यता र क्षमता, कार्यसम्पादनमा उत्कृष्टताको आधारमा नै कुनै पनि व्यक्तिको छनौट गर्ने र जिम्मेवारी दिने कुरामा तपाईँहरू लाग्नुहुनेछ । र यसरी व्यक्तिको छनौट आफू खुसी होइन, ती व्यक्तिको योग्यताको पक्ष सुनिश्चित हुने गरी व्यक्तिको छनौट गर्नुहुनेछ र जिम्मेवारी दिनु हुनेछ ।’

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुमाथि अगाडी नै सामूहिक रूपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताउनुभयो । सिङ्गो मन्त्रीपरिषद्ले गर्ने निर्णयको जस अपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै उहाँले मन्त्रिपरिषद्का विषयवस्तुहरू पार्टीलाई समेत जानकारी गराई, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ