arrow

पाल्पामा आयुर्वेद सेवा लिने बढे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
ayurveda.jpg.jpeg

पाल्पा । पाल्पा जिल्लामा पछिल्लो समय आयुर्वेदिक सेवा लिने बढेका छन् । जिल्लामा रहेका आयुर्वेद औषधालयमा आएर जाँच र औषधी लिने बढेको आयुर्वेदिक स्वास्थ्य संस्थाहरूले जनाएका छन् । मानिसको खानामा अनियमित भएपछि ग्यास्ट्रिक लगायत दिगो रोगका बिरामी बढी आयुर्वेद सेवामा पुग्ने गरेका छन् ।

पाल्पा जिल्लामा आर्थिक वर्ष २०७७-७८ मा ४१ हजार ९ सय ९३ जनाले सेवा लिएका छन् गत आ.व.०७६-७७ को बर्षदिनमा सेवा लिनेको सङ्ख्या ३२ हजार ७ सय २१ रहेको थियो । पछिल्लो समय नागरिकहरू आयुर्वेद सेवामा आकर्षित छन् । 

विशेष गरि ग्यास्ट्रिक, पेट दुख्ने, खान नरुच्ने, बाथ जस्ता समस्या भएका बिरामीहरू आयुर्वेद औषधालयमा धाउन थालेका छन् । आयुर्वेद स्वास्थ्य संस्थाहरूले विद्यालयमा आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवन जस्ता कार्यक्रम जिल्लामा गरिने पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधव बस्यालले जानकारी दिए । 

आयुर्वेद औषधिमा विश्वास कम गर्नेहरू पनि लामो समय नियमित आयुर्वेदिक औषधी खाएर शरीरमा फाइदा पुगेको भन्दै आकर्षित भएको रामपुर आयुर्वेद अस्पतालले जनाएको छ । आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् ।

सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये आयुर्वेद औषधालयबाट २३ प्रकारका औषधि पाइन्छ । यो सबै आयुर्वेद स्वास्थ्य संस्थामा नियमित उपलब्ध छ । जिल्लामा सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र, रामपुरमा रामपुर आयुर्वेद र गैँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक-एक वटा आयुर्वेद औषधालय रहेका छन् । 

रम्भा गाउँपालिकाले गत आवमा आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ भने तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन सुरु गरेको छ । सरकारले सिफारिस गरेका औषधिहरू बिरामीको स्वास्थ्य जाँच गरेर मात्रै वितरण भएको रामपुर नगरपालिका आयुर्वेद शाखा प्रमुख चेमनप्रकाश पोखरेलले बताए । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रो बर्रो, अमला, सिलाजित लगायतका विभिन्न वनस्पति वस्तुहरू मिसाएर बनाइएको औषधि स्वास्थ्यका लागि हित मानिन्छ । 

पेट, ग्यास्ट्रिक, अरुचि, गानो गोला जस्ता समस्या लिएर बिरामीहरू अस्पतालमा धेरै आउने गरेका छन् । जिल्लाका विभिन्न आयुर्वेद स्वास्थ्य संस्थाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्व कर्म पञ्चकर्म, गाउँघर क्लिनिक, शिविर, घर–घरमा आयुर्वेद सेवा कार्यक्रम सञ्चालन छ । कोभिडमा योग र प्रतिरोधात्मक क्षमता बढाउने गरि आयुर्वेदिक संस्थाले सेवा दिएको थियो । 



नयाँ