arrow

बैङ्किङ प्रणालीमा तरलता प्रवाह हुँदै रु १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैङ्क

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
NRB.JPG

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले भोलि अर्थात् कात्तिक ४ गते रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ। केही समय अघिदेखि बैङ्किङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैङ्कले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो।

राष्ट्र बैङ्कले बुधवार जारी गरेको सूचना अनुसार बैङ्कले आगामी कात्तिक ११ गते परिपक्व हुने रु १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैङ्किङ प्रणालीमा प्रवाह गर्न लागेको छ। बोलक बोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैङ्क वित्तीय संस्थाले भाग लिन पाउने छन्।

बजारमा तरलताको अभावले बैङ्क तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन गर्न ब्याजदर बढाउन थालेका छन्। निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैङ्क तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अङ्कको ब्याजदर कायम गरेका थिए। त्यसरी बैङ्क तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारण रूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैङ्कले मङ्गलवार तीन बुँदे निर्देशन जारी गरेको थियो।

बैङ्किङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैङ्कले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ। गत असोज २० गते बैङ्कले रु २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गरेको थियो।

तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैङ्क तथा वित्तीय संस्थाले रिपो, अन्तर बैङ्क सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन्। बैङ्क तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ