arrow

प्रदेश दुईमा क्षतिको विवरण सङ्कलन पछि राहत

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
dhanpradesh2.JPG

जनकपुरधाम । प्रदेश नम्बर २  सरकारले अविरल वर्षा तथा हावाको प्रभावबाट कृषि बालीनालीमा परेको प्रभावबारे विवरण सङ्कलन भइरहेको जनाएको छ ।  बिहीबार  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले गरेको पत्रकार सम्मेलनमा  विवरण सङ्कलन भएपश्चात् प्रदेश सरकारले राहत घोषणा गर्ने जनाए । मन्त्री यादवले  भने,‘डाटा नै सङ्कलन नगरी राहत घोषणा गर्न सकिँदैन । हामी क्षतिको यकिन विवरण सङ्कलन गरिरहेका छौँ । त्यसपछि सरकारले राहत घोषणा  गर्नेछ ।

 मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्तिक १ र २ गते मौसममा भएको बदलावका कारण कृषि बालीनालीमा परेको नकारात्मक प्रभावप्रति मन्त्रालयको गम्भीर  ध्यानाकर्षण भएको जनाउँदै विवरण सङ्कलनको कार्य भइरहेको मन्त्री यादवले बताए । यस प्रदेशमा  यो वर्ष  करिब चार लाख तीन हजार हेक्टरमा धान रोपाइँ भएको थियो । धान बाली भित्राउने बेलामा आएको अविरल वर्षाले किसानको मिहिनेत तथा लगानी खेर जाने हो कि डर आउनु स्वाभाविक नै हो’,  मन्त्री यादवले भने।

मन्त्री यादवका अनुसार हालसम्म प्राप्त सूचना अनुसार फाटफुट रूपमा कटानी भएको पाजा (पसही) खेतमा नै डुबेको, हावाको वेगका कारण लामो उचाइ भएका जातहरू ढलेको बारे सूचनाहरू प्राप्त भइरहेका हुन् । अविरल वर्षा तथा हावाको प्रभावबाट सम्पूर्ण प्रदेशवासीहरूमा आर्थिक तथा मानसिक तनावको अवस्था आएको बताउँदै सरकारले किसानहरूका लागि राहतको घोषणा चाँडै गर्ने मन्त्री यादवले बताए ।   

त्यसै गरी पशुपन्छीको सन्दर्भमा हालसम्म क्षतिको जानकारी प्राप्त नभएको तर मत्स्य पोखरीका डिलहरूमा फाटफुट क्षति पुगेको मन्त्री यादवले जानकारी गराए।  क्षतिको यथार्थ विवरण यकिन गर्न स्थानीय तहको ठुलो भूमिका रहेकाले उक्त कार्यमा प्रदेश सरकारलाई सहकार्य तथा सहयोग गर्न समेत मन्त्री यादवले अनुरोध गरेका हुन् । 

यस विषयमा मन्त्रालयले आठ वटै जिल्लाका मातहत निकायहरूमा पत्राचार गरी क्षतिको अवस्था यकिन गर्ने कार्य भइरहेको जानकारी गराए। खेतमा फलेको तरकारी बालीमा नोक्सानको साथै दलहन र तेलहन बाली लगाउन बाधा पर्न सक्ने र अहिले विभिन्न तरकारीका बेर्नाहरू नर्सरीमा हुर्काउने समय भएकाले उक्त बेर्नाको ब्याडहरूमा पानी जमेको जानकारीमा आइरहेको मन्त्रालयले जनाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ