arrow

नौ वर्षे बालिकालाई चितुवाले मारेपछि पीडित परिवारलाई राहत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २८ बिहिबार
leopard-attack.jpg
तस्वीर– सांकेतिक ।

दमौली । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो । 

गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया बालिका स्वीकृति थापाको मृत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मृतक बालिकाको हजुरबुबा यामबहादुरलाई बुधबार उक्त रकम प्रदान गरे । दुवै निकायले राहतस्वरुप तत्कालका लागि रु ५०–५० हजार सहयोग गरेका हुन् । 

वन कार्यालयले रु दश लाख राहत प्रदान गर्ने भएकामा तत्कालका लागि रु ५० हजार वितरण भएकाले थप रु नौ लाख ५० हजार केही दिनभित्र उपलब्ध गराइने बताइएको छ । 

अध्यक्ष थापाले मानिसको जीवनसँग पैसाको तुलना हुन नसक्ने बताउँदै पीडितलाई मल्हम लगाउन र सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको बताए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ