arrow

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
NRB.JPG
फाइल तस्बिर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैङ्कले  सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो।

राष्ट्र बैङ्कले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी  जारी गर्न लागेको बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ। ९१ दिन अवधिको ट्रेजरी  आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ। यसअघि बैङ्कले गत असोज २५ गते रु १३ अर्ब २५ करोड बराबरको ट्रेजरी  जारी गरेको थियो। 

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ। आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैङ्क, बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई  बैङ्कले मङ्गलवार ट्रेजरी बिल जारी गर्नेछ। 

के हो ट्रेजरी बिल
मुद्रा बजारको एक प्रमुख उपकरणको रूपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैङ्कले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्ने गर्छ। अट्ठाइस दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैङ्कले जारी गर्दछ। नेपालमा हाल २८ दिने ट्रेजरी  बिल प्रचलनमा आएको देखिँदैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ