- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभाकी सांसद अमृता अग्रहरीलाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ। पाँच दलीय सत्ता गठबन्धनमा भएको सहमति अनुसार जसपाको भागमा उपसभामुख परेको छ। सोही अनुसार संविधानको व्यवस्थालाई समेत ख्याल गर्दै जसपाले अग्रहरीलाई उपसभामुख बनाउने तयारी गरेको हो।
संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनु पर्ने छ। जसपा नेता तथा कृषि मन्त्री महिन्द्रराय यादवले अग्रहरीलाई उपसभामुख बनाउने तयारी भएको जानकारी दिए।
‘उपसभामुख जसपालाई दिने सहमति यसअघि नै भइसकेको हो, अमृता अग्रहरी हाम्रो दलबाट उपसभामुख बन्ने पक्का जस्तै छ,’ यादवले हाम्रा कुरासँग भने।
गत बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकमा समेत उपसभामुख तत्काल चयन गर्ने विषयमा सहमति बनेको थियो।
यस्तै सोही बैठकमा प्रदेश १ र बागमती प्रदेशमा सकारको नेतृत्व गठबन्धनले नै लिने गरी अघि बढ्ने सहमति भएको थियो। सहमति अनुसार प्रदेश १ र बागमतीमा नेपाली काँग्रेस र माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादीबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।
प्रदेश २ मा भने हाल जसपाकै सरकार छ। सो प्रदेशमा लालबाबु राउत मुख्यमन्त्री छन्। यस्तै काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने अन्य तीन वटा प्रदेशमा माओवादी केन्द्रको नेतृत्व छ।