arrow

एनआरएनएमा अवैधरुपमा कार्यकाल लम्ब्याउने अर्को खेल सुरु भयोः कुल आचार्य

आइसीसीको सचिवालयले तत्काल क्षमायाचना गर्नुपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
kul-achrya-ktm.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कात्तिक ६-८ का लागि तोकिएको दशौं महाधिवेशन स्थगित गरिएकोप्रति संघका सल्लाहकार एवम् अध्यक्षका उम्मेदवार कुल आचार्यले असहमति जनाएका छन् । संघको सचिवालयले अन्तिम समयमा आएर अवैध रुपमा आफ्नो कार्यकाल लम्ब्याउने प्रपन्च गरेको आचार्यले बताएका छन् ।

संघको सचिवालयले यही अक्टोबर २३-२५ अर्थात कात्तिक ६-८ का लागि तोकिएको संघको दशौं महाधिवेशन स्थगित गर्ने निर्णय गरे लगत्तै आचार्यले उक्त निर्णयमा असहमति जनाएका हुन् । संघका सल्लाहकार आचार्यले आइसीसीले समयमै विवाद समाधान नगरेर आफ्नो कार्यकाल लम्ब्याउने मात्रै काम गरेको बताए । ‘यो अवैधरुपमा कार्यकाल लम्ब्याउने प्रपन्च मात्रै हो’ उनले विभिन्न देशका महाधिवेशन प्रतिनिधिहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गरे ।

विवाद समाधानका लागि आइसीसीसँग पर्याप्त समय रहेपनि अन्तिम समयसम्म चासो नदिएको र परराष्ट्र मन्त्रालयको पत्रलाई देखाएर वर्तमान नेतृत्व जिम्मेवारीबाट पन्छिने काम गरेको आचार्यको आरोप छ । ‘हामीसँग अझै पनि पर्याप्त समय छ, अगाडि नै विवाद समाधान गर्न सकिन्थ्यो, अझै पनि सकिन्छ, तर नेतृत्वले विवाद समाधान गर्नेतर्फ भन्दा कार्यकाल लम्ब्याउनेतर्फ ध्यान दियो’ आचार्यले भने ।

विधान अनुसार विवाद समाधान गरेर तोकिएको मितिमा महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नुपर्नेमा वर्तमान नेतृत्वले अवैध रुपमा कार्यकाल बढाउने तयारी गरेको उनले बताए । अक्टोबर १८ पछि वर्तमान नेतृत्वको कार्यकाल सकिन्छ, त्यसपछि जति समय थप गरे पनि त्यो अवैध हुन्छ, आचार्यले भने ।

वर्तमान नेतृत्वले सदस्यता वितरणदेखि नै आइसीसीको नेतृत्वले विधान मिच्ने काम गरिरहेको टिप्पणी गरे । ‘विधान संस्थाको प्राण हो, विधान मिच्ने काम स्वीकार गर्न सकिँदैन, संस्थालाई जतिसक्दो विधानले मार्गदर्शन गरेको बाटोमा फर्काउनुपर्छ’ उनले भने । खासगरी अध्यक्ष र सचिवालयको नेतृत्व गर्ने महासचिवले यी सबै विषयको जिम्मेवारी लिँदै महाधिवेशन गर्न नसकेकोमा माफी माग्नुपर्ने उनले बताए । ‘यो नेतृत्वको असक्षमता हो, काम गर्न नसक्नेले माफी माग्नुपर्छ’ उनले भने ।

परराष्ट्र मन्त्रालयको पत्रका कारण नभई विधान मिच्ने केही व्यक्तिहरुको दुषित मानसिकताका कारण तोकिएको मितिमा महाधिवेशन हुन नसकेको उनको बुझाइ छ । परराष्ट्रले पटक पटक विधान अनुसार काम गर्न मात्रै सचेत गराएको भन्दै विधान अनुसार काम नगर्नेले अरुलाई दोष दिन नमिल्ने उनको भनाइ छ । ‘यसमा न निवेदकको कमजोरी छ न परराष्ट्रको कुनै हस्तक्षेप छ, कमजोरी त आइसीसी सचिवालय र नेतृत्वको हो’ उनले स्पष्ट पारे ।

आचार्यले अक्टोबर १७ मा हुने आइसीसीको बैठकबाट जतिसक्दो छिटो महाधिवेशन गराउने निर्णय गर्न पनि आइसीसीका सबै पदाधिकारी र सदस्यहरुलाई आग्रह गरेका छन् । ‘हामी विधि र विधानका कुरा गर्छौं तर, हाम्रै संस्था विधानभन्दा बाहिर गयो भने त्यसको सन्देश राम्रो हुँदैन’ आइसीसीका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्दै आचार्यले भने, ‘संस्थालाई जोगाउने हो भने हामीले विधानको पालनामा ध्यान दिनै पर्छ अन्यथा हामीमा नैतिकता रहने छैन ।

आचार्यले संसारभरका एनआरएनए पन्जीकृत सदस्य तथा महाधिवेशन प्रतिनिधिहरुलाई संयमित रहन र नेतृत्वसँग जवाफ खोज्न आग्रह गरेका छन् । काठमाडौंमा हुने विश्व सम्मेलनमा सहभागिताका लागि तयारी अवस्थामा रहेका महाधिवेशन प्रतिनिधिहरुमा पर्न गएको असुविधाका बारेमा आइसीसीको सचिवालयले तत्काल क्षमायाचना गर्नुपर्ने उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ